एउटै दृष्टि, भिन्न कोण

रेडकर्नर नोटिश जारी गरिएका सुदर्शन गौतमका तीन काण्ड

२०७६ बैशाख १४ गते शनिवार

काठमाडौं । मानव तस्करी गरेको अभियोगमा अनुसन्धानका लागि रेडकर्नर नोटिश जारी गरिएका सुदर्शन गौतमले तीनवटा फरक काण्ड मच्चाएका छन् ।

हाल क्यानडाको स्थायी बसोबास अनुमति लिएका गौतममाथि पक्राउका लागि महानगरीय अपराध महाशाखाको पहलमा नेपाल प्रहरीले इन्टरपोलमा रेड कर्नर नोटिश जारी गरेको छ ।

‘आठ महिना अघिदेखि गौतममाथि अनुसन्धानका लागि हामीले पहल गरेका थियौं, नेपाल प्रहरीले रेडकर्नर नोटिश जारी गरिएको छ’, महाशाखा प्रमूख एसएसपी धीरजप्रताप सिंहले भने,‘उनलाई पक्राउ गरी नेपाल डिपोर्ट भए अनुसन्धान गरी कारबाहीको सिफारिस गर्नेछौं ।’

दुई हात नभए पनि विभिन्न विवाद र अभियोगमा मुछिएका गौतमलाई रेडकर्नर नोटिश जारी गरिनुको कारणचाहिँ फिल्ममा अभिनय गराउने नाममा सर्वसाधारणसँग मोटो रकम असुल गरी अमेरिका लैजाने प्रयत्न थियो ।

यसबाहेक विभिन्न विषयमा उनी विवादीत पनि बनिसकेका छन् ।

पहिलो, दुवै हात नभएका कारण सगरमाथा आरोहण गरेको प्रमाणपत्र उनले हात पारेका थिए । सोही चर्चा मिडियामा गराएर फिल्मी क्षेत्रमा उनले प्रवेश गरे । प्रवेश गर्नासाथ उनले अभिनेत्री रेखा थापासँग मित्रता गासेका थिए ।

दोस्रो, अभिनेत्री थापासँगको निकट सम्बन्धलाई अझ बलियो बनाउँदै प्रेम सम्बन्धसम्म स्थापित भएको प्रचार गरिएको थियो । हाल यी दुवैबीच सम्बन्ध भए नभएको भन्नेबारे चर्चा त छैन । हिम्मतवाली फिल्ममा हिरोको भूमिकामा आएका गौतमसँग थापाको प्रेम सम्बन्ध रहेको दुवैले खुलेर प्रचार गरेका थिए ।

‘फिल्ममा व्यावसायीक साझेदारी पनि थियो, दुवैले प्रेम पनि स्वीकार गरेका हुन् । तर गौतमका अन्य व्यावसाय र काममा थापाको संलग्नताका विषयमा त्यति थाहा छैन’, हिम्मतवाली निर्माणका क्रममा काम गरेका एक प्राविधिक भन्छन्,‘अहिले त मलाई पनि केही थाहा छैन ।’

गौतम र थापाको सम्बन्ध अहिले खटपटमै रहेको जानकारी प्रहरीमा पनि छ । एक प्रहरी अधिकारी भन्छन्,‘यी दुवै बीचमा हालसालै सम्बन्ध रहेको भन्नेचाहिँ केही खुलेको छैन ।’

तेस्रो, थापासँगको प्रेम र मानव तस्करीसम्म गौतमको संलग्नताको कथा रोचक नै छ । प्रहरी अनुसन्धानले गौतमले विभिन्न देश हुँदै अमेरिका लैजान खोजेका थिए ।

क्यानाडा निवासी गौतम तीन वर्षअघि पनि अमेरिका लैजाने भन्दै ठगी गरेको विषयमा विवादमा तानिएका थिए । गौतमको समूहले तीन नोपली युवतीलाई अमेरिका लान विभिन्न देश हुँदै हाइटी पुराएको थियो । फिल्मको सुटिङका नाममा उनीहरूलाई हाइटी लगिएको थियो ।

हाइटीहुँदै समुद्री बाटो भएर उनीहरूलाई अमेरिका पुराउने उनीहरूको योजना रहेको थियो । उनीहरू सवार पानीजहाज बिग्रीएर समुद्री छालको बहावसँग बग्दै बहामास भन्ने देशमा पुगेपछी उक्त पानीजहाजलाई त्यहाँका सुरक्षा गार्डले नियन्त्रणमा लिएका थिए । पानीजहाज नियन्त्रणमा परेसँगै तस्करीको यो घटना बाहिर आएको थियो । त्यहाँबाट अमेरिकन दूतावासको सहयोगमा नेपाली युवतीहरू आफन्तलाई सम्पर्क गरी नेपाल फर्किएका थिए ।

उनीहरूले गरेको उजुरीकै आधारमा प्रहरीले बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । अनुसन्धानकै क्रममा सुदर्शन गौतमको समेत संलग्नता देखिएपछि काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरि उनलाई नेपाल ल्याउन प्रहरीले इन्टरपोललाई पत्राचार समेत गरेको छ । गौतमले पीडित युवतीसँग ६० लाख रुपैयाँसम्म लिएका थिए ।

पत्रकारलाई धम्क्याए, त्यसपछि क्यानडाबाट फर्किएनन्

गौतमले फिल्म र रेखा थापासँगको सम्बन्धका विषयमा आएको समाचारका विषयमा एक फिल्मी पत्रकारलाई धम्क्याएका थिए । श्यामसुन्दर गिरी नामका उक्त पत्रकारलाई धम्क्याएको अडियो रेकर्ड प्रहरीसम्म पुगेको थियो । गिरी भने अहिले अस्ट्रेलियामा छन् ।

उक्त घटनापछि गौतम नेपाल फर्किएका छैनन् । त्यसपछि उनलाई मानव तस्करीको अभियोग लागेर रेड कर्नर नोटिश जारी गर्न प्रहरी लागि परेको सूचना पाएपछि उनले नेपालमा रहेका चिनजानका व्यक्तिसँग पनि सम्पर्क गर्न छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस