एउटै दृष्टि, भिन्न कोण

देश सफा गर्दैछन् मुम्बईमा भाँडा माझ्ने यी हात !

२०७६ जेष्ठ ११ गते शनिवार

केपी खनाल कक्षा ७ मा पढ्दा कैलालीको ‘रेडियो नमस्ते’ मा बाल कार्यक्रम चलाउँथे। हरेक शुक्रबार साँझको कार्यक्रमका लागि उनी लम्कीबाट टीकापुर ९१३ किमी० साइकलमा कुद्थे। त्यसरात त्यहीँ बस्थे र शनिबार घर फर्कन्थे। यसरी नै उनले २ वर्ष बिताए।

यो समय उनका लागि समाज र सामाजिक परिवेश बुझ्न निकै अर्थपूर्ण रह्यो। यसैक्रममा गाउँ–घरमा देखिएको एउटा दृश्यले उनको मन चसक्क छुन थाल्यो। गाई–भैंसी जथाभावी बाँध्ने, प्रयोग गरेका कपडा जथाभावी फाल्ने, विभिन्न चीज–वस्तु घर–वरिपरि फालेर गाउँ–घर फोहोर गरेको उनलाई मन परेन।

यी कुरामा सचेतना फैलाउन उनले स्कुल पढ्दा आफ्नो अगुवाईमा विद्यार्थीहरुको र्याली निकाले। गाउँ–घरमा पुगेर सचेतना फैलाए।

भारतमा भाँडा माझ्दा नदेखेको भविष्य
केपी घरको जेठो छोरा हुन्। उनी २ वर्षको हुँदा उनको परिवार जुम्लाबाट कैलाली झरेको थियो। उनीमुनि १ भाई र १ बहिनी छन्। उनका बुबाले भारतमा चौकिदारी गर्न थालेको धेरै वर्ष भइसक्यो। विगत केही वर्षदेखि आमा पनि उतै मजदुरी गर्छिन्।

जेठो छोरा भएको नाताले सानैदेखि घरको सम्पूर्ण जिम्मेवारी केपीको काँधमा आयो। त्यसैले, पनि उनलाई समयले दुःखमा हिँड्न र लडेपछि उठ्न सिकायो। सुखका दिनहरु उनले सायदै देखे होलान्।

पश्चिमका धेरै युवाको सपना हुन्छ, एकपटक भारत जाने– रहरले होस् या बाध्यताले। केपी भने रहर र बाध्यता दुबैले भारत पुगे। भारत पुगेर उनी मोटाउन चाहन्थे, गोरो हुन चाहन्थे। यो उनको रहर थियो। बाध्यता थियो– गरिबी। परिवारका लागि र भविष्यमा आफ्नो पढाईका लागि केही पैसा जम्मा गर्ने उनको सपना पनि।

तर, सोचेजस्तो सजिलो कहाँ थियो ररु उनी भारत गएको १ महिनासम्म भौतारिए। बल्लतल्ल बुबाले चिनेको एक होटलमा भाँडा माझ्ने काम पाए। मुम्बईको मीरा रोडको अभिषेक रेस्टुरेन्टमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म उनका कलिला हातले भाँडा धस्काउन थाले।

काम सकिएपछि फेसबुक खोल्थे। जहाँ देखिन्थे साथीहरु विभिन्न ठाउँमा घुमेका फोटा। त्यो देखेर उनलाई विरक्त लाग्थ्यो। ‘म पहिला रेडियोमा बोल्थेँ, समाजसेवा गर्थेँ, अहिले विदेशी भूमिमा अरुले खाएका जुठा भाँडा माझ्दै छु’, यस्तो सोच्दै उनी मन खिन्न बनाउँथे।

भाँडा माझेर उनले आफ्नो भविष्य देखेनन्, नेपाल फर्किए।

कृष्ण आचार्य नेपालखबर

प्रतिक्रिया दिनुहोस