एउटै दृष्टि, भिन्न कोण

पद गएपनि महराले तिहारसम्म सरकारी निवास नछोड्ने संकेत !

२०७६ असोज १५ गते बुधवार

काठमाडौं । बलात्कार आरोपपछि सभामुख पदबाट राजीनामा दिए पनि कृष्णबहादुर महराले दसैं भने सभामुखको सरकारी निवास बालुवाटारमै मनाउने भएका छन् । तत्कालीन नेकपा माओवादीको तर्फबाट २५ फागुन २०७४ मा सभामुख बनेका महराले हिजो अर्थात् १४ असोजमा राजीनामा दिएका हुन् । सभामुख पदबाट उनले दिएको राजिनामा संघीय संसद सचिवालय सचिव डा. भरतराज गौतमको हस्ताक्षरमा बुधबार सूचनापत्र प्रकाशित गरेसँगै स्वीकृत भएको छ । यो समाचार शिलापत्रले छापेको छ ।

हालसम्म सभामुखको रूपमा संसद सचिवालयको वेबसाइटमा कृष्णबहादुर महराको नाम हटाइएको छैन । सभामुख निवासमा परिवारका सदस्यसँग रहेका सभामुखले निवास कहिले छाड्ने भन्ने विषयमा कुनै जानकारी वा सूचना नदिइएको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बताए । मल्लले भने, यसो गर्नू वा उसो गर्नू भनेर कसैले केही भनेको छैन । निवास कहिले सर्ने भन्ने विषयमा योजना बनाइएको छैन । चाडबाड लागेकाले झण्डै एक महिना लाग्न सक्छ । सरकारी निवास प्रयोग गरेका विशिष्ट व्यक्तिले त्यस्तो ओहोदाबाट अवकाश लिएको १५ दिनभित्र छोड्नुपर्ने नियम छ । संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई व्यक्तिगत कामले भारत गएका छन् । उनी नभएकाले सरकारी निवास खाली गराउने सूचना निकाल्न ढिलाइ हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस