एउटै दृष्टि, भिन्न कोण

जो दार्जिलिङमा जन्मिए, नेपालमा जमे !

२०७६ जेष्ठ ११ गते शनिवार

बहसको विषय छ, भावनाको भूगोल हुन्छ कि हुँदैन ? सूचना प्रविधिले ‘विश्वलाई नै एउटा गाउँ’ बनाएका बेला हामी भौगोलिक सिमानालाई आधार बनाएर ‘वर’ र परको व्यवहार गरिरहेका छौं । यसबीच नेपालको भाषा, कला र साहित्यलाई अहिलेको उचाइँमा ल्याइपु¥याउन भारतको दार्जिलिङमा जन्मिएका धेरै कलाकर्मी र साहित्यकर्मीको योगदानबारे चर्चा गर्दै छौं । सन् १८१६ मा नेपाल र ब्रिटिसबीच सुगौली सन्धि हुनुअघि दार्जिलिङ नेपालकै भूगोल थियो । सुगौली सन्धिपछि भारतको भूगोल भए पनि त्यहाँका नागरिकमा नेपाल प्रेम थियो र छ । त्यसैले त दार्जिलिङका नेपाली भाषीले नेपाली कला र साहित्यमा निरन्तर मलजल गरिरहेका छन् ।

अम्बर गुरुङ
दार्जिलिङमा जन्मिएर नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याएका संगीतज्ञ हुन्, अम्बर गुरुङ । उनको जन्म १९९४ सालमा दार्जिलिङको लालढिकीमा भएको हो । २०१८ सालमा पहिलोपटक रेकर्ड भएकोे ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ…’ गीत नेपालमा निकै लोकप्रिय भयो भने भारतमा प्रतिबन्ध लगाइयो । गीतमा भारतविरोधी भाव समेटिएको भन्दै अल इन्डिया रेडियोले प्रसारणमा प्रतिबन्ध लगाएको थियो । २०२५ सालमा काठमाडौं आएका गुरुङ २०२६ सालमा संगीत विशेषज्ञका रूपमा नेपाल प्रज्ञा प्रतिष्ठान प्रवेश गरे । त्यसपछि उनले निरन्तर नेपाली गीत संगीतको प्रवद्र्धनका निम्ति आफूलाई समर्पित गरिरहे । त्यतिबेला गुरुङलाई तत्कालीन ‘राजा महेन्द्रले उठाएर ल्याएको एकजना विदेशी केटो’ भनेर धेरैले विरोध गरे । तर, उनले निरन्तर संगीत साधनामार्फत नेपाली माटोको पक्षमा वकालत गरिरहे । उनले विभिन्न नेपाली मौलिक गीत, राष्ट्रिय गीत, नाटक र चलचित्रमा स्वर तथा संगीत भरिरहे । सिंगो राष्ट्रको गौरवगाथा, महिमा र परिवर्तनका खातिर उनले संघर्ष गरिरहे ।

रातो र चन्द्र सूर्य जंगी निसान हाम्रो…. बोलको देशप्रेमले ओतप्रोत गीत, स्वर सम्राट नारायण गोपालको स्वरमा सजिएको ‘पोखिएर घामको झुल्का घरी संघारैमा’, अरुणा लामाद्वारा स्वरबद्ध, ‘पोहोर साल खुसी फाट्दा जतन गरी मनले टालें’ जस्ता थुप्रै कर्ण्प्रिय गीतमा सुमधुर संगीत भरेका छन् । उनले नेपालको राष्ट्रिय गान ‘सयौं थुँगा फूलका हामी एउटै माला नेपाली’मा पनि संगीत भरेका छन् ।

गोपाल योञ्जन
लोकप्रिय संगीतकार गोपाल योञ्जनको जन्म पनि २००० सालमा दार्जिलिङमै भएको थियो । तीन दशकभन्दा बढी लामो समय नेपाली संगीत साधनामा समर्पित योञ्जनले गीतमा संगीत मात्रै भरेनन्, गीत लेखेर स्वर पनि भरेका छन् । स्वर सम्राट नारायण गोपालसँग सहकार्य गरेका योञ्जनले ‘चिनारी हाम्रो धेरै पुरानो’, ‘तिम्रो जस्तो मुटु मेरो मेरो पनि, लौ सुन म भन्छु, मेरो प्रेम कहानी’जस्ता चर्चित गीतमा संगीत भरेका छन् । नेपाली भाषामा बीएसम्म अध्ययन गर्न नेपाल आएर नेपाली गीत संगीतकै संवद्र्धन र प्रवद्र्धनमा लागिपरेका योञ्जनको २०४४ सालमा निधन भयो ।

रञ्जित गजमेर
नेपाली चलचित्र संगीतको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका संगीतकार रञ्जित गजमेरको जन्म पनि दार्जिलिङमै भएको हो । थुप्रै नेपाली गीतमा संगीत भरेका गजमेर संगीतकार अम्बर गुरुङका चेला हुन् । अध्यापनको सिलसिलामा नेपाल प्रवेश गरेका गजमेरले निरन्तर नेपाली संगीतको साधनामा आफूलाई समर्पित गरिरहे । जो अहिले पनि नेपाली संगीतको विकासमा उत्तिकै क्रियाशील छन् ।

अरुणा लामा
नेपाली गीत संगीतको उन्नयनमा उल्लेख्य योगदान पु¥याएकी अरुणा लामाको जन्म पनि दार्जिलिङमा नै भएको हो । संगीतकार अम्बर गुरुङबाट प्रभावित हुँदै र उनीसँगै संगीत सिक्दै निरन्तर नेपाली संगीतमा आफूलाई समर्पित गरेकी लामाको २०५५ सालमा निधन भयो । तर, उनले स्वर दिएका सयौं कालजयी नेपाली गीतका कारण लामाको योगदान अमर छ ।

मोक्तान–सोताङ परिवार
संगीतकार शिलाबहादुर मोक्तान र गायिका कुन्ती मोक्तान, उदय सोताङ र मनिला सोताङ पनि दार्जिलिङमा जन्मिएका नेपाली भाषी नै हुन् । जसको सिर्जनालाई आमनेपालीले रुचाएका छन् ।

पारिजात
नेपाली साहित्याकाशकी एक सशक्त नारी हस्ताक्षर पारिजात अर्थात् विष्णुकुमारी वाइवाको जन्म पनि भारतको दार्जिलिङमै भएको हो । ‘शिरीषको फूल’ उपन्यासबाट मदन पुरस्कार जितेकी पारिजातले नेपालकै पद्मकन्या क्यापसबाट उच्च शिक्षा हासिल गरेकी थिइन् । विभिन्न साहित्यिक आन्दोलन र राजनीतिक आन्दोलनमा समेत सहभागी हुँदै पारिजातले खास गरी आख्यान लेखनका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकी छिन् । साहित्यमा स्वच्छन्दतावादको जगमा मनोवैज्ञानिक र क्रान्तिकारी सिर्जना गर्न सफल पारिजातले उपन्यास, कथा र कवितामा आफूलाई पोखेकी छिन् । अनेक अप्ठ्याराबीच नेपाली साहित्यको विकासमा समर्पित पारिजातको २०५० सालमा निधन भयो ।

इन्द्रबहादुर राई
नेपाली साहित्यको विकासमा पनि दार्जिलिङमा जन्मिएका नेपाली भाषीको योगदान विशिष्ट छ । नेपाली साहित्यमा परम्परावादी लेखनशैलीलाई परिवर्तन गर्ने उद्देश्यले सुरु भएको आयामेली आन्दोलनको नेतृत्व दार्जिलिङमा जन्मिएका साहित्यकाले नै गरेका थिए । २०२० सालमा भएको उक्त साहित्यिक आन्दोलनलाई नेपाली साहित्यको विशिष्ट उपलब्धिका रूपमा लिइन्छ । उक्त आन्दोलनको नेतृत्व गरेका साहित्यकार इन्द्रबहादुर राईको जन्म दार्जिलिङमा भएको थियो । १९८४ सालमा जन्मिएका राईले नेपाली कथा, उपन्यास, समालोचना र निबन्ध लेखनमा विशिष्ट योगदान पु¥याएका छन् ।

लैनसिंह वाङ्देल
बहुचर्चित उपन्यास ‘मुलुक बाहिर’का लेखक लैनसिंह वाङ्देलले नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिको जिम्मेवारीमा रहेर नेपाली साहित्यको विकासमा अतुलनीय योगदान पु¥याएका छन् ।

लीलाबहादुर क्षेत्री
त्यस्तै, बसाइँ’ उपन्यासका लेखक लीलबहादुर क्षेत्रीको जन्म भारतको असाममा भएको हो ।

चलचित्रकर्मीको योगदान
साहित्य र संगीतमाजस्तै नेपाली कला क्षेत्रको विकासमा पनि दार्जिलिङमा जन्मिएका नेपाली भाषीको योगदान अनुकरणीय छ । नेपाली चलचित्रमा अभिनयसँगै निर्देशनलाई अघि बढाएका र चलचित्रको माध्यमबाट नेपालीत्व विकास गर्न लागिपरेका कलाकार तुलसी घिमिरेको जन्म दार्जिलिङको कालिङपोङमा भएको हो । दक्षिणा, बलिदानजस्ता नेपाली मौलिक चलचित्र निर्माण गरेका घिमिरे अझै पनि नेपाली चलचित्रको उन्नयनका खातिर क्रियाशील छन् । त्यस्तै, घिमिरेले निर्देश गरेको चलचित्रमा अभियन गरेकी र धेरै नेपालीले रुचाएकी नायिक निरुता सिंहको जन्म पनि दार्जिलिङमा नै भएको हो ।

दार्जिलिङमा जन्मिएर नेपालको व्यावसायिक चलचित्रको विकासमा योगदान पु¥याएका चलचित्रकर्मी शम्भु प्रधानलाई पनि नेपाल र नेपालीले भुल्न सक्नेछैनन् । समाज सेवाका क्षेत्रमा पनि दार्जिलिङका नेपाली भाषीको योगदान महत्वपूर्ण छ । समाजसेवाको क्षेत्रमा विशिष्ट योगदान पु¥याएबापत सन् २०१० मा सीएनएन हिरोको उपाधि पाएकी अनुराधा कोइरालाको जन्म पनि दार्जिलिङको कालिङपोङमा भएको हो । उनी अहिले प्रदेश ३ को प्रदेश प्रमुखको भूमिकामा छिन् । खासगरी चेलीबेटी बेचविखनविरुद्धको अभियानमा काम गरिरहेकी कोइरालाले नेपाल र नेपालीको हितमा गरेको सत्कर्म प्रेरणादायी छ । यसबाहेक पनि थुप्र्रै दार्जिलिङका नेपाली भाषीले नेपालीत्वको पक्षमा विभिन्न सत्प्रयास गरेका छन् । दार्जिलिङका नेपाली भाषीको प्रयासले यो प्रस्ट्याउँछ, भूगोलभन्दा भावना ठूलो हुन्छ ।

बिमल नेपालले शिलापत्र डटकममा तयार पारेको रिपोर्ट हो ।

प्रतिक्रिया दिनुहोस