एउटै दृष्टि, भिन्न कोण

नयाँ बर्षको शुभकामना !

२०७५ चैत्र ३० गते शनिवार

२०७५ अनेक झण्झट र विपद्हरुको खड्गो बोकेर आएको थियो । चैतको अन्तिम रातसँगै त्यसले हामीलाई छाडेर गएको छ । हामी २०७६ सालको यात्रामा निस्किसकेका छौं । आशा छ, दुःखका पहाड पन्छाएर, पीरका भारीहरु बोक्दै बिसाउँदै गरेर र त्रासका सम्झनाहरु मनमा टाँसेर भए पनि हामी सकारात्मक सोच राख्छौं, राखिरहने छौं । समस्या र अभावका चांगहरु बीच हामी समाधान र पूर्णता खोज्न अभ्यस्त छौँ ।

नयाँ बर्ष २०७६ सालले हामीलाई नयाँ सोच, विचार र परिवर्तनको उर्जा दिएको छ । नयाँ वर्ष विगतको पात्रो पल्टेर नयाँ पात्रो भित्तामा टाँस्ने निरन्तर अभियान मात्रै होइन, विगतको समीक्षा र त्यसले सिकाएको पाठ मनन् गरेर भविष्यको योजना बनाउने बेला पनि हो ।
पक्कै पनि २०७५ ले हामीलाई धेरै पाठ सिकाएर गएको छ र त्यसलाई हामीले मनन् गर्नै पर्छ । स्थानीय तहहरू कार्यान्वयनका चरणमा छन् ।

चुनाब भएको एक बर्ष भएतापनि, कानुन कार्यन्वयनमा केहि चुनौती देखिन्छ । स्थानीय सरकारले पूर्णता यही वर्षमा पाउनेछ । बितेको वर्ष बारा, पर्साका लागि भने निराशाजनक बन्यो । देशले होनाहार आशा लाग्दा, युवा नेता रबिन्द्र अधिकारी गुमायो । उता भुकम्प पिडितहरुका लागि, निजी तथा सार्वजनिक भवन पुनर्निर्माणले गति लिन सकेन । अनुदान र ऋण सहयोग लिने झन्झटिलो प्रक्रियाका कारण, यत्रो बर्ष हुदा समेत धेरै भूकम्पपीडितले सहज लाभ लिन अझै सकेनन् । नीतिगत सुधार गर्दै सरकारले स्थानीय तहका कानुन बनाउने काममा जनप्रतिनिधिहरुले तीव्रता दिनुपर्ने देखिएको छ, यो बर्षमा पनि यी कामहरुले गति लिनुपर्छ ।

०७६ निराशाजनक वर्ष नबनोस् । नेपालको कूटनीतिक पक्ष पनि गएको वर्ष असन्तुलित र आलोच्य बन्यो । यसमा सुधारको अपेक्षा नयाँ वर्षमा छ । २०७५ सालमा आशा जगाउने केही काम भएका छन् । धरहरा पुनः निर्माणको कामले गति पाएको छ । इच्छाशक्ति भए उल्लेख्य काम गर्न सकिने रहेछ भन्ने सन्देश प्रवाह गरेको छ । स्वास्थ्य क्षेत्रमा दूरगामी महत्त्व राख्ने नीतिगत निर्णयहरू गएको वर्षमा भएका छन् र तिनले निरन्तरता पनि पाइरहेका छन, जुन प्रशंसनीय छ । सफल कार्यान्वयनले ती निर्णयलाई सार्थक बनाउनेछ ।

बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना गत बर्ष पुरा हुने आशा गरिएपनि, अन्ततः सम्भवत भएन । विगतमा हासिल केही संकेतले जगाएका आशालाई मूर्तरूप दिन भने राजनीतिक स्थिरता छ । सरकार, राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्षको सहयोग, सहकार्य र समझदारी हुनुपर्छ । नयाँ बर्ष, नयाँ उमङग, नयाँ योजनाको शुभकामना ।

उज्यालो टाईम्स । शुभारम्भ ०७६

प्रतिक्रिया दिनुहोस