एउटै दृष्टि, भिन्न कोण

आफ्नालाई अगाडि बढाउन प्रचण्डभन्दा वर्षमान माहिर !

२०७६ साउन १५ गते बुधवार

२०६३ को राजनीतिक परिवर्तनका अगुवाहरू देश र जनताको जीवनलाई भन्दा आफूहरूको निजी जीवनलाई सुखमय बनाउने उद्देश्यबाट प्रेरित भएर आन्दोलनमा सहभागी भएका रहेछन् भन्ने तथ्य तिनका व्यवहारबाट सिद्ध हुँदै गएका छन्। आम्दानीका सबै महुानहरूमा कब्जा जमाउँदै आएका केही नेताहरू आफ्ना परिवारिक उत्थानका निम्ति कतिसम्म समर्पित छन् भन्ने पछिल्लो उदाहरण प्रचण्ड र वर्षमान पुनले दिएका छन्।

एक समयका ‘बदनाम’ गिरिजाप्रसाद कोइराला र शेरबहादुर दउवाहरूलाई समेत छायामा पार्ने गरी कम्युनिष्ट नेताहरूले आफन्त, नातेदार परिवारका सदस्यहरूलाई मौका उपलब्ध गराएका छन्। नेकपाको सहअध्यक्षसमेत रहेका प्रचण्डले अवलम्बन गरेको पथलाई धेरै कम्युनिष्ट नेताहरूले पछ्याउन खोजेको भए पनि यस मामिलामा अहिलेसम्म वर्षमान पुन अग्रपङक्तिमा देखिएका छन्। प्रचण्डले आफ्ना छोराहरू ज्वाइँहरू बुहारी भाइ भतिजा र नजिकका आफन्तहरूलाई खोजीखोजी राज्य दोहनमा सहभागी गराएका छन् प्रचण्डको देखासिकी गरी वर्षमानले पनि आफ्नी पत्नी, बहिनी, ज्वाइँ, भाइभतिजा, सालासालीलगायत नातेदार‍हरूलाई अनेक अवसर उपलब्ध गराइदिएका छन्।

वर्षमानपत्नी ओनसारी घर्ती यसअघि सभामुख थिइन् भने अहिले उनलाई नेकपाको प्रदेश प्रमुख बनाइएको छ। उनकी एक बहिनीलाई रोल्पा नगरपालिकाको उपमेयर बनाइएको छ भने अर्की बहिनीलाई ललितपुरबाट सांसद पद दिइएको छ। काकाको छोरालाई मन्त्रीको स्वकीय सचिव सालीलाई संसद् सचिवलायमा उच्च तहमा जागिर, काकालाई आफ्नै श्रीमतीको स्वकीय सचिव मामाको छोरालाई सभामुखको स्वकीय सचिव, ज्वाइँलाई उपराष्ट्रपतिको प्रेस सल्लाहकार, सम्धी पर्नेलाई रोल्पाको पार्टी अध्यक्ष ‘तेह्रदिने’ भाइलाई रोल्पाको सांसद र एक बहिनी ज्वाइँलाई वर्षमानले जिल्ला समन्वय समितिका सदस्य बनाइदिएका छन्।

तर प्रचण्डले भने बिरामी भएका कारण आफ्नी पत्नी सीतालाई कुनै पदीय जिम्मेवारी दिलाउन सकेका छैनन्। एउटा भतिजलाई राजदूत बुहारीलाई मन्त्री र एउटा छोरीलाई महानगरको मेयर बनाउन सकेको भए पनि परिवारका अन्य सदस्य तथा नातेदारलाई उच्च लाभको पद दिलाउन सकेका छैनन्। यो खबर घटना र विचार साप्ताहिकबाट लिइएको हो।

प्रतिक्रिया दिनुहोस