एउटै दृष्टि, भिन्न कोण

तिमी र म – रबीन्द्र मिश्र

२०७६ मङ्सिर १५ गते आइतवार
  • रबीन्द्र मिश्र

हाम्रो ‘विवाह वार्षिकोत्सव’मा तिमीलाई टाडा (पोखरा) बाट तिम्रैलागि लेखेको एउटा पुरानो कविता पठाएको छु! जीवनभर यस्तै खुशी बाँडीरहन पाउँ।

तिमी र म
धेरै टाढा हिउंको सिरकमा
अलि पर पहाडको पछ्यौरीमा
वगानमा बहकिएको हरियाली, अनि
बीचबीचमा मात्तिएर, उर्लिएर
सुस्ताएको नदीमा
कहाँ छैनौं हामी? तिमी र म…

तिमी र म
क्षितिजका बान्की-बान्कीमा
फुर्किएका पंधेरी, ओत र ओडारमा
झरेका चियाका पात
अनि नदी छेउ
पानी-पानी भएर बहेको पानीमा
कहाँ छैनौं हामी? तिमी र म…

तिमी र म
सेताम्यमा रंगिएको सासमा
पहाडमा लजाएको परेलीमा
बुटानमा अल्झिएको तुना
अनि
नदीमा उघ्रिएको वेगमा
कहाँ छैनौं हामी? तिमी र म…

तिमी र म
हेर्दाहेर्दै बन्द भएका आँखामा
मुस्कुराउंदै मन्द भएका ओठमा
हाम्रो स्पर्श, आभा
भावना र आवेगमा
कहाँ छैनौं हामी? तिमी र म…

मेरा कवितामा
अन्नततामा, निरन्ततामा
ब्रम्ह, विष्णु र महेश्वर मा
कहाँ छैनौं हामी? तिमी र म…

**************

प्रतिक्रिया दिनुहोस