काठमाडौं । चीनको शेनझेनमा एक वर्षकी शिशुलाई एउटा अपराधीले पछाडिबाट लात हानेर हावामा उडाएको छ ।
शिङचेङ शपिङ सेन्टरमा ती बालिका आफ्नी हजुरआमासँग गइरहेको बेलामा उक्त व्यक्तिले पछाडिबाट उनलाई लात हानेको थियो ।
घटना बुधवार भएको हो । पोलो शर्ट लगाएको उक्त व्यक्ति मलको खम्भानजिक उभिरहेकी शिशुनजिक पुग्छ अनि उनलाई लात हान्छ । शिशु भुइँमा पछारिन्छिन् ।
स्तब्ध भएकी हजुरआमा नातिनीलाई हेर्न पुग्छिन् अनि लात हान्ने मानिससँग भिड्छिन् ।
उक्त व्यक्तिले आफूमाथि हिंसा गर्ने धम्की दिएकाले उसलाई त्यत्तिकै छोडिदिएको हजुरआमाको कथन छ ।
अन्य कुनै पनि प्रत्यक्षदर्शीले हस्तक्षेप नगरेको विश्वास गरिएको छ । शिशुको परिवारले उक्त व्यक्ति पत्ता लगाउने आशाका साथ घटनाको भिडियो अन्लाइनमा राखेको हो ।
शिशुलाई हल्का चोटपटक लागेको छ ।
शेनझेन प्रहरीले बिहीवार आरोपितको पहिचान खुलेको बताएको छ तर पक्राउ गरिएको छैन ।