एउटै दृष्टि, भिन्न कोण

आज लोकतन्‍त्र दिवस : ज्ञानेन्द्रले नासो फिर्ता गरेको दिन

२०७६ बैशाख ११ गते बुधवार

काठमाडौं- आज लोकतन्त्र दिवस । विसं २०६२/६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको सम्झनामा आज देशभर लोकतन्त्र दिवसको संझनामा देशैभर विभिन्न कार्यक्रम गरि मनाइदैँछ ।
विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आक्रोशित बनेका राजनीतिक दलहरुले विसं २०६२ चैत २४ गतेबाट जनआन्दोलन सुरु गरेका थिए । तत्कालिन सात दल र माओवादीबीच भएको १२ बुँदे समझदारीअनुसार आन्दोलन चर्काइएको थियो ।
आन्दोलनले उग्र रुप लिएपछि बैशाख ११ गते राति राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै सुम्पिएको घोषणा गरेका थिए । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ ।
विसं २०६३ जेठ ४ गते पुनःस्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने संकल्प प्रस्ताव पारित गरेको थियो । कसैले यसलाई नेपाली म्याग्नाकार्टा पनि भने ।
यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको विसं २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षीय राजसंस्थाको विधिवत् अन्त्य गर्यो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।
विसं २०७० मंसिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले विसं २०७२ असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भएको छ ।
सोअनुसार संघीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् । यो परिवर्तनको प्रवेशद्वार भएकाले वैशाख ११ गतेलाई लोकतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस