एउटै दृष्टि, भिन्न कोण

नेकपाले टुंगो लगायो ७७ जिल्लाकै अध्यक्ष र सचिव

२०७६ बैशाख ८ गते आइतवार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको छ।

लामो समयसम्म अडकिएको नेकपाको एकीकरणका लागि आइतबार दिनभरी भएको प्रयासपछि साँझ बसेको सचिवालय बैठकले ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लगाएको हो। बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ वटै जिल्लाको नेतृत्वको टुंगो लागेको जानकारी दिएका छन्।

नेकपाको जिल्ला पदाधिकारी चयनमा पूर्वएमालेको दुई गुट ओली र माधव नेपाल समूहबीच विवाद थियो। सोही विवादका कारण नेकपाको एकता प्रक्रिया लम्बिएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबिच आज भएको पटक–पटकको छलफलपछि पार्टी भित्र एकताको लागि सहमति जुटेको हो।

गत जेठ ३ मा दुवै पार्टी एकीकरण भएको घोषणा भए पनि तल्ला कमिटी र जनवर्गीय संगठनको एकता झन्डै एक वर्ष बितिसक्दा पनि भएको थिएन। एकीकरणका लागि मापदण्ड तयार गर्ने विषयमा नेताहरुबीच सहमति हुन नसक्दा ढिलाइ भएको थियो।

सचिवालय बैठकले  जिल्ला अध्यक्ष र सचिवको नाम टुङ्गो लगाएको भएपनि जनवर्गीय संगठनको नेतृत्व र पोलिटब्यूरो सदस्यको नामवली भने टुंगिन बाँकी रहेको बताइएको छ।

प्रवक्ता श्रेष्ठका अनुसार केही दिनभित्र नै पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको कार्यविभाजन हुनेछ।

नेकपा स्थापना दिवस नाम दिएर सोमबार राजधानीको प्रज्ञा भवनमा कार्यक्रम आयोजना गरिने निर्णय समेत बैठकले गरेको छ। सोमबारको कार्यक्रममार्फत् नै नेकपाले ७७ जिल्ला कमिटीका अध्यक्ष र सचिवको नाम सार्वजनिक गर्ने छ।

प्रतिक्रिया दिनुहोस