एउटै दृष्टि, भिन्न कोण

सरकारी खर्चमा आइफा किन : साझा पार्टी

२०७६ असार १५ गते आइतवार

साझा पार्टीले एक विदेशी निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको फिल्म अवार्ड समारोहको सम्पूर्ण खर्च सरकारले बेहोर्ने खबरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

मन्त्रिपरिषद निर्णयमार्फत ४४ करोड रुपैयाँ आइफा आयोजनाका लागि दिने र आगन्तुकका सम्पूर्ण खर्चसमेत सरकारले नै बेहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको साझा पार्टीको ठहर छ।

गत साता बसेको मन्त्रिपरिषद बैठकले ‘इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०१९’ काठमाडौंमा गर्न स्वीकृत प्रदान गरेको थियो।

‘यसअघि विभिन्न मुलुकमा भएका यही कार्यक्रमका लागि त्यहाँका सरकारी तहबाट कुनै प्रकारको आर्थिक सहयोग नरहेको समेत जानकारीमा आएको छ,’ साझा पार्टीद्वारा आइतबार जारी विज्ञप्तिमा छ।

निजी संस्थाको कार्यक्रमका लागि बिनाऔचित्य करोडौं खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकाले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टीले आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस