एउटै दृष्टि, भिन्न कोण

उच्चपदस्थको यात्रा, जनतालाई सास्ती

२०७६ बैशाख २७ गते शुक्रवार

राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायतका उच्चपदस्थलाई जनताले सधैं सम्मान गरेका हुन्छन्। त्यसमा पनि लोकतान्त्रिक शासन व्यवस्था भएको हाम्रो जस्तो देशमा जनप्रतिनिधिको सम्मानमात्र होइन, उनीहरुको सुरक्षामा समेत जनता आफैं संवेदनशील छन्।

तर जनताको सम्मान नै टुट्ने गरी पछिल्ला दिनमा राष्ट्रपति, प्रधानमन्त्रीसहितका उच्चपदस्थ अधिकारीको सवारी चल्न थालेको छ। उच्चपदस्थ अधिकारी कतै जान निस्केसँगै उड्ने र गुड्ने सबै मार्ग ठप्प पार्न थालिएको छ भने सडकमा सर्वसधारणलाई निस्कन पनि रोक लगाउने प्रवृत्ति बढेको छ।

काठमाडौंका सडकमा सर्वसाधारणलाई सडकमा घन्टौं रोकेर भिआइपीहरु अगुवापछुवा गाडीसहित हुइँकिनु नौलो कुरा हुन छाडेको छ। बिहीबार पनि यस्तै भयो। प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम प्रस्थान गर्दा काठमाडौंका सडकको आवतजावत मात्र होइन, हवाईमार्ग पनि प्रभावित बन्यो।

काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलको उडानमात्र होइन, पोखरा, भैरहवासहितका उडान पनि प्रभावित बने। ओली विदेश जाने समयमा विभिन्न देशबाट काठमाडौं आएका मात्र होइन, नेपालभित्रका जहाजसमेत डाइभर्ट गरिएका छन्।

घन्टौंसम्म विमानस्थल नै ठप्प बनाएर प्रधानमन्त्री विदेश सवार भइरहँदा सयौं यात्रु काठमाडौंको आकाशमा घुम्न बाध्य भए। देशका विभिन्न ठाउँबाट काठमाडौं आउन विमानस्थल पुगेकाहरु घन्टौं कुर्न बाध्य भए।

प्रतिक्रिया दिनुहोस