एउटै दृष्टि, भिन्न कोण

रबि लामिछाने संग सम्बन्धित १० मुख्य तथ्यहरू !

२०७६ भाद्र ४ गते बुधवार

१. अष्टमी गुरुङको आत्महत्याअघिको भिडियो देखाउने रवि लामिछाने, प्रहरी हिरासतमा को दिलिपसिंह विष्टको भिडियो रेकर्डिङ देखाउने रवि लामिछाने । त्यतिबेला न अम्रिकाका प्रेम बानियाँ बोले, न नेपालका कोही । कोही पनि चुइक्क बोलेनन्, किनकि भिडियो गरीबहरूको थियो । जब सालिकरामले रवि लामिछानेको नाम लिएर बनाएको भिडियो सार्वजनिक भयो, ‘कसरी सार्वजनिक भयो ? किन भयो ? नगर्नुपर्ने हो’ भन्दैछन् । रविको नाम आएको भिडियो चाहिँ लुकाउनुपर्ने, अरुको चाहिँ रविले नै देखाउनुपर्ने । वाह रे वाह ! क्या मापदण्ड ! छेपारेहरूको दोहोरो चरित्र । नियम व्यक्ति अनुसार फरक–फरक हुँदैनन्, नियम गरीब, धनी, चर्चित र नचर्चित सबैका लागि बराबर हुनुपर्छ, न्यायका लागि बोल्नेहरूले रविका लागि मात्रै बोल्नु ‘बलेको आगो ताप्नु’ हो ।

२. रबि भगवान हुन, उनलाई प्रहरीले पक्राउ गर्नै हुन्न, अनुसंधान गर्नै हुन्न भनेर प्रहरीलाई ढुङ्गामुडा गर्नेहरु भेडा हुन। उदाहरणका लागि कथित धर्मगुरु रामरहिम बलात्कारी होईन भन्दै भक्तहरुद्वारा भड्काइएको दंगामा ११ जनाको ज्यान गएको थियो । पछि उनि बलात्कारी साबित भए र अहिले जेलमा छन । तसर्थ अपराधी अनुहारले हुँदैन, भक्तहरुले प्रहरी प्रशासनलाई सहज रुपमा अनुसंधान गर्न दिनुपर्छ।

३. रवि लामिछाने निर्दाेष छन् भने उनलाई सजाय हुने छैन, उनी छुटेर आउने छन्, निर्दाेषलाई कसैले फसाउन सक्दैन । निर्मला प्रकरणमा सोझासाझा गरीबलाई त फसाउन सकिएन भने चर्चित सञ्चारकर्मी रविलाई फसाउन सकिने कुरै हुँदैन ।

४. सालिकराम पुडासैनीले मृत्युअघि बोलेका कुरा रविमाथि शंका गर्ने र उनीमाथि अनुसन्धान शुरू गर्न पर्याप्त आधार हुन् । त्यसलाई प्रमाण ऐनले पनि प्रमाणको रुपमा लिन्छ तर त्यो भिडियो मात्रै सम्पूर्ण प्रमाण होइन । भिडियोमा आरोप लगाएकै आधारमा मात्र रविलाई दोषी भन्न न्यायसंगत हुँदैन । पुडासैनी र रबिको बिगतको सम्बन्ध ,फेरि केही समय अगाडि बाटो छुट्टिएको र पछि आत्महत्या गर्नु अनि भिडियोमा रबि लगायतलाई दोश दिनु नै रबिलाई अनुसंधान गर्नुपर्ने कारण हुन।

५. प्रहरीले पनि भिडियोलाई मात्र आधार मानेर दोषी देखाउने होइन । प्रहरीले भिडियोमा बोलेका कुराको सत्यापन गर्छ र अन्य कुराबाट सालिकरामले बोलेका कुरा प्रमाणित भएमा अदालतमा पेश गर्न, बाँकी अदालतको फैसलाले बोल्ने हो ।

६. सालिकरामले आफूलाई आत्महत्या गर्न बाध्य पार्नुको कारण ‘बलात्कारमा फसाउन खोजिएको’ भनेका छन् । आफूले टेलिभिजन छाडेपछि एउटा युवतीसँग सम्पर्क जोडिदिएको, उनीसँग नजिक भएको र पछि उनैमार्फत् बलात्कारमा फसाउन खोजेको भनिएको छ । यो कुरा सही हो कि होइन भनेर प्रहरीले खोज्ने छ – पुडासैनी र ती युवती कहिलेदेखि नजिक भए ? ती युवतीको रवि लामिछाने वा टीमसँग कस्तो सम्बन्ध छ ? बलात्कारमा फसाउन खोजेको आरोप सही हो कि होइन ? यी कुरा टेलिफोन कल, फेसबूक म्यासेजबाट प्रस्ट थाहा पाउन सकिन्छ अहिलेको युगमा ।

७. समाचारमा आएको भिडियो अदालतमा पेश हुने होइन, अदालतमा पेश हुने भिडियो पुडासैनीको मोबाइलमा भेटिएको भिडियो हो । भिडियो जाँच प्रहरीको प्रयोगशालामा हुन्छ, वैज्ञानिक परीक्षणलाई अदालतले आधार मान्ने हो, इडिट भएको कुरालाई अदालतले प्रमाण मान्दैन । भिडियो सँगसँगै टेलिफोन कल, फेसबूक च्याट र बयान विश्लेषण गरेर प्रहरीले अनुसन्धान फाइल बनाउने हो । यो प्रकरणमा पुडासैनी, युवती र रवि टीमबीच त्रिपक्षीय सम्बन्ध स्थापित भयो भने रविलाई गाह्रो चाहिँ पर्न सक्छ । यसकारण भक्तहरुले अनुसंधान गर्न दिनुपर्छ।

८. रवि निर्दाेष भएर छुटून्, उनीमाथि थुप्रै नेपालीले आशा गरेका छन् । म पनि यहि आश गर्छु। विगतमा रबिले गरेका राम्रा कार्यमा आईएम विथ रबि लामिछाने भनेर लेखेकै हो तर अहिले उनिलाई अनुसंधान गर्नै हुँदैन भनेर भेँडा जस्तो चै म हुँदिन।

९. मुख्य कुरा रबि लामिछानेलाई फसाउन खोजियो भनेर भन्नू आफैमा मुर्खता हो। किनकी रबिलाई फसाउन सरकार र सत्ता नै लाग्नुपर्ने कारण केछ ? उनी त्यति कमजोर छन र अरुले सजिलै फसाउन सक्ने? अनि उनका टिम छैनन् निरन्तर फलोअप गर्ने ? एकदुई वटा घटनामा प्रहरी प्रशासन चुक्यो भन्दैमा रबि कान्डमा पनि प्रहरी प्रशासन चुक्न सक्ला र? तसर्थ ढुक्क भएर बसौँ बरु सालिन रुपमा खबरदारी गरौँ सत्य छानबिन होस भनेर।

१०. रविले छुटेर आएपछि पनि अदालतबाट प्रमाणित नहुँदासम्म कसैलाई पनि दोषीझै देखाएर फैसला सुनाउने छैनन् । प्रमाण ऐन, अनुसन्धान सम्बन्धी कानून र कार्यविधिको अध्ययन गरेर कार्यक्रम चलाउने छन् । पत्रकारिताको न्यूनतम मर्यादामा राख्ने गरी रविले आफूलाई सुधार्नेछन्, भीडको भावनालाई मात्रै ख्याल गरेर जथाभावी बोल्ने छैनन् । निर्दाेष नफसून्, दोषी नछुटून् । धन्यवाद !

प्रतिक्रिया दिनुहोस