एउटै दृष्टि, भिन्न कोण

के प्रधानमन्त्री मोदी हीन भावनाले ग्रस्त एक डरपोक व्यक्ति हुन् ?

२०७५ चैत्र २० गते बुधवार

त्यो घटना बितिसकेको छ र त्यसको महत्व खत्तम गरिएको छ । पछिल्लो पाँच वर्षमा अनगिनत घटना भए, जसको मतलब अहिले सकिइसकेको छ । यि वर्षहरुमा विमर्शका केही सतही भाष्य निर्माण गरिए र एकदमै हतारमा नयाँ विमर्श स्थापित गरेर पुराना विमर्श मेटाइए ।

राजनीतिक सत्ताको बलमा प्रधानमन्त्री नरेन्द्र मोदी कुनै पनि विमर्शलाई स्थायित्व नदिलाउन सफल रहे । गहिरो ढंगले सोच्ने हो भने विमर्शका लागि यो एउटा मजाकको समय रह्यो । अर्थात्, एउटा बौद्धिक प्रक्रियालाई मजाकको रुपमा स्थापित गरियो, जसले बौद्धिक चिन्तनको दायरालाई संकुचित गरिदियो । समाजको बौद्धिकतालाई त्यसमा खुम्च्याइयो । यो संकुचनले त्यो विचारलाई मात्र बलियो बनायो, जसको नेतृत्व प्रधानमन्त्री मोदीले गरिरहेका छन् ।

तानाशाही प्रवृत्तिमा सम्पूर्ण सत्ता आफूसँग राख्नु जरुरी हुन्छ । सम्पूर्ण सत्ता आफूमा समाहित होस् र आफूबाट मात्र  सन्चालित होस् भन्ने चाहना हुन्छ । र सम्पूर्ण सत्ता हत्याउनु नै तानशाही हो ।

प्रधानमन्त्रीको हैसियतमा मोदीले राजनीतिक सत्ताको उपयोग गरी त्यो कुरा हासिल गर्ने कोशिस गरिरहे, जसको कमी सायद उनलाई सधै खड्किरहेको थियो । यि पाँच वर्षमा उनी जुन–जुन आयोजनामा सहभागी भए वा जुन आयोजना उनीमार्फत गराइयो, त्यसबाट पनि हामी केही कुरा बुझ्ने कोशिस गर्न सक्छौ । ती आयोजनामा उनले गरेका सम्बोधनबाट पनि हामी उनलाई बुझ्ने कोशिस गर्न सक्छौ ।

प्रधानमन्त्रीका रुपमा उनी आफैमा सबै थोक हुन चाहन्छन् । उनी आफूलाई ज्ञानवान देखाउन चाहन्छन् । एक वैज्ञानिक, एक गणितज्ञ, एक इतिहासकार, एक शिक्षाविद् र एक राजनीतिज्ञ पनि ।

एउटा व्यक्तित्वका रुपमा उनी त्यो हुन चाहन्छन्, जसको स्थापित सामाजिक प्रतिष्ठा छ । जसको समाजमा सर्वस्वीकार्य मान्यता छ । जबकि एक व्यक्तित्वमा यो सवै हुनु संभव छैन । र यसको कुनै जरुरत पनि छैन ।

तर असाधारण देखिन खोज्नु तानाशाहको बाध्यता बन्छ, यही कुराले उसको सत्तालाई वैद्यानिकता दिन्छ । यस स्थितिमा उनी असाधारण बन्न चाहन्छन् । पछिल्लो पाँच वर्षमा प्रधानमन्त्री मोदी अनगिन्ती पटक आफ्नो असाधारण क्षमता, आफ्नो सर्वज्ञान साबित गर्न तल्लीन रहे ।

एक गणितज्ञले झै क्यानडामा अलजेब्राको समीकरण सम्झाए, वैज्ञानिकले झै विज्ञान र सेटेलाईटका बारेमा मन्तव्य दिए । शिक्षाविद्ले झै परीक्षापूर्व विद्यार्थीलाई तयारी गराइरहे । इतिहासको जानकारले झै ऐतिहासिक तथ्य प्रस्तुत गरिरहे । उनलाई यस कुराबाट केही फरक पर्दैन कि, उनी गलत तथ्य प्रस्तुत गरिरहेका छन् ।

कुनै राष्ट्रको सर्वोच्च पदमा रहँदा विभिन्न मञ्चहरुमा सहभागी हुनु जरुरी पनि हुन्छ । तर त्यहाँ आफूलाई साबित गर्ने उद्देश्यका लागि कोशिस गर्नु र आफ्नो भित्रि चाहना पुरा गर्न त्यस किसिमका कार्यक्रमहरु स्वयमले आयोजना गराउनु जरुरी छैन । जुन साहस र आत्मविश्वाससाथ उनी तथ्यहरु प्रस्तुत गर्छन्, जुन भरोसासाथ उनी आफूलाई कुनै विषयको ज्ञानीका रुपमा उभ्याउछन्, के यो त्यति नै सामान्य विषय हो, जसलाई लिएर प्रधानमन्त्रीको मजाक उठाइ राखिएको छ ?

आफ्नो मजाक उडाइनुका बाबजुद उनी आफ्नो उद्देश्य पुरा गर्नमै तल्लीन छन् । उनी विमर्श, बौद्धिकता र ज्ञानलाई सतहमा ल्याइरहेका छन्, त्यसलाई तल गिराइरहेका छन् र सत्ताको बलमा अबौद्धिकतालाई समाजमा फैलाइरहेका छन् ।

आफ्नो प्रधानमन्त्रीको मनोदशा हामीले बुझ्नुपर्छ । उनको त्यो मनोवृत्तिलाई बुझ्ने कोशिस गर्नुपर्छ कि, उनी जुन समाजको नेतृत्व गर्न चाहन्छन्, जसको क्षमताका अघि उनी आफैंलाई कति कमजोर, असक्षम र पराजित महसुस गर्दा हुन् ? यो हार नै उनको डर हो । यो समाज जुन ज्ञान हासिल गर्ने क्षमता राख्छ, त्यसको अगाडि आफ्नो अज्ञानताको डरले उनको व्यक्तित्व हरेक दिन आफैसँग जुधिरहेको छ ।

आफ्नो सम्बोधनमा उनको एकमात्र कोशिस हुने गर्छ कि, हरेकपटक केही असाधारण बोलौ, कुनै पनि विषयमा विशेषज्ञका झै मन्तब्य दिऊ । हामीले यो कुरा बुझ्ने कोशिस गर्नुपर्छ कि त्यो कुन चीज हो, जसले प्रधानमन्त्रीलाई यत्रो आत्मविश्वास दिइरहेको छ ? त्यस्तो के छ, जसले उनलाई ज्ञानी देखिइन बाध्य बनाइरहेको छ ?

एक व्यक्ति जोसँग सम्पूर्ण सत्ता छ, राष्ट्रको सबैभन्दा महत्वपूर्ण पद छ, जहाबाट ऊ कुनै पनि समय राष्ट्रलाई सम्बोधन गर्ने तागत राख्छ ? ऊ त्यसबेला मात्र यस्तो गर्न सक्छ, जब उभित्र आफू अज्ञानी हुनुको मनोग्रन्थी हुन्छ । उसलाई आफ्नो व्यक्तित्व र अज्ञानताको बारेमा थाहा हुन्छ तर ऊ त्यो मनोग्रन्थीबाट तंग्रिने कोशिस गर्छ, जुन उसले हासिल गर्न सकेको छैन । सम्पूर्ण सत्ता हासिल गर्नुका बाबजुद ऊ आफूलाई पराजित महसुस गर्छ । यस्तोमा उसँग दुई वटा उपायमात्र  बाँकी रहन्छ, या त त्यो चीजलाई खत्तम गर्नु वा हासिल गर्नु । प्रवृत्तिगत रुपमा तानाशाह यिनै दुई तरिका अपनाउँछन् ।

राजनीतिक सत्तालाई अलग–अलग तरिकाबाट पनि हासिल गर्न सकिन्छ तर ज्ञानको सत्ता पाउने प्रक्रिया यो होइन । त्यसको बाटो भिन्नै छ । यस्तोमा एक सर्वसत्तावादी व्यक्तित्व आफैलाई हारेको महसुस गर्छ, किनकि उसलाई त्यो ज्ञानको सत्ता पनि चाहिएको छ । अनि ऊ राजनीतिक सत्तालाई उपयोग गर्दै आफूसँग ज्ञानको सत्ता पनि रहेको स्थापित गर्ने कोशिस गर्छ । नत्र  त ‘ह्रृदय सम्राट’ बन्ने चाह बाँकी नै रहन्छ । ऊ सम्पूर्ण सत्ताको स्वामी हो भन्ने कुरा स्थापित हुँदैन । उसले त्यो लोकतन्त्रलाई उल्टाउन चाहन्छ, जुन सत्तालाई विकेन्द्रिकृत गरिएको छ । ऊ सम्पूर्ण सत्तालाई आफूमा समाहित गर्न चाहन्छ । ऊ आफैमा सम्पूर्ण हुन चाहन्छ । आफ्नो व्यक्तित्वलाई यति ठूलो बनाउँछ कि, त्यसबाट उसलाई मुक्त पार्न खोज्ने संरचना नै खत्तम गरिदिन्छ । यो प्रवृत्तिलाई हामी भाजपालाई खत्तम बनाएर संगठनलाई ‘मोदी’ मा परिणत गरेको अहिलेको रुपमा हेर्न सक्छौ ।

