एउटै दृष्टि, भिन्न कोण

कति मजबुत छन् मोदी ?

२०७५ चैत्र २७ गते बुधवार

केही महिनाअघिसम्म भाजपा नेतृत्वको एनडिए सरकारलाई कांग्रेसले चुनौती दिनसक्ने अनुमान गरिँदै थियो । गतवर्ष कांग्रेसले तीन राज्यको विधानसभा निर्वाचन जितेको हुनाले कांग्रेसको अवस्था सुध्रिँदै गएको मानिँदै थियो । तर, पुलवामा आक्रमणपछि अब २०१९ को समीकरण फेरिँदै गएको देखिन्छ । राष्ट्रवादको घोडामा सवार भाजपाले पुलवामा आक्रमणपछि चुनावी समीकरण आफ्नो पक्षमा पारेको छ । कम्तीमा पनि हिन्दीभाषी राज्यहरुमा उसले आफ्नो घाटा कम गरेको छ । र, कांग्रेसका साथमा अन्य क्षेत्रीय पार्टीलाई पनि आआफ्ना रणनीतिमाथि पुनर्विचार गर्न बाध्य बनाएको छ ।
पुलवामा आक्रमणअघि पनि भाजपा २०१९ को निर्वाचनको रेसमा अगाडि नै थियो । तर, पुलवामापछि भाजपा हिन्दीभाषी राज्यहरूमा कांग्रेस र अन्य क्षेत्रीय पार्टीभन्दा थोरै अगाडि पुगेको छ । बालाकोट एयर स्ट्राइकबाट भाजपा सरकारको पाकिस्तानलाई जबाफ दिन सक्ने छवि बन्यो । साथै, जनताले नरेन्द्र मोदीको विकल्प नदेख्नुले पनि भाजपालाई फाइदा भइरहेको छ । पुलवामापछि मोदी थप मजबुत देखिइरहेका छन् । उनको खस्किँदै गएको लोकप्रियता पुनः उक्सिँदै गएको छ ।

२०१४ को लोकसभा निर्वाचनमा भाजपाले कैयौँ क्षेत्रमा निकै ठूलो अन्तरको जित हात पारेको थियो । भाजपालाई यी सिटमा त्यतिखेर मात्र हराउन सकिन्छ, जब कुनै ठूलो नकारात्मक भोट विपक्षीको खातामा जानेछ । भाजपाले ४२ लोकसभा सिटमा तीन लाखभन्दा पनि बढी मतान्तरबाट जित हासिल गरेको थियो । र ७५ सिटमा दुई लाखभन्दा बढी अन्तरमा जित हात पारेको थियो । ३८ सिटमा डेढ लाखको अन्तर थियो भने ५२ सिटमा एक लाखभन्दा बढी मतको अन्तर थियो । विपक्षी पार्टीहरूले २०१९ मै यति ठूलो अन्तर घटाउन सम्भव छैन । जबसम्म सत्ताधारी भाजपासित आममतदाता रुष्ट हुनेछैनन् तबसम्म यो सम्भव छैन । पुलवामा घटनाअघिसम्म मतदाता भाजपाविरुद्ध आक्रोशित थिए । तर, परिस्थिति बदलिएको छ ।

सबै परिस्थिति र आँकडाले २०१९ मा नरेन्द्र मोदीलाई हराउन लगभग असम्भव छ भन्ने संकेत गरेका छन्

हिन्दीभाषी राज्यहरूमा भाजपालाई नोक्सान हुन सक्छ । यहाँ दुईतर्फी प्रतिस्पर्धा छ । यी राज्यमा भाजपाले २०१४ मा भन्दा राम्रो प्रदर्शन गर्न सक्नेछैन । तर, भाजपालाई गुजरात, छत्तीसगढ, राजस्थान, हिमाञ्चल प्रदेश, मध्य प्रदेश र उत्तराखण्डमा कुनै नाटकीय मोड नआएको खण्डमा ठूलो नोक्सानी हुनेछैन । मध्यप्रदेश, राजस्थान र छत्तीसगढको विधानसभा निर्वाचनमा भोगेको हारपछि पनि भाजपा मध्यप्रदेश र राजस्थानमा कांग्रेसभन्दा थोरै फाइदामै देखिन्छ । यी विधानसभा निर्वाचनको मतलाई संसदीय निर्वाचनमा परिणत गर्ने हो भने मध्यप्रदेशमा भाजपा १८ लोकसभा सिटमा अगाडि छ भने कांग्रेस ११ मा । उता राजस्थान विधानसभा मतलाई संसदीय निर्वाचनका आधारमा हेर्दा भाजपा १३ र कांग्रेस १२ सिटमा अगाडि छन् । मात्र छत्तीसगढमा कांग्रेस निर्णायक स्थितिमा छ । यद्यपि, यहाँ पनि पुलवामापछि भाजपाको सेयर बढ्ने सम्भावना छ ।

उत्तर प्रदेश, बिहार, महाराष्ट्र, पञ्जाब, हरियाणा, झारखण्ड, जम्मु, कस्मिर र दिल्लीमा भाजपाको स्थिति राम्रो छ । यी राज्यमा भाजपाले या त क्षेत्रीय पार्टीहरूसित गठबन्धन गरेको थियो, या क्षेत्रीय पार्टीहरू बाँडिएका थिए । जसका कारण भाजपालाई फाइदा नै भएको थियो । विपक्षी गठबन्धनले भाजपालाई कैयौँ राज्यमा पछाडि पार्न सक्छ । तर, उत्तर प्रदेश, दिल्ली, पञ्जाब, झारखण्ड, हरियाणा, महाराष्ट्र, बिहारलगायत राज्यमा विपक्षी गठबन्धनले एनडिएलाई कुनै घाटा पु¥याउन सक्दैन । कांग्रेसले कर्नाटक, तमिलनाडु, झारखण्ड, महाराष्ट्र, बिहारलगायत राज्यमा गठबन्धन गरेको छ, तर, यो भाजपालाई चुनौती दिन पर्याप्त छैन ।

पश्चिम बंगाल र ओडिसामा २०१४ को लोकसभा निर्वाचनमा भाजपाको प्रदर्शन त्यति राम्रो थिएन । तर, विगतमा जस्तै २०१९ मा पनि विपक्षी विभाजित भइरहे भने भाजपालाई यहाँ बलियो हुने राम्रो अवसर छ । पछिल्ला केही वर्षका सर्भे यर्सतर्फ इसारा गरिरहेका छन् । सर्भेहरू भन्छन्— भाजपा पछिल्ला केही वर्षमा यी राज्यमा पनि पहिलेभन्दा बलियो भएको छ । विपक्षीले गठबन्धन गरेनन् भने भाजपाका लागि यी राज्यमा सहज हुनेछ । दक्षिण तमिलनाडु, आन्ध्र प्रदेश र तेलंगानामा भाजपाको स्थिति करिबकरिब २०१४ को जस्तै छ । केरलमा चाहिँ भाजपाको समर्थन बढेको छ । तर, यो नै लोकसभामा सिट जित्न पर्याप्त छैन । यी सबै परिस्थिति र आँकडाले २०१९ मा नरेन्द्र मोदीलाई हराउन लगभग असम्भव छ भन्नेतर्फ नै संकेत गरेका छन् ।

(प्राध्यापक कुमार सेन्टर फर स्टडी अफ डेभलपिङ
सोसाइटीका निर्देशक हुन्)
बिबिसी डट कम/हिन्दीबाट

प्रतिक्रिया दिनुहोस