एउटै दृष्टि, भिन्न कोण

नेपालगन्जका मेयर, आफ्नै कार्यालयमा धर्ना !

२०७५ चैत्र २८ गते बिहिवार

नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल समशेर राणाले आफ्नै कार्यालय अगाडि हिन्दु राष्ट्रको माग लिएर धर्नामा बसेका छन् । राप्रपाको केन्द्रीय कार्यक्रम अनुसार पार्टीका महामन्त्री समेत रहेका डा. राणा आफै प्रमुख रहेको नगर अगाडि धर्नामा बसेका हुन् ।

राप्रपा केन्द्रीय सदस्य ऋषिराज देवकोटाले पार्टीका तर्फबाट गत फागुन ७ गते बुझाइएको २२ बुंदे ज्ञापन पत्रको सुनुवाईका लागि दबाब दिन देशव्यापी शान्तिपूर्ण आन्दोलन सुरु गरेको जानकारी दिए । राप्रपाले हिन्दु राष्ट्रका पक्षमा जनमत सिर्जना गर्न घरदैलो, हस्ताक्षर, सभा, प्रदर्शन लगायतका कार्यक्रम गर्दै आएको छ । केन्द्रीय सदस्य देवकोटाले हिन्दु राष्ट्रको चाहना भएर पनि स्वफूर्त रुपमा आफ्ना माग नउठाउने जनतालाई जागरुक गराउने अभियान पार्टीले सुरु गरेको जानकारी दिए । पार्टीले बैशाख ५ गते घरदैलो अभियान र वैशाख ८ गते राजमार्ग अवरुद्ध सम्मका कार्यक्रमहरु घोषणा गरेको केन्द्रीय सदस्य देवकोटाले जानकारी दिए । ‘हामी हाम्रा मागहरु शान्तिपूर्ण रुपमा उठाउँदै छौं’, उनले भने, ‘वेवास्ता गरिए आन्दोलनको स्वरुप फेर्न बाध्य हुनेछौं ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिका अगाडि आयोजित कार्यक्रममा बोल्दै नगर प्रमुख डा. राणाले शान्तिपूर्ण रुपमा गरिएका मागलाई वेवास्ता नगर्न सरकारलाई चेतावनी पनि दिए । उनले सरकारले प्रतिबन्ध लगाएको नेकपा विप्लव समूहदेखि राजासम्म अट्ने गोलमेच सम्मेलन अहिलेको आवश्यकता भएको उल्लेख गरे । नेपालगन्जमा भएको कार्यक्रममा पार्टी केन्द्रीय सदस्य ऋषिराज देवकोटा, रमेश अर्याल, ओम आजाद, सलाउद्दिन जसगढ, मोहन केसी, जिल्ला अध्यक्ष नरेन्द्र कुमार पौडेल, आमन्त्रिक केन्द्रीय सदस्य गौरव चन्द, क्षेत्रीय अध्यक्ष दिपेन्द्र बहादुर सिंह, पार्टी सम्बद्ध युवा संगठनका जिल्ला अध्यक्ष हुकुम केसी, महिला संगठनका केन्द्रीय सचिव विन्दु घर्तिमगर लगायतको सहभागिता रहेको थियो । कोहलपुर पनि नगरपालिका अगाडि धर्ना कार्यक्रम गरिएको छ । जसको नेतृत्व पार्टी केन्द्रीय उपाध्यक्ष समेत रहेका पूर्व मन्त्री प्रेम बहादुर भण्डारीले गरेका थिए । कार्यक्रममा केन्द्रीय सदस्य खेमराज गौतम, हिक्मत ढकाल लगायतको सहभागिता रहेको थियो । राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनका लागि देशव्यापी अभियान सुरु गरेको हो । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मुलुकमा हिन्दु राष्ट्र पुनःस्थापनाका लागि सरकारलाई दबाब दिन देशव्यापी हस्ताक्षर समेत चलाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस