एउटै दृष्टि, भिन्न कोण

डिएसपीको टाउकामा लाठी प्रहार

२०७६ बैशाख १६ गते सोमवार

काठमाडौं । नागरिकता संशोधन विधेयक तत्काल खारेज गर्न सरकारलाई दवाव दिँदै सोमबार काठमाडौंमा प्रदर्शन भएको छ ।

राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका साना बाम राजनीतिक दलहरु आवद्ध ‘नागरिकता विधेयकविरुद्धको संघर्ष समन्वय समिति’ले संघीय संसदमा विचाराधिन नागरिक संशोधन विधेयक तत्काल खारेज गर्न माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म र्यालीसहितको प्रर्दशन गरेको हो ।

नयाँ बानेश्वर पुगेका प्रर्दशनकारीले नागरिकता संशोधन विधेयक जलाउने प्रयास गरेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले हस्तक्षेप गरेपछि केहीबेर प्रहरी र प्रदर्शनकारीबीच ठेलमठेल समेत भएको थियो । प्रदर्शनकारीले डिएसपी गोविन्दनाथ काफ्लेको टाउकोमा लाठी प्रहार गरेका छन् ।

प्रदर्शनपछि आयोजित कोणसभामा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीलाई अल्पमतमा पार्ने गरी भारतीयलाई नागरिकता वितरण गर्ने गरी ल्याइएको राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्न माग गर्दै विरुद्ध प्रर्दशन गर्नु परेको बताउनु भयो । उहाँले सरकारले ल्याएको विधेयक मुलुकको लागि कलंक भएको उल्लेख गर्दै त्यसलाई जलाउँदा सुरक्षाकर्मी किन रिसाएको ? भनि प्रश्न गर्नुभयो ।

नेकपा मालेका महासचिव सिपी मैनालीले गैर नेपालीलाई सहजै नागरिकता दिने सरकारको राष्ट्रद्रोही कदमविरुद्ध आन्दोलन सुरु गरिएको बताउनु भयो ।

प्रर्दशनकारीले भारतीयलाई नागरिकता दिने गरी सरकारले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन परिपत्र गरेकोमा पनि आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेका थिए । नेकपा माले महासचिव मैनालीले संघीय संसदमा विचाराधिन अवस्थामा रहेको नागरिकता विधेयक पारित नभई नागरिकता वितरण गर्न किन सरकारले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको भन्दै आक्रोश व्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस