एउटै दृष्टि, भिन्न कोण

कोरियाबाट आएर वडाध्यक्ष, वडाध्यक्ष बनेपछि पैसा कमाउन उतै तिर लागे

२०७६ भाद्र १५ गते आइतवार

दुई वर्षअघि भएको स्थानीय चुनावमा जितेर जनप्रतिनिधि छानिएकाहरू अहिले के गर्दै होलान्?

धेरैलाई लाग्छ- कार्यालयमा सेवाग्राहीको काम गरिरहेका होलान् वा आफ्नो क्षेत्रको विकास निर्माणको योजना बनाएर कार्यान्वयनमा जुटेका होलान्।

संखुवासभाको खाँदवारी नगरपालिका-५ का वडाअध्यक्ष बमबहादुर घले भने अहिले गाउँमा छैनन्। गाउँमा मात्र होइन उनी देशमै छैनन्।

जनताको मत पाएर दुई वर्षअघि चुनाव जितेका उनी धन कमाउन विदेसिएका हुन्।

चुनाव जितेका वडाअध्यक्ष पैसा कमाउने हिँडेपछि स्थानीयले अहिले उपनिर्वाचनको माग गरिरहेका छन्।

प्रतिनिधिसभा संसदको गत साता बसेको बैठकमा घलेबारे संखुवासभाबाटै चुनाव जितेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद राजेन्द्र गौतमले प्रश्न उठाएका थिए।

उनको प्रश्न थियो, ‘जनताको सेवा गर्छु भनेर भोट लिएका जनप्रतिनिधि देशै छाडेर हिँडे भने कानुनले के भन्छ? खाली रहेको पदमा उपचुनाव हुन्छ कि हुँदैन?’

उनको प्रश्नको संसदमा कसैले जवाफ दिएन।

संखुवासभाकै जनप्रतिनिधि भएकोले जनताले भने वडा अध्यक्ष विदेसिएको र उनको ठाउँमा चुनाव हुने/नहुने प्रश्न सांसद गौतमलाई गरिरहेका छन्।

सरकारले आगामी मंसिर १४ गते देशका ५० स्थानमा उपनिर्वाचन घोषणा गरिसकेको छ तर यो वडा भने समेटिएको छैन।

कानुनी रूपमा यो वडामा उपनिर्वाचन गर्न मिल्दैन। संविधानले जनप्रतिनिधिको पद खाली हुने तीन अवस्था तोकेको छ।

संविधानअनुसार जनप्रतिनिधिको मृत्यु भए, राजीनामा दिए वा निजको पदावधि सकिए पद रिक्त हुन्छ।

घलेको हकमा यी तिनै कुरा लागू नहुने भएपछि उनको पद कानुनत: खाली भएको छैन।

खाँदवारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडाले भने वडाअध्यक्ष घलेबारे आफूलाई जानकारी नभएको बताए।

संसदमै सांसदले कोरिया गएको बताएका छन् नि! भन्ने प्रश्नमा उनले भने, ‘विदेश जानु भएको हो कि स्वदेशमै हुनुहुन्छ मलाई खासै जानकारीमा भएन।’

नगर प्रमुखले अनभिज्ञता जनाए पनि वडाध्यक्ष घलेले भने आफू केही समयका लागि बाहिर जानु पर्ने भन्दै निवेदन दिएका थिए।

‘व्यक्तिगत कारणले केही समय वडामा अनुपस्थित हुने हुँदा कार्यवाहक छाडेको छु भन्दै निवेदन दिनुभएको छ,’ नगरप्रमुख खतिवडाले भने।

वडाध्यक्ष घलेले दुई साता अघि नगरपालिकामा निवेदन दिएका थिए।

‘वडाध्यक्ष कहिले कार्यालय फर्कनुहुन्छ भन्ने जानकारी हामीलाई छैन,’ उनले भने, ‘जनप्रतिनिधिलाई यति उति विदा भन्ने हुँदैन। कानुन पनि प्रष्ट छैन।’

विदा लिएको उल्लेख गरे पनि वडाअध्यक्ष घलेले कति समयका लागि हो भन्ने पनि निवेदनमा खुलाएका छैनन्।

घले नेपाली कांग्रेसबाट वडाअध्यक्षमा विजयी भएका थिए।

चुनाव हुनुभन्दा पहिला नै कोरिया गएका उनी वडाअध्यक्ष भएको दुई महिनामै फेरि कोरिया हिँडेका थिए।

वडाअध्यक्ष जितेर कोरिया गएका उनी दुई वर्षपछि यसपाली नगरपालिकाको बजेट अधिवेशनमा भाग लिन गाउँ आएका थिए।

‘केहीदिन बसेर उहाँ फेरि गइसक्नुभयो,’ वडा सचिव विष्णुकुमार बुढाथोकीले भने।

वडाध्यक्ष विदेश गएपछि कांग्रेसबाटै चुनाव जितेका वडा सदस्य श्याम निरौलाले कार्यवाहक जिम्मेवारी लिएर वडाका कामकाज चलाएका छन्।

वडाअध्यक्ष कामकाज छाडेर विदेशिएको यो नयाँ घटना भने होइन।

यसअघि गत चैतमा मकवानपुर भीमफेदी गाउँपालिका वडा नम्बर ८ का वडाअध्यक्ष जगतमान घिसिङ डिभी (डाइभर्सिटी भिसा) परेर अमेरिका गएका थिए।

उनले पाँच महिनापछि भदौमा इमेलमार्फत् पदबाट राजीनामा पठाएका थिए। घिसिङ तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी भएका हुन्। वडाअध्यक्ष विदेसिएपछि यहाँ पनि वडा सदस्यले कार्यवाहकको जिम्मेवारी लिएका छन्। सेतोपाटीबाट साभार

प्रतिक्रिया दिनुहोस