एउटै दृष्टि, भिन्न कोण

के देशमा अरू रविहरु जन्मन सम्भब होला ?

२०७६ भाद्र ११ गते बुधवार
  • सन्तोष न्यौपाने (बेल्जियम)

नेपाल पत्रकार महासंघका अनुसार अहिले नेपाल भित्र कार्यरत पत्रकारहरुको संख्या १३ हजार ५० रहेको छ । नेपाल प्रेस काउन्सिलका अनुसार ०७५ असारसम्म ७ हजार ९ सय ५ पत्रपत्रिका दर्ता भएकोमा ९५३ मात्र नियमित प्रकाशित भइरहेका छन् ।  यस्तै भदौ मसान्तसम्म १३८० वटा अनलाइन सञ्चारमाध्यम काउन्सिलमा सूचीकरण भई सञ्चालनमा छन् । यी सबै सञ्चारमाध्यममा करिब २५ हजार पत्रकार कार्यरत भएको अनुमान काउन्सिलले गरेको छ। पत्रकारको संख्या महासंघ को भन्दा दोब्बर रहेको काउन्सिलको डाटा ले  देखाएको छ।

अर्को तर्फ नेपालमा कार्यरत पत्रकारहरुको आ आफ्नो युनियन छन्।  नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियनका अनुसार त्यसमा आवद्ध झण्डै ७ हजार साधारण सदस्य रहेका छन् । नेकपा निकट  प्रेस संगठनमा अहिले अनुमानित सोही अनुपातमा ५/६ हजार सदस्य रहेको देखिन्छ ।

यति धेरै पत्रकार रहेको देशमा किन रवि लामिछाने नै एकाएक  “हिरो” बन्न पुगे त?  प्रश्न उठ्नु स्वभाविक नै छ । किनकि रवि लामिछानेले त्यति विधि ठूलो काम केही गरेनन् तर जति गरे त्यसले सर्वसाधारणको हितको लागि कार्य गर्यो। उनी समक्ष आउने हरेक पीडा,गुनासा लाई आफ्नै समस्याको रूपमा लिए र हल गरे। यसरी हल गर्दा उनले कसैको डर धम्कीमा वा राजनैतिक प्रलोभन मा कार्य नगरी निडर रूपमा लागि परे।जसको कारण धेरै नेपाली जसको आवाज विहिन थियो उनीहरूको आवाजले प्राथमिकता पायो । समस्याको निराकरण प्रशासनको सहयोगमा टेलिभिजन कार्यक्रमले सिघ्र गर्न थाल्यो। पीडितहरुले राहत महसुस गर्न थाले।हो यसैको नतिजा हो रवि एकाएक सेलिब्रेटी बन्नु र लोकप्रिय हुनु।

के देशमा अरू रविहरू जन्मन सम्भब छैन होला त ? यस प्रश्नको जवाफ पक्का पनि माथिको डाटा ले तपाईंहरूलाई प्रस्ट पारिसकेको हुनुपर्दछ। सम्भब छ पनि र छैन पनि। आउनुहोस यस बारेमा केही चर्चा गरौँ।

देशमा रहेका पत्रकारहरुको संख्या हेर्दा देशमा पत्रकारले आमूल परिवर्तन गर्न ठोस योगदान दिन सक्छन् भन्ने देखाउँछ।तर त्यतिकै मात्रामा युनियनमा आवद्ध पत्रकारहरुको संख्याले यो अपेक्षालाई बीचमै तगारो हाल्ने काम गर्दछ। युनियन र संगठनमा आवद्ध पत्रकार मध्य निकै न्यून ले मात्रै जनताको आवाज बोल्ने ,लेख्ने काम गरेका हुन्छन्।उनीहरू राजनैतिक पार्टीहरू का लङ्गौटी हुन भन्दा फरक पर्दैन। फलानो नेताले के बोल्यो वा के गर्यो भन्ने विषय त्यो उनीहरूको प्राथमिकता मा बढी पर्ने गर्दछ। सर्वसाधारण जनताका समस्या मर्म उनीहरूको कार्यक्षेत्र भित्र कम नै मात्रामा पर्ने गरेको देखिन्छ।

अहिले नेपालमा कांग्रेस प्रतिपक्षमा रहेको छ।नेकपा लगायतकाले सरकार चलाइरहेका छन्। पत्रकारहरु पनि यसै गरेर विभाजित छन् । कांग्रेस निकट प्रेस युनियनका पत्रकार हरु कांग्रेसको ओकालत गर्दै सामाजिक सञ्जाल भरेको पाइन्छ। उनीहरूका लेखन पनि सोही रूपमा बायस भयका छन्। त्यस्तै गरेर प्रेस संगठनमा आवद्ध पत्रकारहरु अहिले सरकार सञ्चालनको नेकपा को भरपूर बचाउमा लागेको देखिन्छन्। नेकपा का नेताले गल्ती बोले पनि उनीहरू गल्ती लाई गलत भन्न सकेको देखिदैन ।बरु युनियन र संगठनमा आवद्ध पत्रकार बीच सामाजिक सञ्जालमा दोहोरी चलिरहेको हुन्छ। अब तपाईं आफैं भन्नुस् यस्तो अवस्थामा जनताले रवि लामिछाने नरोजेर कसलाई रोज्ने??उनको पक्षमा नहिडेर कसको पक्षमा हिँडने??

रवि लामिछानेलाई प्रहरीले हिरासतमा लगे देखि नै सामाजिक सञ्जाल तातिएको थियो। उनको समर्थनमा दिनहुँ चितवनमा आन्दोलन भयो।अन्तत अदालती प्रक्रिया अनुसार लामिछाने लगायत तिनै जना रिहा भय।उनी हिरासतमा हुँदा पत्रकारको पक्ष विपक्ष कम्ता रमाइलो थियन।उनका विपक्षी हरुले मौका यहि हो भन्दै मौकाको फाइदा उठाउन थाले। जति नेपाली जनताले उनलाई साथ दिए त्यो मात्रामा पत्रकार हरु खुल्लम रूपमा बोल्न र समर्थन गर्न सकेनन। त्यसको अलावा नेपाली राष्ट्रिय स्तरका छापा मीडिया वा अनलाइनले चितवनको सभालाई स्थान दिन सम्म कन्जुस गरे।यसै बाट सबै प्रस्ट हुन्छ। किनकि उनीहरू कुनै न कुनै रूपमा बायस थिए। यही नै हो मूल समस्या।

नारायणी तिरमा सम्पन्न लामिछानेको स्वागत कार्यक्रममा हजारौं जनता स्वस्फूर्त रुपमा मैदानमा उत्रिए। रवि क्रेज प्रस्ट देख्न सकिन्थ्यो। एक वयोवृद्ध बुवा उनलाई अंगालो मार्दै आशीर्वाद दिएको क्षणले कसको मन नछुला र?? पक्का पनि रविको कार्यप्रति ती वृद्धहरुको सम्मान भयर नै त्यसरी अंगालो हाल्न पुगे।

यो समर्थनले सरकार सञ्चालन गरेको वा प्रतिपक्षमा बसेको पार्टीलाई ठूलै झड्का दिएको छ। पत्रकारहरुलाई ४२० को करेन्ट नै लागेको स्थिति छ। अब पनि उनीहरूले मनन गरेर अगाडि जान नसकेमा नेपालको पत्रकारिता र राजनीतिमा सधैं प्रश्न चिन्ह खडा हुनेछ। रवि एउटा नजिर बनेर सबैको सामु उभिएका छन्।

रविको मुद्दा छिनोफानो हुनको लागि केही समय अवस्य कुर्नुपर्ने हुन्छ।तर यो विषयले सबैको लागि ठूलो संदेश दिएको छ। अब पत्रकारहरु जनताको पक्षमा निरन्तर कलम चलाउनुपर्छ।राजनीति गर्नेहरूलाई सचेत गराइरख्नु पर्नेछ ।जनताको मन जित्न उनीहरू लाग्नु पर्ने देखिन्छ।जसले गर्दा हामीले आशा गरेअनुरुप देशमा थुप्रै रवीहरु जन्मन लाई नकार्न सक्दैनौं।यसतर्फ पार्टीगत पत्रकारिता भन्दा टाढा राखेर काम गर्न सबैले सिकौ।

प्रतिक्रिया दिनुहोस