एउटै दृष्टि, भिन्न कोण

घृणा महात्म्य : विमल पोखरेल !

२०७६ भाद्र २१ गते शनिवार
  • विमल पोखरेल

फेसबुक खोल्यो अधिकांश व्यक्तिहरुले घृणाबाहेक केही लेख्दैनन् । चिया पसलमा गयो घृणाबाहेक केही छैन । बाटोमा पनि घृणा नै व्यक्त गरेको देखिन्छ । त्यसैले मैले मलाई घृणा व्यक्त गर्नेहरुलाई सीधै ब्लक गर्दै आएको छु । मलाई कसैको घृणा हेर्नु वा सुन्नु छैन । मैले तथ्यहरुमा रहेर आफ्ना विचार व्यक्त गर्ने गर्दछु । मैले व्यक्तिगत वा सार्वजनिक रुपमा कसैलाई घृणा व्यक्त गरेको छैन । सार्वजनिक चासोको विषयमा कसैको नाम उल्लेख गर्नुपर्ने भएमा त्यसलाई घृणा होइन, तर्कबाट व्यक्त गर्ने गरेको छु । कसैलाई मन पर्नु वा नपर्नु उनीहरुको कुरा हो । त्यसलाई तथ्यहरुले नै खण्डन गरिनुपर्दछ । मैले पनि त्यही अपेक्षा गर्दछु । व्यक्तिगत घृणा मेरो लागि अस्वीकार्य छ ।

यतिका धेरै योग, ध्यान शिविर चलेका छन्, त्यहाँ घृणा गर्न सिकाइदैन । दैनिक दर्जनौं पुस्तक प्रकाशित भएका छन्, त्यहाँ पनि घृणा गर्न सिकाइदैन । दर्जनौं विश्वविद्यालय र हजारौं कलेजहरु छन्, त्यहाँ पनि घृणा गर्न सिकाइन्छ जस्तो लाग्दैन । तर विहानदेखि साँझसम्म फेसबुक, युटुबमा अधिकांश घृणा गरिएको देखाइन्छ, सिकाइन्छ । चौबीसै घण्टा फेसबुक र युटुबमा झुण्डिएपछि मान्छेले सिक्ने भनेको त्यही घृणा हो ।

मान्छेले यसरी घृणा गर्न किन सिकिरहेको छ ? जतासुकै घृणा गरेको देख्दा हाम्रो सभ्यता डुब्न लागेको प्रतीत हुन्छ । नेताहरुले समृद्धि ल्याइदिएनन भन्ने जनताले आफ्ना सारा संस्कार, संस्कृति र सभ्यता डुबाइरहेका छन् । भौतिक विकास त ढिलो चाँडो हुन्छ नै, तर सभ्यता डुब्यो भने फर्काउन कैयौं लामो समय लाग्छ ।

गौतम बुद्धले कसैलाई गाली गरेर महान् भएका होइनन्, कार्ल मार्क्सले कसैलाई गाली गरेर मार्क्सवाद प्रतिपादन गरेका होइनन्, आइन्स्टाइनले कसैलाई गाली गरेर भौतिक विज्ञानमा चमत्कार ल्याएका होइनन् ।

संसारका सबै दार्शनिक, चिन्तक, प्राध्यापक सबैले यसरी निन्दा गरेको भेटिदैन । यसरी निन्दा गरिने समाज ध्वस्त भइरहेको छ । समाज कहीं अगाडि बढेको छैन । घमण्डी बन्दै गएको छ । स्वार्थी बन्दै गएको छ । परपीडक, परनिन्दक बन्दै गएको छ ।

फेसबुकका भित्ताहरुमा घृणा र निन्दा होइन, समाज परिवर्तनको सहायकको रुपमा उपयोग गरौं । कसैलाई निन्दा गरेर केही पाइनेवाला छैन । कसैलाई गाली गरेर केही प्राप्त हुने वाला छैन । अरुलाई दोष थुपार्दा, गाली गर्दा, निन्दा गर्दा आफ्नै जीवन बर्बाद भइरहेको हुन्छ । जसको जीवन बर्बाद भइरहेको छ, त्यो आफ्नै कारणले हो, अरु कसैको कारणले होइन । हरेक कुरामा आन्तरिक कारण नै प्रधान हुन्छ । बाह्य पक्ष त केवल सहायक मात्रै ।

प्रतिक्रिया दिनुहोस