एउटै दृष्टि, भिन्न कोण

राजतन्त्र फाल्यौं, समस्या फालिएन !

२०७६ बैशाख ४ गते बुधवार

पुरानो कुराबाट विषय प्रवेश गरौं। डेनमार्कको राजधानी कोपनहेगनमा २४ सेप्टेम्बर २००७ मा ‘कल्याणकारी लोकतन्त्र’ विषयमा एउटा प्रवचन सुन्ने मौका मिल्यो। कार्यक्रमका मुख्य स्रोतव्यक्ति थिए युरोपियन युनियनका लागि पूर्व डेनिस अधिकारी। उनी ऊर्जाशील थिए। युवा थिए। कुरा गर्न निकै उत्साही थिए। सबैभन्दा मुख्य कुरा उनी ज्यादै सरल थिए। उनले युरोपियन युनियनमा आफ्नो जिम्मेवारी सकिएपछि कुनै स्कुलमा पढाउँदै गरेको बताए। सहरभन्दा अलि टाढा गाउँमा। त्यति ठूलो जिम्मेवारीबाट अवकाश लिएका यी डेनिस आफू साधारण स्कुलमा पढाउँदै गरेको खबर सुनाउँदा गर्वले प्रफुल्ल थिए।

ती सज्जनको कुरा सुनेपछि मेरो मनमा एउटा प्रश्न आयो – के हामी हाम्रा पूर्वराजदूत महोदयहरूलाई कुनै गाउँको स्कुलमा पढाइरहेको भेटौंला ? अथवा हाम्रा नेताहरू, मन्त्रीहरू वा सचिवहरू आफ्नो अवकाशपछि जनताको जीवनसँग जोडिएर कुनै गाउँमा सेवाका काम गरिरहेका देख्न पाइन्छ ?

आफ्नो मन्तव्यमा ती डेनिस बारम्बार एउटै वाक्य दोहोर्‍याउँथे – ‘यस्तो छ हाम्रो लोकतन्त्र।’ उनीहरूको लोकतन्त्र गजबको छ – परिणाममुखी, उदार, कल्याणकारी र समतामूलक लोकतन्त्र। उनीहरू मार्क्सवादी होइनन्। तर उनीहरूले निर्माण गरेको राज्य धुरन्धर मार्क्सवादीहरूको समाजवादभन्दा माथि देखिन्थ्यो। अझ महत्त्पूर्ण कुरा, उनीहरूको लोकतन्त्रमा जनताको स्वामित्व छ। अलिकति राजनीतिक कुरा सुरु हुनासाथ डेनिसहरू आफ्नो लोकतन्त्रप्रति गर्व गर्थे र दोहोर्‍याउँथे – ‘दिस इज आवर डेमोक्रेसी।’ मान्छेसँग कुरा गर्दा देखिन्थ्यो – उनीहरू खुसी छन्। सामाजिक न्याय, सुशासन, जनतालाई अधिकतम लाभको सुनिश्चितता, लोककल्याणकार र सेवाभाव उनीहरूले निर्माण गरेको राज्यको मुख्य चरित्र हो।

बाँकी बिचार

प्रतिक्रिया दिनुहोस