एउटै दृष्टि, भिन्न कोण

कम्प्युटर नदेखेरै कम्प्युटर विषयको परीक्षा

२०७६ बैशाख २७ गते शुक्रवार

सल्यान । जिल्लामा रहेका झण्डै सबैजसो विद्यालयले ऐच्छिक विषयका रुपमा कम्प्युटर विषय राखेको भएपनि विद्यार्थीले कम्प्युटर नदेखेरै कम्प्युटर विषयको परीक्षा दिने गरेका छन् ।

विद्यालयमा कम्प्युटर र बत्तिको व्यवस्था नहुँदा विद्यार्थिले कम्प्युटर विषयको परीक्षा कम्प्युटर नदेखेरै दिनुपर्ने बाध्यता छ । त्रिभुवन जनता मावि भोटेचौरमा कक्षा ७ मा अध्यनरत छात्र सन्तोष खड्काले कम्प्युटरमा बसेर प्रयोग गर्न नपाएरै किताबको भरमा कम्प्युटर विषयको परीक्षा दिने गरेको बताए ।

विद्यार्थीले मात्र होइन शिक्षकले समेत कम्प्युटर देख्न नपाएको शिक्षक लक्ष्मी केसीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शिक्षकले पनि तालिम बिना नै किताबको भरमा कम्युटर सिकाउनुपरेको छ ।’ विद्यार्थीलाइ प्रयोगात्मक कक्षाबाट सिकाउनुपर्ने कम्युटर कक्षा विद्यालयको बोर्डमा लेखेर तथा किताबमा भएको सामाग्रीको भरमा कक्षा संचालन गर्नुपर्दा आफुलाइ समस्या हुने गरेको उहाँको भनाई छ ।

जिल्लाको छत्रेश्वरी गाउँपालिकास्थित त्रिभुवन जनता माध्यमिक विद्यालय भोटेचौरमा २०७० सालदेखि विद्यालयमा कम्प्युटर विषय पढाउन थालिए पनि विना शिक्षक दुई वर्षसम्म कम्प्युटर कक्षा संचालन भएको थियो । तर ०७३ सालयता विद्यालयमा रहेका ९ वटा कम्प्युटर बिग्रिएपछि कम्युटर कक्षा बन्द भएको बताउँदै प्रधानाध्यापक जित बहादुर भण्डारीले अहिले विद्यालयमा विद्यार्थीको अनुपातमा कम्प्युटर प्रयाप्त नभएको र भएका कम्प्युटर पनि बिग्रिएपछि अवस्था चिन्ताजनक भएको बताउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली खड्काले भने कम्प्युटर कक्षा संचालन भए नभएको बारे गाउँपालिकालाइ जानकारी नभएको बताउनुभयो । जिल्लाका अधिकांश विद्यालयमा कम्प्युटर भएपनि कक्षा प्रभावकारी नहुँदा विद्यार्थीको भविष्यमाथि खेलवाड भएको अभिभावकले गुनासो गरेका छन् ।

प्रतिक्रिया दिनुहोस