प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पछिल्लोपटक भारतले सार्वजनिक गरेको नक्सा कुनै पनि हालतमा मान्य नहुने बताउँदै लिपुलेकबाट भारतीय सेना हटाउन सरकारले कूटनीतिक र राजनीतक पहल गरिरहेको जनाएका छन् ।रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा थापाले देश र जनताको पक्षमा सरकार क्रियाशील रहेकामा आशङ्का नगर्न आग्रह गर्दै सीमा अतिक्रमणबारे सुगौली सन्धिमा महाकाली नदीको पश्चिम किनारासम्म नेपालको भू–भाग स्पष्ट रहेकाले लिपुलेक, कालापानी, लिम्पियाधुरा नेपालको भएकामा द्विविधा नरहेको प्रस्ट पारे ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सीमाका विषयमा प्रधानमन्त्री ओलीलाई लाञ्छित गरी हालै पोखरामा दिएको अभिव्यक्ति अपरिपक्व र राजनीतिक रूपमा हतास मानसिकताबाट आएको सल्लाहकार थापाको भनाइ थियो । थापाले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थामा तीव्रगतिमा सुधार भइरहेको बताउँदै उपचारमा संलग्न चिकित्सकले अब छिट्टै उनलाई अस्पताल मुक्त गरिने बताएको जानकारी दिए ।केही सञ्चारमाध्यममा प्रधानमन्त्रीको स्वास्थ्यबारे तथ्यहीन र भ्रामक समाचार आइरहेकामा दुःख व्यक्त गर्दै थापाले त्यस्ता सञ्चारमाध्यमलाई पुष्टि भएका खबर मात्र सार्वजनिक गर्न सुझाव दिए ।