एउटै दृष्टि, भिन्न कोण

प्रधानमन्त्रीलाई कालो झण्डा देखाउनेलाई सार्वजनिक मुद्दा

२०७६ बैशाख ९ गते सोमवार

बुटवल । बुटवलको जितगढीमा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई कलो झण्डा देखाएका रुद्रप्रसाद घिमिरेमाथि प्रहरीले सार्वजनिक मुद्दा लगाएको छ ।

उनीमाथि फौजदारी संहिता अन्तर्गत सार्वजनिक मुद्दा दर्ता गरी हिरासतमा राखिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिलबहादुर मल्लले बताए ।प्रधानमन्त्रीमाथि अभद्र व्यवहार गरेकाले आइन्दा यस्तो नगरोस् भन्ने उद्देश्यले सार्वजनिक मुद्दा चलाइएको डीएसपी मल्लले बताए । शनिबार जितगढी विजय उत्सव दिवसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा घिमिरेले ‘उजिरसिंह जिन्दावाद, हाम्रो देश प्राण भन्दा प्यारो छ’ भन्दै कालोझण्डा देखाएका थिए ।

मञ्चबाट सम्बोधन गरिरहेका प्रधानमन्त्री ओलीले कालोझण्डा देखाइरहेका छन्, के हेरिरहनु भएको छ ? भन्ने प्रश्न गरेपछि युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अर्घाखाँची घर भएका घिमिरे केही वर्षदेखि बुटवल ११ मजुवामा बस्दै आएका छन् । ३० वर्षिय घिमिरे गत संसदीय चुनावमा नेकपा महासचिव विष्णु पौडेलले जितेको क्षेत्र रुपन्देही २ बाट स्वतन्त्र उम्मेदवार थिए । उनी विगतमा अखिल क्रान्तिकारीमा आवद्ध थिए ।

हाल भने स्वतन्त्र भएको बताएका छन् । आफूलाई कालो झण्डा देखाएपछि प्रधानमन्त्री ओलीले कसैले अह्राएर आएको होला बिचरा भनी टिप्पणी गरेका थिए । तर घिमिरेले भने आफ्नो स्वविवेकले कालो झण्डा देखाएको प्रहरीलाई बताएका छन् ।

घिमिरेलाई सार्वजनिक मुद्दा चलाइएकोप्रति सामाजिक सञ्जालमा विरोध हुन थालेको छ । नेपाली कांग्रेस निकट युवा मुक्तिप्रसाद पौडेलले घिमिरेलाई मुद्दा चलाइएकोमा निन्दा गर्दै प्रधानमन्त्री ओली बुटवलमा आउंदा आफूले पनि कालो झण्डा देखाएर गिरफ्तारी दिने घोषणा गरेका छन् ।

लोकतन्त्रमा शान्तिपूर्ण रुपमा विरोधस्वरुप कालो झण्डा देखाउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै युवा नेता पौडेलले प्रधानमन्त्री ओलीले विकासका नाममा समाजमा राजनीतिकरण गरेको उल्ल्ेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस