एउटै दृष्टि, भिन्न कोण

म्यानमारमा नेपालीभाषी अधिराजकुमारी !

२०७६ असार ३ गते मङ्गलवार
  • दिपक भट्टराई : Setopati 

ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’

म्यानमारको शान प्रदेशमा भेटिएकी थिइन्, ड खिन मान न्यू।उनले ठ्याक्कै यही त भनेकी थिइनन्। भनाइको आसय भने यस्तै थियो।

उनी नेपालीभाषी बर्मेली हुन्।

म्यानमारमा १४ प्रदेश छन्। शान सबैभन्दा ठूलो। टाउँज्जी यहाँको राजधानी। मैले दुई दिनसम्म टाउँज्जीका तीनवटा मन्त्रालय धाएर माइपान जाने अनुमति लिएको थिएँ। त्यही माइपानमा भेटिएकी हुन्, उनी।

मैले हात अघि सार्दै परिचय दिएँ। नेपालबाट आएको थाहा पाउनेबित्तिकै उनले खुसी हुँदै भनिन्, ‘आबुई गोर्खाली हो?’

उनले नेपाली भाषामै यति सोधेपछि के चाहियो?

नेपालभन्दा साढे चार गुना ठूलो म्यानमारमा म जहाँ जान्छु, त्यहाँका बर्मेली नेपाली भेट्नासाथ सोधिहाल्छु, ‘तपाईंको पुर्खा नेपालको कुन ठाउँबाट कहिले आएको?’

सुरु सुरुमा यसै सोध्थेँ। अहिले सोध्ने बानी परिसकेको छ।

खिन मा न्यूलाई भने सिधै यो प्रश्न सोधिनँ। मैले भनेँ, ‘माफ गर्नुहोस्, मलाई दरबारको चलन आउँदैन। तर, तपाईंसँग केही बेर गफ गर्न चाहन्छु। तपाईंको पुर्ख्यौली देशबाट आएको नाताले पनि तपाईंले नाइँ भन्न पाउनुहुन्न।

हो, दरबारको चलन!

नेपालीभाषी बर्मेली खिन मा न्यू म्यानमारको सबभन्दा ठूलो प्रदेश शानकी एक पूर्वअधिराजकुमारी हुन्। उनको विवाह शानका गद्दिच्यूत राजकुमारसँग भएको छ। उनी अहिले पनि त्यतिबेलाको दरबारमै बस्छिन्। मैले उनलाई त्यही दरबारमा भेटेको हुँ।

हिङ नभए पनि हिङ बाँधेको टालो भन्ने उखानजस्तै पूर्वअधिराजकुमारी भए पनि दरबारका केही औपचारिकता हुन्छन्। तेह्र वर्षअघिसम्म राजतन्त्र रहेको नेपालबाट आएको मेरो निम्ति नौलो कुरा होइन। त्यो दरबारी औपचारिकता मिचेँ भने मैले खोजेको र चाहेजति कुराकानी नहुनसक्छ भन्ने डर मेरो मनमा थियो।

यही डरका साथ माफीसहित कुरा थालेपछि पूर्वअधिराजकुमारी न्यूले भनिन्, ‘हुन्छ नि, म राजकुमारसँग कुरा गर्छु। तर, तिमीलाई बर्मेली भाषा आउँछ?’

मैले टाउको दायाँबायाँ हल्लाउँदै भनेँ, ‘नेने नेने (थोरै थोरै)।’

‘मेरो नेपाली ब्रोकन छ, त्यसो भए अंग्रेजीमा कुरा गरौंला,’ उनले भनिन्।

म तयार भएँ।

न्यूले हामीलाई दरबारको एउटा कोठामा लगिन्। त्यहाँ मझौला आकारको सुनौलो बुद्धमूर्ति थियो। पूर्व फर्केको झ्यालबाट छिरेको प्रकाशले मूर्ति टिलिक्क टल्केको थियो। झट्ट हेर्दा सुनकै हो जस्तो लाग्थ्यो।

मैले कोठामा सर्सती आँखा डुलाएँ। त्यहाँ हाम्रो कुराकानी हुन पाएन। मेरा सहकर्मीहरू भिडियो खिच्दै थिए। उनले मलाई अर्को कोठामा लगिन्। त्यो कुनै पनि रूपमा दरबारको कोठाजस्तो देखिन्थेन। पुरानो दराज। कोठाको वरपर तार बाँधेर जताततै झुन्ड्याइएका कपडा। ढोकाछेउ खाना पकाउने सानो भान्सा।

दरबारभित्रै यस्तो सामान्य कोठा देखेर त्यसैबारे कुरा सुरु गरूँ जस्तो लाग्यो। गरिनँ। त्योभन्दा अगाडि म्यानमारमा भेटेका सयौं नेपालीभाषी बर्मेलीलाई सोध्ने प्रश्नबाटै कुराकानी थालेँ– नेपालमा उनको पुर्ख्यौली घरका बारेमा।

‘नानी, मेरा बाजे नेपालबाट आएका बाहुन हुन्। कहाँबाट आए नसोध, मलाई थाहा छैन। उनले यतैका शानीसँग बिहे गरे,’ उनले भनिन्।

शानी भनेका शान देशका आदिवासी हुन्। यिनीहरू म्यानमारका अल्पसंख्यकमा पर्छन्। सके आफ्नो छुट्टै देश, नसके स्वायत्त शासनसहितको प्रदेशका लागि बर्मेली सेना र सरकारसँग सशस्त्र विद्रोह गरिरहेका छन्। त्यही विद्रोह देखाएर शान प्रदेश सरकारले विदेशीहरूलाई राजधानी टाउँज्जीबाहिर जान अनुमति दिँदैन।

‘गाउँमा आतंककारीले जे पनि गर्न सक्छन्,’ शानका मन्त्रीले मलाई यसै भनेका थिए।

मैले उनको भनाइ प्रतिरोध नगरी भनेँ, ‘म यहाँको स्थानीयजस्तै देखिन्छु। हजुरले अनुमति दिनुभयो भने बजारसम्म मात्र पुग्छु।

उनले अनुमति दिए। मेरो अनुमतिपत्रमा बजारको नामै किटान गरिएको थियो– लोइलुम, पेनालाङ, माइपान र लेचा।

‘तपाईंको नेपाली नाम के नि?’ मैले पूर्वअधिराजकुमारीलाई सोधेँ।

‘पार्वती देवी’

उमेर?

‘६१ वर्ष’

हरेकजसो नेपालीभाषी बर्मेलीका दुइटा नाम हुन्छन्। नेपालीभाषी मात्र किन? मुस्लिम, भारतीय बर्मेलीलगायत सबैको दोस्रो नाम हुन्छ। घरमा जे भने पनि स्कुल गएपछि हुने विभेद सम्झेर उनीहरू स्थानीय साथीभाइसँग मिल्ने नाम राख्छन्। कि अभिभावकले नै नयाँ नाम राखिदिन्छन्, नभए शिक्षकले।

पार्वती देवी पनि अपवाद थिइनन्।

‘बाको थर नि?’ मैले यहाँ भेटिने नेपालीलाई उनीहरूको जात र थर सोध्ने गरेको छु।

‘ओ बिर्सें पो नानी, क्षत्री हो। क्षत्रीको थर के हुन्छ?’

मैले आफूले सम्झेका केही थर भनेँ। उनले मैले भनेका कुनै थरमा सहमति जनाइनन्। आफू पनि सम्झन सकिनन्।

यो थर भन्ने गजबको हुन्छ। आफ्ना पुर्खाको थातथलो र थर थाहा भएका नेपालीभाषी बर्मेलीले आजभोलि फेसबुकमा त्यही थर खोजी खोजी आफन्त पत्ता लगाएका छन्। बर्मेलीका थर हुँदैनन्। चलनै त्यस्तै चलाए।

उनी भन्दै थिइन्, ‘मेरा बुवा भारतीय गोर्खा पल्टनका सिपाही हुन्। दोस्रो विश्वयुद्धका लागि यता आएका। यहीँ बिहे गरेर यतै बसे।’

‘म लोइलममा जन्मेँ, हुर्कें,’ उनले भनिन्, ‘टाउँज्जी गएर बिएडसम्म पढेँ। त्यसपछि श्यामा बनेर माइपानमा पढाउन आएँ।’

शिक्षिकालाई यहाँको भाषामा श्यामा भनिन्छ। यही क्रममा माइपानका राजकुमार उ साउ था थेनसँग उनको भेट भयो। विवाह भयो।

म्यानमारको यो दुर्गम भेगमा अहिले त अंग्रेजीमा राम्रो दख्खल भएका महिला देखिँदैनन्, पार्वतीको भने त्यो बेला नै अंग्रेजीमा राम्रो दख्खल थियो। अंग्रेजी साहित्यको राम्रो ज्ञान थियो।

‘उ साउ था थेनसँग कसरी भेट भयो?’

‘कति ठूलो छ र यो माइपान, स्कुलै एउटा त छ,’ उनले जवाफ दिइन्, ‘यहाँ आएका शिक्षक, डाक्टर, कुनै पनि सरकारी कर्मचारी दरबारका मान्छेका आँखामा परिहाल्थे, म पनि परेँ।’

मैले केही समयअघि मात्र गुगल गरेर शान दरबारका किस्सा र केही ऐतिहासिक दस्तावेज पढेको थिएँ। बेलायती उपनिवेश भोगेको शानको दरबारमा अंग्रेजी भाषा जानेकाहरूले कस्तो सम्मान पाउँथे भन्ने थौरै ज्ञान मैले पाइसकेको थिएँ।

‘म बिहे गरेर आउँदा त यो दरबारमा शक्ति थिएन नि नानी,’ पार्वती देवीले थपिन्।

यहाँका अन्तिम राजा साओ साम टुनको हत्या जनरल आङ साङसँगै म्यानमारको राजधानी रंगुनमा भएको थियो। नेतृ आङसाङ सूचीको मात्र होइन, जनरल आङ साङ म्यानमारकै राष्ट्रपिता हुन्। भारतमा जसरी महात्मा गान्धीलाई पुजिन्छ, यहाँ उसैगरी जनरल आङ साङलाई सम्मान गरिन्छ।

त्यतिबेला अंग्रेजी उपनिवेशविरुद्ध लडेर देश स्वतन्त्र हुने निश्चित भइसकेको थियो। जनरल आङ साङको नेतृत्वमा तत्कालीन बर्मामा अन्तरिम सरकार गठन भएको थियो। त्यो अन्तरिम सरकारमा देशभरका राजारजौटाको प्रतिनिधित्व गर्दै साओ साम टुन मन्त्री बनेका थिए।

सन् १९४७ जुलाई १९ मा जनरल आङ साङसँगै नौ जना मन्त्रीको मन्त्रिपरिषद बैठक बसिरहेका बेला हत्या भयो। त्यसैमा मारिनेमध्ये एक थिए, यिनै पार्वती देवीका ससुरा पूर्वराजा साओ साम टुन।

‘उसले धेरै वर्ष राज गर्न त पाएन नि,’ पूर्वअधिराजकुमारीले भनिन्, ‘४० वर्षको उमेरमै उसको हत्या भयो।’

मैले पछि गुगल गरेर पत्ता लगाएँ, उनका ससुरा साओ साम टुनले १८ वर्ष शासन गरेका रहेछन्।

‘त्यसपछि त यो दरबार ओरालो लाग्यो, त्यसैले होला कि राजकुमारले मलाई बिहे गरेको,’ उनले भनिन्।

यसबारे मैले माइपानका राजकुमार उ साउ था थेनको पनि विचार जान्न चाहेँ।

‘त्यो समय माइपानमा पढेलेखेकी केटी भेट्न मुश्किल थियो। अंग्रेजी जान्ने त झन् कोही थिँदै थिएन भन्दा हुन्छ,’ राजकुमारले भने, ‘खिन मान न्यूको अंग्रेजीमा राम्रो ज्ञान थियो। अंग्रेजी साहित्यमा पनि रुचि राख्थिन्। हाम्रो मन मिल्यो। बिहे भयो।’

उनीहरुको प्रेम र बिहेको कुरा सुन्दासुन्दै मैले पार्वतीलाई सोधेँ, ‘तपाईंको बाबाआमाको बारेमा नि भन्नु न।’

‘मेरो बाउ त फौजबाट रिटायर भएपछि कपडा व्यापारमा लागेको थियो,’ उनले सुनाइन्, ‘खुट्टा नचल्ने बिरामी भयो। उपचार गर्न भारत गएको फर्केरै आएन।’

‘चिठ्ठी पत्र?’

‘खोई उतै सानिमा बिहे गरेर बसेको भन्ने सुनियो। म २० वर्षको हुँदासम्म त चिठी आउँथ्यो। पछि त बाउ पनि खस्यो। छुटिगो नि,’ उनले भनिन्, ‘आमाले व्यापार, खेती गरेर मलाई र बहिनीलाई हुर्कायो। अहिले त आमा पनि छैन। बहिनी पनि ज्वाईं खसेपछि एक्लै छ।’

‘ए हे, अनि तपाईंको नेपाली भाषा त कस्तो राम्रो लाग्यो,’ मैले उनको नेपाली बोलीमा प्रतिक्रिया दिएँ।

मैले करबल गरेपछि पार्वती देवी नेपालीमै बोल्न थालेकी थिइन्। दुई घन्टाको बसाइमा पछिल्लो १५ मिनेट त नेपालीमै बोलेर अन्तर्वार्ता रेकर्ड गराइन्।

माइपानमा दुई घर छ नेपालीभाषी बर्मेलीको। एक जनाले चियाको दोकान गरेको छ। अर्को घर देवीको हो। देवी श्यामा (शिक्षिका) छिन्। पार्वती उनीहरूसँग कहिलेकाहीँ नेपालीमै बोल्छिन्। फर्रर बोल्न सक्दिनन्। उनीहरू पनि सक्दैनन्। अक्मकिन्छन्।

‘मर्यादा मिलाएर बोल्न जान्दैनौं हामी,’ उनले भनिन्।

‘यहाँ पहिलेदेखि नै नेपालीभाषीहरू यति थोरै कि?’ मैले सोधेँ।

त्यहाँ नेपालीभाषीको संख्या पहिले तीन–चार सय घर भएको मलाई जानकारी थियो। तै उनलाई सोध्न मन लाग्यो।

‘होइन नि, पहिला त नेपालीहरूको गाउँ थियो। बर्मामा सन् १९६२ देखि सेनाको शासनसँगै सबै सम्पत्ति सरकारीकरण भयो। यतातिर बर्मेली सेनाविरुद्ध शानीहरूले सशस्त्र विद्रोह गर्न थाले। दुवैको चेपुवामा परेपछि कति नेपाली आफ्नो देश फर्के। कति भारत गए। कति सहरतिर गए। यता त कोही कोही मात्र पो बाँकी रह्यो,’ उनले विस्तार लगाइन्।

म्यानमारमा कुनै समय तीन लाखभन्दा धेरै नेपालीभाषी थिए। सरकारी तथ्यांकले अहिले एक लाखभन्दा कम देखाउँछ। पूर्वराजकुमारीले पनि नेपालीहरू खेतीपाती, पशुपालन गर्दै म्यानमारमा बसेको र विस्तारै व्यापारतिर लागेको बताइन्।

मैले फेरि उनलाई दरबारतिर फर्काउन चाहेँ, ‘अहिले पनि राज्यले सेवा सुविधा दिन्छ होला नि तपाईंहरूलाई, पूर्व राजपरिवार भनेर?’

‘कहाँ दिनु। कहिलेकाहीँ ठूला सभा–सम्मेलनमा भाग लिन जाँदा मात्र दिन्छ। राजाको सन्तान भए पनि के गर्नु? सुसारेहरू कोही छैनन्। हामी धेरै पैसावाला हैन। गरिब भयो नि, राजाको सन्तान भनेर के गर्नु?’ उनले भनिन्।

दरबारको हालत उनको भनाइसँग मिल्थ्यो। मैले सुरुमै देखेको त्यो अतिसामान्य कोठा दरबारको यथास्थिति बुझ्न पर्याप्त थियो। भत्कँदै गएका दरबारका अरू कोठा, पर्खाल र भर्याङ मेरा सहकर्मीहरूले बर्मेली भाषामा बन्दै गरेको डकुमेन्ट्रीका लागि खिच्दै थिए।

‘२० वर्ष त अझै टिक्छ भनेको छ यो दरबार,’ पार्वती देवीले भनिन्, ‘कति ठूलो बगैँचा थियो, सुसारे घरहरू थिए, आधा त बेचेर खाइसकियो।’

उनका अनुसार राजाका जेठा सन्तान अस्ट्रेलियामा बसाइँ सरेछन्, सैनिक शासनकै बेला। माइलो भने म्यानमारको पुरानो राजधानी यंगुन गएर बसेछन्। कान्छा पूर्वराजकुमार र यी नेपालीभाषी बर्मेली अधिराजकुमारी अंग्रेजी भाषामा ट्युसन पढाएर जिन्दगी बिताउँदै छन्।

‘६०, ७० जना विद्यार्थी छन्। मैले मात्र हैन, पूर्वराजकुमारले पनि अंग्रेजी ट्युसन पढाउँछ। त्यसैले जिन्दगी चलेको छ,’ पार्वती देवीले खुसीसाथ हाँस्दै भनेकी थिइन्।

‘धनको गरिब मात्रै हो,’ पूर्वअधिराजकुमारीले छुट्टिने बेला थपिन्, ‘ठ्याक्कै कहाँ पढेको सम्झना छैन, बूढी पनि त भएँ। पढेको कुरा भने यस्तो थियो– जबसम्म हामी आफ्नो इतिहास बताउन सक्छौं, जबसम्म हाम्रा कथा बाँकी रहन्छन्, तबसम्म हामीलाई कसैले पराजित गर्न सक्दैन। जब हामी इतिहास बिर्सन्छौं, हाम्रा कथा सकिन्छन्, त्यसपछि हामीलाई कसैले पराजित गर्नै पर्दैन, हामी आफैं सकिन्छौं।’

उनले ठ्याक्कै यही त भनेकी थिइनन्। भनाइको आसय भने यस्तै थियो।

‘अबो त हामी सकिनु लाग्यौं,’ उनले कुरा टुंग्याइन्।

प्रतिक्रिया दिनुहोस