एउटै दृष्टि, भिन्न कोण

‘कठपुतली’ फस्टलुक आउट

२०७६ बैशाख ११ गते बुधवार

फिल्म । नेपालमा हरर फिल्म कमै बन्ने गर्छन् । कारण , प्रविधि र सिमित बजेट नै हो । विदेशी हरर फिल्म हेरेर मनोरंजन लिईरहेका दर्शकले स्वदेशी हरर फिल्ममा प्राविधिक खोट औल्याउने गरेका छन् । पछिल्लो समय निर्मित हरर फिल्म ‘सुनकेसरी’ सुरुवाती चरणमा राम्रो ब्यापार गरेता पनि अन्तत दर्शकले फिल्म प्रस्तुतीकरण र प्राविधिक रुपमा बलियो नरहेको प्रतिक्रिया दिए । त्यसयता दर्शकले स्वदेशी हरर फिल्म हेरेका छैनन् । तर , अब दर्शकले स्वदेशी हरर फिल्म ‘कठपुतली’ हेर्न पाउने भएका छन् ।

निर्माण पक्षले फिल्मको फस्टलुक सार्वजनिक गरेको छ । सार्वजनिक फस्टलुक्समा कुनै कालखण्डमा एक राज्यमा शासन गर्ने राजाको दरबार भित्रको सेरोफेरोमा आधारित कथालाई फिल्ममा समेटिएको भान हुन्छ । देशका प्रजा परिश्रमी भएपनि शासक निरंकुश भएपछि त्यसको बद्ला जनताले कसरी लिन्छन् भन्ने कथालाई फिल्ममा दर्शकले हेर्न पाउने लेखक तथा कार्यकारी निर्मात्री सम्पदा मल्लले बताईन् । ‘फिल्म हरर भएपनि मौलिकता पाइनेछ’ उनले भनिन् ‘प्राविधिक रुपमा पनि सबल बनाउने हरप्रयास गरेका छौ ।’

अर्का निर्माता पृथ्वी राना मगरले आम दर्शकले हेर्दै आएको फिल्मभन्दा आफ्नो फिल्म फरक रहेको बताए । यसअघि दुई फिल्महरू ‘परेनी माया जालैमा’ र ‘हंगामा’ निर्माण तथा निर्देशन गरेका राना मगरले अलग बिषयमा व्यावसायिक फिल्म बनाउने सोच अनुसार ‘कठपुतली’ बनाएको बताए । फिल्ममा भीमसेन लामाको निर्देशन छ भने यसमा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुबर्ण थापा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

पृथ्वी राना प्रोडक्शनको ब्यानरमा बनेको फिल्मका निर्मातामा पृथ्बी राना मगर र ईश्वर राई हुन् भने यसमा जोएल फ्रुमको डीओपी छ । सह निर्माताहरु माईक अर्याल, बिशाल गुरुङ्ग, धर्म श्रेष्ठ र हेम थापा हुन् । फिल्मको फस्टलुक सार्वजनिक गरिएता पनि निर्माण पक्ष रिलिज मिति तय गरेको छैन ।

प्रतिक्रिया दिनुहोस