एउटै दृष्टि, भिन्न कोण

आउ विवेकशील मित्रहरु गरौँ साझा भेला !

२०७५ चैत्र २६ गते मङ्गलवार
  • बिष्णु जोशी

आउ विवेकशील मित्रहरु
गरौँ साझा भेला
अल्पमतमा आफै परे,
कस्तो बिकल्प होला ?
जनता पोल्ने सूर्यलाई
ओझेल पार्नु छ
एक्लै रुख चढ्नेलाई
भूईँमा झार्नु छ ।

बन्दुक समाउनेलाई अब
कलम थमाउनु छ
मम: मात्रै भन्नेलाई
अचार चखाउनु छ
मेरै गोरुको बाह्रै टक्का
भन्नेसंग गन्थन गर्नुछ
तराई झर्नु छ,
अब मधेश मंथन गर्नुछ
बिदेशिएकालाई बोलाउनुछ,
देशका युवा जगाउनु छ ।
बहुल भाषा जाति-धर्मको
साझा घर बनाउनुछ
माइतीघरमा पर्चा छर्दै
नबितोस् दुई दिने चोला
अल्पमतमा आफैँ परे,
कस्तो बिकल्प होला ?

छैनन् हामीसंग
अरुका जस्ता झोला
त्यसमाथि तोड्नुछ
अरिङ्गालका गोला
सबैलाई गरी गाली,
कति बज्ला एकै हातले ताली?
आऊ हाँस्दै फेरि तराजु समाऊ
सम्बृद्धिको सेलरोटी
सँगै-सँगै पकाऊँ

भ्रष्टाचारका जूठा भाँडा
आऊँ संगै माझौं,
देश बनाउन ढिलो भो
एक-आपसमा नबाझौं !
अरु नि छन् “कूल” प्यास बुझाउनेहरु,
‘हिदर एंड दिदर’ नि हेरौँ
आँखा छोपी नभनौं,
‘चिसो भनेकै मात्रै कोका-कोला’
अल्पमतमा आफैँ परे,
कस्तो बिकल्प होला?

तस्बिर: विवेकशील साझा पार्टीको चुनाब चिन्ह ”तराजु” हाे।

प्रतिक्रिया दिनुहोस