प्रधानमन्त्रीको डरलाई बुझ्नका लागि उनलाई सुन्नुमात्र पर्याप्त छैन, तथ्यहरु प्रस्तुत गरिरहँदा उनको अनुहारको भाव पनि पढ्नु जरुरी छ । उनको अनुहारको भावले बताउँछ कि, उनी जे हुन् र जे भनिरहेका छन्, त्यसमा कति फराकिलो र गहिरो खाडल छ ।

उनका लागि सर्वज्ञानको रहस्य यति महत्वपूर्ण छ कि, जरुरी नभएको स्थानमा पनि त्यसको प्रदर्शन गरिहाल्छन् । क्यानडामा बेमतलवसँग गणितको सुत्रमार्फत् भारत र क्यानडाको सम्बन्धबारे व्याख्या गरेबाटै यो कुरा बुझ्न सकिन्छ ।

चुनावअघि डीआरडीओद्वारा गरिएको सेटेलाइट अभियानबारेको सम्बोधनमा पनि उनी पुरै अभियानको सुक्ष्मता बताउने कोशिस गरिरहेका छन् । जबकि उनको हावभावबाट उनको अनभिज्ञता स्पष्ट देखिन्छ । इतिहासबारे उनले प्रस्तुत गरेको तथ्यबाट पनि उनी सन्दर्भबिनै अनावश्यक तरिका अपनाएर ज्ञानमाथि हस्तक्षेप गर्न चाहन्छन् भन्ने बुझ्न सकिन्छ । उनले इतिहासबारे प्रस्तुत गरेको तथ्य गलत छन् । के उनले चाहेरै यस्तो गलत तथ्य प्रस्तुत गरिरहेका छन् वा उनका लागि लेखिएको मन्तव्यमा तथ्यको कमी छ ? यि दुवै कुरा संभव छ । तर यतिधेरै साधनस्रोतका बाबजुद पटकपटक गल्ती दोहा-याउनु उनका लागि लेखिएको मन्तव्यमा तथ्यको कमीमात्र  पटक्कै होइन, यो ज्ञानलाई ध्वस्त गर्न चाहने प्रक्रियाको हिस्सा हो ।

गलत तथ्य र झूठले सही तथ्यद्वारा सर्वमान्य बनेको ज्ञानमाथि हमला गर्छ ।  ज्ञानले सही तथ्य र वैज्ञानिकताको सहारा लिन्छ । तर उनीहरु गलत तथ्य र झूटका माध्यमले ज्ञानको सम्पूर्ण व्यवस्थामाथि हमला गरिरहेका छन् ।

जब उनी हार्वर्डको साटो ‘हार्ड वर्क’ मा बढी जोड दिनुपर्ने वक्तव्य दिइरहेका छन् भने उनको उद्देश्य के हो ? सबैभन्दा ठूलो संस्थालाई अस्वीकार गर्ने क्रममा उनले ज्ञानको प्रतीकलाई पनि अस्वीकार गरिरहेका छन् । ज्ञानको महत्वलाई कम आँकिरहेका छन्, यस्तो ज्ञान जुन उनको पहुँचबाहिर छ । उनी आफ्नो ‘हार्ड वर्क’ अर्थात् क्रियाकलापलाई ठूलो देखाउने कोशिस गरिरहेका छन् । पछिल्लो पाँच वर्षमा ज्ञानसम्बन्धी संस्थासँग उनको संघर्ष सबैभन्दा बढी रह्यो ।

आफनो राजनीतिक बलमा उनले ज्ञानमाथि हमला गरिरहे र ज्ञान निर्माण संस्थाहरु उनीप्रति आक्रामक रहे । लगभग सबै विश्वविद्यालय र अन्य शिक्षासम्बन्धी संस्थानबाट उनीविरुद्ध आवाज उठिरह्यो ।

यो दुई किसिमको विचार सत्ताको संघर्ष हो । ज्ञानको सत्ता भत्किए प्रधानमन्त्री मोदीको विचार र सर्वसत्तावादी सत्ताको शाखाहरु बलियो हुन्छन् । सम्पूर्ण सत्ता आफूसँग राख्ने तानाशाही प्रवृत्ति तबमात्र सफल हुन्छ, जब उनी ती सबै चीज खत्तम गर्नेछन्, जुन उनले हासिल गर्न सक्दैनन् । उनी हासिल गर्न नसक्ने हर एक चीज ध्वस्त गरिदिने कोशिसमा छन् ।

यहा जुन कुरा प्रधानमन्त्रीका लागि भनिएको छ, त्यो कुरा थोरै फेरबदलसहित ती सबैमाथि लागू हुन्छ, जो सम्पूर्ण सत्तामाथि स्वामित्वको मनसाय राख्छन् । दुनियाँको अलग–अलग भाषाको शब्दकोषमा यसैलाई तानाशाही भनिन्छ ।

(स्रोत द–वायर । लेखक जेएनयुका शिक्षार्थी हुन् ।)

प्रतिक्रिया दिनुहोस