एउटै दृष्टि, भिन्न कोण

आन्दोलनमा युवा, नेतृत्वमा खै युवा !

२०७६ साउन १२ गते आइतवार
  • ध्रुव ढकाल

विश्वभर छरिएर रहेका युवा साथीहरू जति पनि हुनुहुन्छ, उहाँहरूले देख्नुभएको होला, हाम्रो देशमा जस्तो प्राकृतिक स्रोत–साधन कुनै पनि देशमा छैन । नेपाल भूपरिवेष्टित हुनु नै आर्थिक विकासमा पछि पर्ने कारण हो भन्ने कतिपयको तर्कमा पनि सहमति हुन सकिन्न । भूपरिवेष्टित देश भन्ने एउटा समय थियो, जुन समयमा समुद्रबाट मात्रै सामान ल्याउने गरिन्थ्यो, त्यो समयमा यो तर्क ठीकै थियो । तर, अब यो तर्कमा सहमत हुन सकिँदैन । धेरै भूपरिवेष्टित देशले अकल्पनीय विकास गरिसकेका छन् । जलस्रोतमा पनि हामी धनी छौँ । त्यसको सदुपयोग गरेर देश विकास गर्ने वातावरण निर्माण गर्नेमा अब राजनीतिक दलबीच प्रतिस्पर्धा हुनुपर्छ ।

अहिले हामी जुन अवस्थामा नेपालको राजनीतिमा सहभागी भएका छौँ, त्यहाँबाट उठ्न जरुरी छ । विकासका लागि स्रोत–साधन र सामथ्र्य पत्ता लगाउने र परिचालन गर्ने विधि भए पुग्छ । अब यस्तो विधिको विकास गरेर लागू गर्ने राजनीति चाहिन्छ । वैधानिक शक्ति आर्जन गर्दा, सरकारमा गएर विधि बनाउन र लागू गर्न केही सजिलो हुन्छ तर त्यसो हुन सकेन भने पनि त्यसका लागि दबाब दिन कसैले रोक्न सक्दैन । तर, हामीकहाँ अहिलेसम्मको राजनीतिक अभ्यास यस्तो छैन । त्यसैले अब यस्तो अभ्यासको विकास पनि गर्नुपर्छ । हामीले सधैं सुन्दै र पढ्दै आएका छौं, युवा भनेका देशका कर्णधार हुन् ।

साहस, आँट र उर्जा भएका जनशक्ति हुन । तर युवाको परिभाषा र वास्तविकता बीचको खाडल प्रशान्त महासागरको क्षेत्रफल सरह छ । कारण हो, नेपाली राजनीतिप्रतिको वितृष्णाले युवा वर्गको मानसपटलमा परेको नकारात्मकता । तर नेपालको परिपाटी र अवस्थालाई नियाल्दै युवाले राजनीतिलाई बेवास्ता गर्ने हो भने देशको अस्तित्व नै धरापमा पर्नसक्छ । हामीले बुझ्नुपर्छ कि युवामा हरेक समस्याको समाधान गर्ने क्षमता हुन्छ तर तत्परता हुनुपर्छ । विश्व इतिहासको पाना पल्टाएर हेरौं न, चाहे बेलायतबाट सुरू भएको औधोगिक क्रान्ती होस् वा रूसको अक्टोबर क्रान्ती वा इटालीमा आरम्भ भएको पुनर्जन्म युग नै किन नहोस्, सबै क्रान्ति युवाको सहभागितामा मात्र सफल भएका छन् ।

त्यतिमात्र होइन नेपालमा भएका परिवर्तनका आन्दोलन युवाहरूको ९० प्रतिशत उपस्थितिले सम्भव भएको हो । नेपालमा भएका परिवर्तनका प्रत्येक आन्दोलनमा युवाहरुको ९० प्रतिशत उपस्थिति रहेको छ । त्यो २००७ सालको होस् वा २०३६ को जनमत संग्रह होस् वा २०४७ को प्रजातान्त्रिक आन्दोलन होस् वा २०६२ र ६३ सालको जनान्दोलन नै किन नहोस्, प्रत्येक आन्दोलन चाँडै कम क्षतिमै निष्कर्शमा पुगेका छन् । त्यो सबै युवाहरुको उपस्थितिले गर्दानै सम्भव भएको हो । ती सबै परिवर्तनका आन्दोलनपछि देशले स्थायीत्व नपाउँदा र राजनीतिक नेतृत्वमा युवाको सहभागिता नहुँदा युवाहरुमा चरम निरासा छाएको छ ।

नेपालमा अधिकांश युवा नेता ५० वर्षभन्दा बढी उमेर समुहका छन् । जबकी विकसित राष्ट्र नर्वेको अवस्था हेर्ने हो भने अधिकांश व्यक्तिले महत्वपूर्ण जिम्मेवारी ४० देखि ५० को उमेर समुहमा प्राप्त गर्छन् । ५० देखि ६० वर्षको उमेर पुग्दै गर्दा अवकाश लिई सक्छन् । तर, नेपालका मुख्य राजनीति दलको अवस्था हेर्ने हो भने ४० देखि ५० वर्षको उमेर सम्म युवा विद्यार्थी राजनीतिमा सरिक हुन्छन् । नेपालको राजनीतिक चरित्र हेर्दा नेतृत्वमा पुग्नको लागि २० देखि ३० वर्षसम्म लाग्ने गर्छ जबकी त्यो समयसम्म त्यो व्यक्ति ६० वर्ष पार गरिसकेको हुन्छ । प्रजातान्त्रिक आन्दोलन होस वा २०६२–०६३ सालको जनआन्दोलन वा माओवादीले चलाएको १० वर्षे जनयुद्ध नै किन नहोस् सबै आन्दोलन वा परिवर्तन युवाको मुख्य उपस्तिथिमा मात्र सम्भव भएको हो ।

प्रतिक्रिया दिनुहोस