झारखण्ड, भारत — वरिपरि पहाडै पहाड । बीचमा खोला अनि बस्ती । झट्ट पुग्दा नेपालकै कुनै उपत्यकाजस्तो । पटना–राँची सडकनजिकको चिरकुण्डी गाउँ पुग्दा नेपालकै कुनै बस्ती पुगेझै लाग्छ, नेपाली अनुहार र रहनसहन प्रस्ट झल्किन्छ । गाउँमा भेटिएका सबै नेपाली पुस्तौंअघि मुग्लान छिरेर रैथाने भएका रहेछन् ।
अप्ठेरो लवजमा नेपाली बोल्ने उनीहरू सोधेका कुरा भने प्रस्टै बुझ्थे । करिब ३० घर रहेको गाउँमा आधाभन्दा धेरै नेपालीका छन् । तर दिनहुँ भेटघाट र घरमा पनि भाषा भने हिन्दीको नै प्रयोग भएको पाइयो । ‘हामी पुरानाहरूचाहिँ कहिलेकाहीं नेपाली भाषा बोल्नेगर्छौं,’ ५६ वर्षे मंगलबहादुर थापा (मगर) ले भने, ‘अहिलेकाहरू लाज हुन्छ भनेर बोल्नै मान्दैनन् ।’
नेपाल बाहिर बाक्लो बस्ती भएका स्थानमा नेपाली भाषा र संस्कृतिलाई बिछट्टै माया गरेको पाइन्छ । तर यहाँ भने अन्य संस्कृति यथावत रहे पनि भाषा भने खस्कँदै गरेको पाइयो । नेपालबाट करिब ५ सय किलोमिटर टाढा दूरदराजको यो बस्तीमा हतपत नेपाली नपुग्ने र उनीहरू पनि पहाड खासै नआउने भएकाले भाषा लोप हुँदै गएको हो । see more