एउटै दृष्टि, भिन्न कोण

भत्काइयो टहरा, खुला बन्यो खुलामञ्च

२०७६ बैशाख १४ गते शनिवार

काठमाडौं । खुलामञ्च कब्जा गरी अवैध रुपमा निर्माण गरिएका ४० वटा घर टहरा काठमाडौं महानगरपालिकाले शनिबार भत्काएको छ । अस्थाथी बसपार्कभित्रको रुपमा प्रयोग गरिएको खुलामञ्चमा अवैध रुपमा व्यवसायिक टहरा बनेपछि महाननगरले त्यसलाई भत्काएको हो ।

ठेकेदारले अनियमित रुपमा घर टहरा बनाई पसल सञलनको लागि भाडामा लगाएपछि त्यसको विरोध भएको थियो । महानगरपालिकाले खुलामञ्चको अस्थायी बसपार्कभित्र ठेकेदारले सम्झौता विपरीत निर्माण भएको र टहरा डोजर लगाएर भत्काएको हो ।

काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य आफै दर्जनौ प्रहरीसहित खुलामञ्च पुग्नु भएको थियो । महानगरपालिकाले खुलामञ्चभित्र अवैध रुपमा निर्माण गरिएका घर टहरा र सटर भत्काउने निर्णय गरेकोले विलम्ब नगरी भत्काइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी आचार्यले खुलामञ्चभित्र सरकारी प्रयोजनाका लागि बाहेक अवैध रुपमा भण्डारण गरी राखेको निर्माण सामग्री पनि तत्कालै हटाइने प्रतिवद्धता जनाउनु भयो ।

घर टहरामा डोजर चलाउँदा पसलमा रहेका लाखौं रुपैयाँको सामान नष्ट भएको छ । घर टहरा भत्काउँदा सर सामान हटाउने पूर्व सूचना समेत नदिई एक्कासी डोजर चलाएकोमा पसल सञ्चालक आक्रोसित भएका छन् । ठेकेदारले घर टहरा निर्माण गरुञ्जेल काठमाडौं महानगरपालिका मौन बसेको तर पसलबाट सामान हटाउने अवसरसमेत निदिई डोजर चलाइएकोमा साना व्यापारले दुखः व्यक्त गरेका छन् ।

अस्थायी रुपमा ५ वर्षका लागि बसपार्क सञ्चालन गर्न खुलामञ्चको जग्गा काठमाडौं महानगरले भाडामा जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स कम्पनीलाई भाडामा दिएको थियो । कम्पनीका सञ्चालक मनोजकुमार भेटवालले टहरा पसलेबाट ११ लाख देखि १५ लाखसम्म सलामी रकम लिएर करिव ७ करोड रुपैयाँ असुल गरेको व्यवसायीको भनाइ छ ।ठेकेदारले पसलेहरुबाट लिएको रकमबारे उजुरी परेमा छानविन गरी कारबाही गर्ने प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनु भएको छ । खुलामञ्चको जग्गा कब्जा गरी घर टहरा बनाइएकोमा जनस्तरबाट विरोध भएको थियो । काठमाडौंबासीले खुलामञ्च बचाउ अभियान नै शुरु गरेका थिए ।

प्रतिक्रिया दिनुहोस