एउटै दृष्टि, भिन्न कोण

समातिए किर्ते कागजात बनाएर स्थानीय सरकारको काम गर्ने कांग्रेस नेता

२०७६ साउन १२ गते आइतवार

ओखलढुंगामा गैरकानुनी रुपमा स्थानीय सरकारको काम गर्ने एक व्यक्ति पक्राउ परेका छन् । निर्वाचित वडा सदस्यको नाममा कार्यबहाक अध्यक्ष उल्लेख गरी कीर्ते हस्ताक्षर गरेर काम गर्ने सुनकोशी गाउँपालिका ९ ककनीका कर्णबहादुर तामाङलाई काठमाडौंबाट पक्राउ गरिएको हो ।

उनलाई बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ गरी बिहीबार नै जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जिल्लप्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक (डिएसपी) पुष्पराज मल्लका अनुसार तामाङबिरुद्ध सरकारी कागजात कीर्ते सम्वन्धि मुद्दा चलाइएको छ । पक्राउ परेका तामाङ स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यका उम्मेदवार बनेका थिए । निर्वाचनमा पराजित भएपनि उनले वडा कार्यालयले दिने सबैजसो सिफारीससहितका कागजातहरुमा हस्ताक्षर गरेर दिने गरेको पाइएको छ ।

उनले सुनकोसी गाउँपालिका ९ को छाप, लेटरप्याड, मालपोत रसिद लगायतका सबै सरकारी कागजात कीर्ते गरेर स्थानीयसँग अवैद्य रुपले सेवा शुल्क भन्दै रकमसमेत असुल्ने गरेको प्रहरीले बताएको छ । तामाङले सर्जिमन मुचुलका, वडा कार्यालयका विभिन्न निर्णय भएको भनि फर्जि सिफारिसलगायत काम समेत गरेको पाइएको छ । ती सबै कागजातहरुमा कार्यावाहक वडाध्यक्ष भनेर धनबहादुर तामाङ र टंकबहादुर कटवालको नाम उल्लेख छ । तामाङ र कटवाल दुवै उक्त वडाका वडा सदस्य हुन् । कीर्ते कागजातबाट मालपोतमा जग्गा कारोबार भइरहेको सुचना पाएपछि स्थानीयले वडा कार्यालय र प्रहरीमा खबर गरेपछि उनको धन्दा बाहिर आएको हो ।

उनीहरुको नाममा कीर्ते काम गरेको भेटिएपछि दुवै वडा सदस्यले आफ्नो नाममा कीर्ते भएको भन्दै वडा कार्यालय मार्फत प्रहरी र प्रशासनमा उजुरी दिएका थिए । यसअघि सोही मुद्दामा स्थानीय ४४ वर्षीय पञ्चबहादुर तामाङ र अम्बरबहादुर तामाङ पक्राउ परिसकेका छन् । प्रहरीले कर्णबहादुरको अगुवाइमा सबै कागजात कीर्ते गरेर १ जेठ २०७६ मा अम्बरबहादुर तामाङको नाममा जग्गा पास भइसकेको पाइएको बताएको छ ।

पञ्चबहादुर तामाङले जग्गा कारोबार गर्न मालपोत पुगेपछि घटना सार्वजनिक भएको थियो । सरकारी कागजात कीर्ते गरी जग्गाको समेत कारोबार गरेको आरोपमा दुई जना पक्राउ परेपछि मुख्य अभियुक्त कर्णबहादुर फरार भएका थिए । पक्राउ परेका दुवै जनाले सबै कागजात कर्णबहादुरले मिलाएको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस