एउटै दृष्टि, भिन्न कोण

नेपाली फिल्मको अमिताभ बच्चन !

२०७६ साउन १४ गते मङ्गलवार

नेपाली फिल्मका महानायक राजेश हमाललाई भारतीय मिडियाले बलिउड अभिनेता अमिताभ बच्चनसँग दाँजेको छ । भारतको सबैभन्दा विश्वासिलो अनलाइन मानिने आजतकका लागि पत्रकार प्रिया शान्डिल्यले लेखेको समाचारमा उनलाई ‘नेपाली फिल्मको अमिताभ बच्चन’ भनिएको छ । समाचारमा हमालको निकै तारिफ गरिएको छ । उनको फिल्म करिअरदेखि बैबाहिक जीवनसम्मको चर्चा गरिएको छ । नेपाली फिल्ममा अमिताभ बच्चनको रुपमा चर्चित अभिनेता राजेश हमाल भारतीयका लागि खासै परिचित अनुहार होइनन् । तर, राजेश नेपालका एक यस्ता सुपरस्टार हुन, जसलाई त्यहाँको महानायकको उपाधि मिलेको छ । ५५ वर्ष उमेरका राजेशको चार्म नेपालमा त्यस्तै छ, जुन भारतमा अमिताभ र शाहरुख खानजस्ता कलाकारहरुको छ, आजतकले लेखेको छ ।

सन् १९८८ मा आएको फिल्म युगदेखि युगसम्मबाट अभिनेता हमालले नेपाली फिल्ममा डेब्यू गरेको जानकारी दिँदै अगाडि लेखिएको छ, आफ्नो पहिलो फिल्मबाट राजेशले दर्शकको मनमा गहिरो छाप छाडेका थिए । यसपछि उनले देउता, बसन्ती, हामी तीन भाई, गिरफ्तार, कर्मयोद्धा, शकुन्तला लगायतका फिल्ममा आफ्नो अभिनयको जादू छरेका छन् । हमालको अध्ययन र अभिनयको सफर निकै कष्टकर रहेको समाचारमा उल्लेख छ । राजेशका पिता चुडाबहादुर हमाल राजदूत थिए । त्यसबेला नेपालमा अभिनयलाई निकै सानो कामको रुपमा हेरिने गरिन्थ्यो, आजतकका लागि प्रियाले अगाडि लेखेकी छन, फिल्ममा आउनका लागि उनले परिवारको निकै विरोध सहनु परेको थियो । उनका पिताले कहिले उनलाई अभिनयका लागि सहमति दिएका थिएनन् । उनले आफ्नो पिताको अन्तिम संस्कारमा परम्परालाई नमान्दै आफ्नो शिर समेत मुण्डन गरेका थिएनन् ।

हमालको लभ लाइफको पनि चर्चा गर्दै आजतकले लेखेको छ, राजेश हमालले आफूभन्दा २२ वर्ष कान्छी मधु भट्टराईसँग विवाह गरेका हुन् । दुईको लभस्टोरी निकै रोचक छ । दुईको पहिलो पटक सन् २००४ मा आयोजित लक्स ब्यूटी स्टार कार्यक्रममा भेट भएको थियो । लामो समय एकअर्कालाई डेट गरेपछि सन् २०१४ मा दुईले विवाह गरेका थिए । भारतमा अमिताभ बच्चनको जस्तै लोकप्रियता राजेश हमालको नेपालमा रहेको समाचारमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस