एउटै दृष्टि, भिन्न कोण

आउनुहोस् संगै मिलिजुली नेपाल बनाऔं !

२०७६ असार १० गते मङ्गलवार
  • बिष्णुप्रसाद जोशी

बझाङ, काठमाडौं, भारतसम्म पढ्नकै लागि कति दुःख गरे । जीवन यात्रा रहेछ । समयले साथ जीवनको बारेमा किताब लेख्नेछु । त्योबेला बिर्सिए सबै कुरा उडे, लामो यात्रामा उडे…

घन्टौंको यात्रापछि जहाज अमेरिका पुग्यो।

अमेरिका अर्थात् सपना र अवसरहरूको देश। न्युयोर्कका गगनचुम्बी भवनमाझ सेन्ट्रलपार्क बगैंचा। शहरीकरण र प्रकृति संरक्षणको अतुलनीय समिश्रण।

केही दिनअघि काठमाडौंको धुलो र धुँवा खाएको मान्छेलाई त यहाँका गल्ली नै पार्क-उद्यानझैं लागे।

सबैजना नियम-कानुन पालन गर्छन्, इमानदारी, पारदर्शिता र कर्तव्य परायणता त मानौं यहाँको माटो र हावामै छ। विकसित देशको व्यवस्थित शहरीकरण, सुशासन र उद्यमशीलतालाई टपक्कै टिपेर नेपालमा लान पाए नि हुन्थ्यो!

केही वर्ष अमेरिकामा पढ्दै/पढाउँदै बिते। ऋण तिरियो, विवाह गरियो। भाइलाई काठमाडौंमा घर किन्न मद्दत गरियो।

मेरो परिवारको हालत पहिलाभन्दा राम्रो भयो। तर देशको हालत अझै उस्तै छ।

व्यक्तिगत रूपमा सफल भए पनि देशको हालतदेखि मन खिन्न हुन्छ। देश कसरी सम्वृद्ध बनाउने? गरीबी कसरी हटाउने? भन्ने चिन्ताले दिनरात पिरोल्छ। मातृभूमि र आमाबुबाको काखबाट टाढा बस्नुपर्दा आफ्नो गाउँ-ठाउँ अनि देशको माया झन धेरै लाग्दो रहेछ!

अहिले मेरासामू दुई विकल्प छन्। मेरा प्रोफेसरले भनेजस्तै अमेरिकामै सेटल हुने वा अमेरिकी संसारलाई तिलाञ्जली दिएर नेपाल फर्किने।

मेरा प्रोफेसरले भनेजस्तै मैले सबै विकल्प खुला राखेको छैन, नेपाल फर्किने सोच बनाइसकेको छु।

बिनिशा श्रेष्ठ र राजेन्द्रप्रसाद पंगेनीजस्ता युवा नेपाल फर्कौं महाअभियानमा छन्। आफ्नो विद्वता साधन-स्रोतलाई स्वेदशमै परिचालन गरी उद्यमशीलताको नमूना अनि  रोजगारी सृजना गर्न चाहने युवालाई प्रवर्द्धन गर्ने पूर्वाधार निर्माणमा जुटेका छन्।

बिनिशा भन्छिन, ‘विदेश पठाउने सयौं संघसंस्था छन्। तर नेपाल फर्की आफ्नै देशमा केही गरौं भन्ने चाहना भएका नेपालीलाई फेरि नेपालमै स्थापित हुन सहयोग गर्ने, उनीहरूका  अधिकार सुरक्षित गर्ने, उद्योग-व्यवसाय दर्ताको प्रक्रिया सहज बनाउन मद्दत गर्ने संस्थाको रूपमा नेपाल फर्कौं महाअभियानलाई विकसित गर्दै लैजाने हाम्रो लक्ष्य हो।

राजेन्द्र दाइ भन्नुहुन्छ-आफ्ना व्यक्तिगत महत्वाकांक्षा त्यागेर, आफ्नै गाउँ फर्कौं र सामूहिक योगदान गरौं।

बिनिशा र राजेन्द्र दाइजस्ता दृढ़ संकल्पित युवाबाट अब देशलाई ठूलो आशा छ। म पनि नेपाल फर्कौं अभियानमा ठूलो सम्भावना देख्छु।

नेपालीहरू जहाँ भए पनि मन नेपाली नै हुन्छ।  भौतिक रूपमा सबैजना नेपाल फर्किन नसके/नचाहे पनि विदेशमा भएका लाखौं नेपालीहरूमा देशको लागि केही गर्ने भावना ओतप्रोत छ।

उनीहरूसँग साधन, स्रोत र पुँजी छ तर आफ्नै गाउँ-ठाउँमा त्यो पुँजी परिचालन गर्न समय र स्थान छैन।

अर्कातिर गाउँ-घरमै केही गर्न चाहने युवा छन् जोसँग समय र जोश-जाँगर त छ तर  स्रोत साधन र पुँजी छैन।

अब परदेशिएका युवाले  विदेशमा कमाएको पुँजीलाई आ-आफ्नै गाउँ-ठाउँ मा रेमिट्यान्समात्र नपठाएर गाउँमा भएका युवालाई रोजगारीसमेत  हुने गरी लगानी गर्ने सञ्जाल बनाउनु पर्छ।

अब नेपालमा आर्थिक विकास गर्न देशविदेशका नेपालीबीच कस्तो हातेमालो हुनुपर्छ भन्नेबारे मध्यपूर्वमा कार्यरत दीपक उप्रेतीको यो कविता सान्दर्भिक छ।

तिमीलाई थोरै ज्ञान छ भने

आफ्नै घरको ध्यान छ भने।

तिमी गर्ने कोशिस गर

कठिन परे म सघाउँछु।

तिमी कर्मयोगी बन्छौ भने

आफ्नै खेतबारीमा रम्छौ भने।

तिम्रै खेतको कान्लोसम्म

बिजन बोकी म आउनेछु।

तिम्रो बाली फल्यो भने

भकारी नी भर्‍यो भने।

बजारसम्म लैजानलाई

भरिया लिई म आउनेछु।

देशमा उद्यमशीलता प्रवर्द्धन, रोजगारी सृजना, अनि भ्रष्टाचार उन्मुलन गर्न व्यक्तिगत, सामूहिक प्रयासका साथै सक्षम नेतृत्वको पनि आवश्यकता पर्दछ।

राज्यकोष संकलन र वितरणमा पारदर्शिता अवलम्बन गर्न यी सेवाहरूलाई क्रमशः डिजिटल बनाई, आमजनताले हेर्ने पाउने गरी प्रकाशित गरिनुपर्छ।

स्कुल, कलेज, विश्वविद्यालय, गुठी, अस्पताल, अख्तियार दुरूपयोग अनुसन्धानजस्ता संस्थालाई राजनीति अनि विभिन्न दलीय संगठनमुक्त बनाइनु पर्छ।

राजनीतिले हाम्रो जीवनको हरेक पाटोलाई रंगाइदिएको छ भने अब हामीले यसलाई फोहोरी खेल भनेर टाढा बस्ने स्थिति छैन।

सड़कमा गई बन्द-हडताल गरौं भनेको होइन। सबैलाई सक्रिय रूपमा राजनीति गर्नुस् पनि भनेको होइन, तर अब वैचारिक रूपमा हामीले चासो देखाउनै पर्छ।

सुशासन र निष्पक्षताको प्रवर्द्धन हुनैपर्छ।

देश बदल्नु छ भने अब हामी सबै नेपालीले राजनीतिक आस्थामा स्वतन्त्र भई हाम्राभन्दा राम्राको चयन गर्नै पर्छ। अब सुसंस्कृत र मूल्यमान्यताको वैकल्पिक राजनीति गर्न चाहने सचेत नागरिक एकै छातामुनि उभिनु जरूरी छ। खासगरी युवाले अब सचेत हुनु जरूरी छ। अब पनि हामी सचेत भएनौं भने नयाँ पुस्ताका ‘मदन’हरूको पनि भोट जानु पर्ने नियति फेरिने छैन।

छान्ना, बझाङ

हाल: विद्यावारिधि(रसायनशास्त्र)

युनिभर्सिटी अफ म्यासचुसेट्स

प्रतिक्रिया दिनुहोस