एउटै दृष्टि, भिन्न कोण

हामफाल्दै मर्दै भ्रष्टाचार आरोपी !

२०७६ साउन १३ गते सोमवार

बदनाम भ्रष्टाचार काण्डमा आरोपित दुईजनाले हामफालेर ‘आत्महत्या’ गरेका छन् । बालुवाटारको ललिता निवास जग्गामा मुछिएका डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन सुब्बा युक्तप्रसाद श्रेष्ठले आइतबार माछापोखरीको अग्लो भवनको आठौं तल्लाबाट हामफालेर आत्महत्या गरेका छन् ।

साउन ३ गते मात्र त्रिभुवन विश्वविद्यालय सेवा आयोगका रामबहादुर पाण्डेले त्रिपुरेश्वरको अग्लो भवनको पाँचौं तल्लाबाट हाम फालेर आत्महत्या गरेका थिए ।

उनीहरुले जीवनमा कहिल्यै सोचेका थिएनन् कि यसरी आत्महत्या गर्नुपर्छ भनेर । जब उनीहरुलाई भ्रष्टाचारको अभियोग लाग्यो, त्यसरी अभियोग लाग्नु नै उनीहरुको लागि सही सक्नु भएन । शायद उनीहरुले जीवन जीउनुको औचित्य समाप्त भएको निष्कर्ष निकालेर आत्महत्या गरे ।

भ्रष्टाचारको अभियोग लागेका दुवैजनाले आत्महत्या गरेपछि अब उनीहरुले गरेको भनिएको अपराधको पनि समाप्ति भएको छ । कानुनले अन्य कुनै व्यवस्था नगरेसम्म उनीहरुले जतिसुकै भ्रष्टाचार गरेर कमाएको पैसा, सम्पत्ति भए पनि अब त्यो परिवारको नाममा हस्तान्तरण भइसक्यो ।

अहिलेकै कानूनले जति करोड भ्रष्टाचार गरेको भए पनि अब उनीहरुले कमाएको सम्पत्तिमाथि कुनै कारवाही हुन सक्ने कुरा भएन ।

भ्रष्टाचार गरेर सात पुस्तासम्मलाई सम्पत्ति थुपार्ने गर्छन् भन्ने जुन भनाइ छ, अब त्यो तिनीहरुमा लागु भइसक्यो । ती दुवै जनाले आत्महत्या गरिसकेकाले उनीहरुको अनुसन्धान बन्द हुन्छ र अब उनीहरुको सम्पत्ति पूर्णरुपमा जोगिइसकेको छ । यद्यपि यो लेखले उनीहरुको परिवारलाई कुनै मानसिक क्षति नपुगोस् । किनभने उनीहरु दुवैजना अदालतबाट भ्रष्टाचारी प्रमाणित भइसकेका थिएनन् ।  See more

प्रतिक्रिया दिनुहोस