एउटै दृष्टि, भिन्न कोण

दोधारमा समाजवादीः सरकार छाड्ने या नछाड्ने

२०७६ जेष्ठ २७ गते सोमवार

काठमाडौँ । सरकारमै बसेर राजनीतिक मुद्दा उठाउने या बाहिरिएर आन्दोलनमा जाने भन्नेमा समाजवादी पार्टीभित्र दुई धार देखा परेको छ । सार्वजनिक रूपमा पार्टी अध्यक्ष उपेन्द्र यादव र परिषद् अध्यक्ष बाबुराम भट्टराईले सरकार छाडेर आन्दोलनमै जाने संकेत गरिरहेका छन् । अनौपचारिक तहमा भने यादव तत्काल सरकार छाड्ने मनस्थितिमा छैनन् । भट्टराई पार्टीले उठाएका राजनीतिक मुद्दालाई स्थापित गराउन सडक आन्दोलनमै जानुपर्ने पक्षमा छन् ।

यो रस्साकसी तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच वैशाख २१ गते एकीकरण हुनु अघिदेखिकै हो । एकीकरणपूर्व भट्टराईले सरकार छाड्नुपर्ने धारणा राखेका थिए । यादव तत्काल सरकार छाड्न तयार भएनन् । उनले संविधान संशोधनका लागि सरकारलाई निश्चित समयसहितको अल्टिमेटम दिने र त्यति समयसम्म संशोधन प्रक्रिया अघि नबढे मात्रै सरकार छाड्न उचित हुने भनी भट्टराईलाई सम्झाएका थिए । पार्टी एकीकरणपछि समाजवादी पार्टीले संविधान संशोधनका लागि सरकारलाई दबाब दिँदै आएको छ । उसले सात प्रदेशका ८ वटा सहरमा आयोजना गरेको कार्यकर्ता अभिमुखीकरण कार्यक्रममार्फत सरकारलाई दबाब दिएको थियो । पार्टी एकताको सन्देश दिन भनेर आयोजित ती कार्यक्रम शनिबार सकिएका छन् । यी सबै कार्यक्रममा अध्यक्षद्वय यादव र भट्टराईले संविधान संशोधन नभए सरकार छाडेर सडक आन्दोलनमा जाने चेतावनी दिएका थिए ।आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस