एउटै दृष्टि, भिन्न कोण

साझा पार्टीसंग चुनाव लड्न डराए वामदेव !

२०७६ असोज ५ गते आइतवार

काठमाडौं । नेकपा नेता वामदेव गौतमले कास्कीमा उपनिर्वाचन नलड्ने बताएका छन् । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि उनले प्रतिनिधित्व गरेको क्षेत्र खाली छ । आगामी मसिंरमा खाली ठाउँमा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ ।

शनिबार बसेको पार्टी सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको उनले बताएका छन्। ‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेडसहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु’, उनले भनेका छन्, ‘यसअघि २०७४ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो । तर, मलाई विश्वास छ मभन्दा अरु कोही स्थानीय कमरेड उठनु हुँदा सहजै विजय प्राप्त गर्न सक्नुहुनेछ।’

कास्कीको निर्वाचनमा त्यहाँका स्थानीय नेता उम्मेदवारीका निम्ति पहिलो हकदर रहेको उनको भनाइ छ। ‘यसर्थ म कास्कीलाई कार्यक्षेत्र बनाएर पार्टी काम गरिरहनु भएका कमरेडमध्येबाट उम्मेदवार हुनुपर्ने कुरामा आफ्नो स्पष्ट अडान पेश गर्दछु’, उनले भनेका छन् । यसअघि भने उनी केही सांसदलाई पछि हटाएर उपनिर्वाचन लड्न खोज्दा विरोध भएको थियो । साझा पार्टीले उक्त क्षेत्रबाट नेतृ रजनी केसीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस