एउटै दृष्टि, भिन्न कोण

संस्मरण : बीपी, समय र संवाद

२०७६ मङ्सिर २३ गते सोमवार
  • प्रकाश सायमी

बीपीसितका तीन भेट मेरानिम्ति जीवनको अत्यन्त यादगार क्षण हो, सम्झनामा लेखिए पनि नलेखिए पनि । बीपीसितका हुन नसकेका तीन भेट पनि मेरो जीवनको लागि महत्वपूर्ण पाठ हो । म यहीँबाट यसलाई जीवनको उपलब्धि ठान्छु । बीपीको नाउँ पहिलो पटक मैले काठमाडौँ उपत्यकाको पुरानो कारागार नख्खु जेलभित्रै सुनेको थिएँ, जहाँ राजवन्दी मात्र थुनिन्थ्यो पञ्चायतकालमा । नख्खु जेल वरपरका साक्षी सरोकारको सम्झनामा सुन्ने हो भने त्यो जेलभित्र गंगालालका दुई छोरालाई ट्रकमा राखेर ल्याइएको थियो रे, उनीहरूले नारा लगाउँदै आएका थिए रे, प्रजातन्त्र जिन्दावाद् । त्यस्तो इतिहास रचिएको सालाखाला १३ वर्षपछि म जन्मिएँ, र म त्यही कारागारमा पाँच वर्षको उमेरमा पढ्न पुगेँ । सार्वजनिक शिक्षा भनेर सुरु गरिएको नख्खु जेलको पढाइमा सरिक हुने केही जेहेन्दार र गरिब विद्यार्थीमा म पनि परेँ । जेल गएको पहिलो दिनदेखि नै गुरुजनहरूले बीपीको नाउँ कहिले घृणाले, केहीले प्रेमले, कहिले आदरले लिएको सुन्न पाइन्थ्यो । मैले बीपीको नाउँ त्यहीँ र त्यसरी नै सुनेको जसरी गाउँघरतिर डराइडराई जमिन्दारका अगाडि कानूनका कुरा सुन्थे वा गर्थे ।

हाम्रो पढाइ नेपाली, गणित र अङ्ग्रेजी विषयक भनिए पनि बेलाबेलामा त्यहाँ बीपीको राजनीतिक र साहित्यिक कुरा हुन्थे । नख्खु जेलमै त्यतिबेला नेपाल टाइम्स् पत्रिकाका सम्पादक चन्द्रलाल झा पनि पनि थुनिएका थिए । कुनै पत्रकार जेलभित्र बसेर पत्रिका पढ्दै गरेको र पत्रिकाबाट आँखा हटाएर राजनीतिक कुरा गर्दै गर्दा उनकै मुखारविन्दबाट बीपीको हाल हविगतबारे सुनेको त्यो दिन म आश्चर्यचकित भएको थिएँ । नख्खु जेलभित्रको सार्वजनिक शिक्षाबाट मुक्त भएर जब मैले बाहिरको साइनबोर्डधारी स्कुलमा औपचारिक पढाइ सुरु गरेँ, त्यतिबेला पहिलो पटक सम्झन सक्ने गरी बीपीसित भेट भयो, नेपाली भाषा र व्याकरणको कक्षामा । व्याकरणको कक्षामा ह्रस्व दीर्घ पढाउने क्रममा नेपालीका गुरु यसो भन्थे, अङ्कलाई अक्षरमा लेख्दा दीर्घ लेख्नू, जस्तोः अस्सी, एक्कासि । विदेशी नामलाई संक्षिप्तिकरणमा लेख्दा दीर्घ लेख्नू जस्तो स् डीसी जोन्सन, बीपी कोइराला आदिआदि । डीसी जोन्सन् कसको नाम थियो गुरुले कहिले भनेनन् तर राजनीतितिर अलि झुकाव भएका गुरुले मन्दमन्दस्वरमा तर उच्चादरले बीपीको नाउँ लिँदा कोइराला पनि थप्थे र प्रसङ्गवश उनका एकदोटा कथा र एकदोटा बहादुरीका कथा पनि भनिहाल्थे । यही सन्दर्भले मलाई बीपीसित निकट गरायो । पञ्चायतकालमा बीपीको नाउँ यति मातृपूर्ण स्वरमा सुन्न पाउनु कानको लागि कति आनन्दको कुरा थियो तर हृदयको निम्ति ठूलो तरङ्ग हुन्थ्यो ।

विजय मल्लको ‘ज्यानमाराको छोरा’, चित्तधर हृदयको‘भिखारी’ कविता, हृदयचन्द्रसिंह प्रधानको ‘जुँगा’ निबन्ध पढेको समय म हाइस्कुलको मध्याह्नमा थिए । भूलचुकले मैले यही बेला डष्टी ज्याकेट भएको बीपीको ‘दोषी चस्मा’ बोक्ने दुस्साहस गरिसकेको थिएँ । बाइबल र बीपीको ‘दोषी चस्मा’ बोकेर यस समय मैले प्रहरीको हप्की निकै खाएको थिएँ तर बीपीसित भेट्ने रहरको चर्को उन्माद थियो ममा अनि मेरा समकालीन साथीहरूमा पनि । जनमत सङ्ग्रहको घोषणापछि बहुदल कि निर्दलको मागमा चुनाव हुने भएपछि ठाउँठाउँमा आमसभा आयोजना हनु थाल्यो । प्रायः आमसभामा आफैँले नख्खु जेलमा भेटेका र देखेका धेरै राजवन्दी राजारानीको जन्मोत्सव र नयाँ वर्षको लगन पारेर सार्वजनिक भए । त्यसमध्ये बीपीका अनन्य भक्त ईश्वर केसीले मलाई बीपीको आमसभा हुने ठाउँको सूची दिएपछि म ती सबै ठाउँमा उपस्थिति जनाउन पुगेको थिएँ । तर भेट हुन भने सकेको थिएन । ललितपुरको लगनखेल चोकको एउटा आमसभा मेरा लागि प्रतीक्षणीय थियो । अति आदरणीय उपन्यासकार डायमन्शमसेर राणाले संयोजन गर्न लागेको थाहा पाएपछि म उनकै घर पुगेँ र भनेँ म पनि त्यो आमसभालाई सघाउन चाहन्छु यदि बीपी कोइराला त्यहाँ आउने हो भने । त्यहाँ म पुग्दा राणाका साथमा अरू थुप्रै काङ्ग्रेसी कार्यकर्ता थिए उनलाई सघाउन । सूचीमा मेरो नाउँ पनि थपियो स्वय म सेवकमा, साहित्यिक वृत्तबाट भनेर । बाह्र बजे भनिएको कार्यक्रम दुई बजे सुरु भयो तर बीपी आएनन् । उनको ठाउँमा गणेशमान सिंहको सिंह शैलीय भाषण सुनेर घर फर्किएँ । बीपीसित भेट हुन नपाएको पीडा यथावत् रहिरह्यो ।

चुनावमा बहुदलको हार भयो । शाही सम्बोधनका ध्वनि तरङ्गले कदमलाई विश्राम दियो । भेटघाटको दोस्रो प्रयास सुरु हुन नपाउँदै बीपीको स्वास्थ्य स्थिति खराब भएको खबर घरको बुइँगलसम्म आइपुग्यो, पितामहबाट । मेरा पितामह भाइराजा मानन्धर त्यस समयका एक प्रसिद्ध तारावाजाका विज्ञ एव म भारतमा शास्त्रीय सङ्गित अध्ययनका क्रममा बस्दा बीपी, गणेशमान, सुवर्ण शमसेर, भरत शमसेरसित निकट र परिचित रहेका भन्ने कुरा यसपछिः मात्र थाहा भयो जब उनले बीपीको स्वास्थ्य लाभको कामना गर्दै तानपुरामा वसन्त राग सुनाए । पितामहसित विनम्र आग्रह गरेर मैले बीपीसित भेट गर्ने इच्छा राखेँ उनले नेवारीमा भने, च्वःप्वः मदुगु खँ ल्हाय् म ते । सुँक्क आँख ब्वँः (छेऊटुप्पो नभएको कुरा नर्ग) चूप लागेर पढाइ गर्नू ) नेवारी र उर्दूभाषामा दख्खल भएका पितामहको तेस्रो प्रमुख भाषा थियो, आँखाको । त्यसमा अहिले पख, समय आउँछ भन्ने बुझ्थेँ म । तर उनले मलाई स्पष्टै भने, मबाट सम्भवै छैन ।

अचम्म र उदेक लाग्दो कुरा उनकै पहलमा त्यतिबेला गणशे मानजीको एउटी छोरीको बिहे हाम्रो परिवारमा हुँदै थियो भने कालान्तरमा मेरा एक दाजु प्रदीपले नै त्यही परिवारकी एक कन्या हाम्रो घर भित्र्याएथे । यही समय पितामह आफ्नो आँखाको उपचार गराउन भारतको सीतामढी पुगे । पितामहको सीतामढी भ्रमणपछि स्वास्थ्यमा सुधार देखियो भनें मप्रति गरिने भौगोलिक व्यवहारमा आकाश जमिन फरक देखा पर्यो र उनको शक्तिशाली आँखामा चस्मा थपियो तर त्यही चस्मामा मैले हरदम नयाँ सन्देश पाउन थालें, अब तेरो भेट हुन्छ बीपीसित भन्ने । समय कति अभ्याक्रमी छ र कति परीक्षणमुखी । मैले समय पर्खेर बसेँ, समयले मलाई पर्खिरह्यो, म स्कुलको अध्ययन सकेर कलेज पुगिसकेको थिएँ । म कलेजबाट प्रकाशित हुने एउटा साहित्यिक पत्रिकामा नेवारी र अन्य भाषाका लेख रचना अनुवाद गर्थें । यही समय राष्ट्रिय मेलमिलापको नारा लिएर बीपी नेपाल फर्किए, विमानस्थलमा कालो झन्डा देखाइने र उनलाई स्वागत गरिने दुवैको भिडन्त हुन सक्ने अनुमान पितामहको थियो । यही मात्र एउटा कारणले मलाई त्यहाँ जानबाट रोकियो । फेरि मलाई समयले अद्भूत साथ दियो, विद्यार्थीसाथीहरूले प्रकाशन गर्न लागेको नेपालभाषाको पत्रिका चकना, पत्रिकामा मैले एउटा नयाँ कथा लिएर आउँछु भनेर वाचा गरेँ तर त्यो नयाँ कथा कसको हो भनेर मलाई नै थाहा थिएन, म बीपीको चावहिल निवास नपुगुञ्जेल । बीपीलाई भेट्न अनौठो अवस्थामा म त्यहाँ पुगेँथेँ चाबहिलमा । त्यो उनकै कारण थियो । त्यतिबेला मेरो परिवारले भर्खरै सुरु गरेको एउटा प्रेस नेपाल टाइटल प्रेसमा बीपीको अन्तर्वार्ता सहितकोएउटा पत्रिका छापिएको थियो, द किङ्ग इज रिसेप्टिभ शीर्षकमा ।

त्यो पत्रिकालाई तत्कालीन अञ्चलाधीश कार्यालयले ‘जफत’ गर्दा छापाखानामा प्रहरीहरू ह्वारह्वार्ति पसे । त्यौडको त्यो पुरानो टालेको झयाल छानाबाट सबै हेर्दै थिए । प्रेस चलाउने दुवै मेरा काका सरकारी जागिरमा आवद्ध भएका हुनाले प्रहरीले मलाई लिएर गए । छिमेकमा सबै मलाई गिरफ्तार गरिएको खबरले त्रसित थिए तर म चाहिँ यही हो, बीपीको मलाई बोलाहट भन्ने सम्झेर हिँडिरहेको थिएँ अञ्चलाधीश कार्यालयतिर । अञ्चलाधीश कार्यालयका खरदार, बहिदारसित डेढरदुई घन्टाको बहसपछि म हातमा त्यही पत्रिका लिएर वकिल महोदयसित सरसल्लाह माग्न गए । वकिल महोदयले जसको अन्तर्वार्ता छापेर तिमीहरूले सजायँ पायौ एकपटक उहाँलाई नै भेट्दा कसो होला ? भनेपछि म त तयार भएँ, तर काकाद्वय जे कारणले असमञ्जसमा परेका थिए म त्यसैलाई कारण बनाएर मेरा वकिल मित्रसहित चाबहिल पुगेँ । चउर जस्तो देखिने फराकिलो ठाउँमा हामी बाहेक अरू पनि केही प्रतीक्षारत थिए । पर्खिएको बिस मिनेटपछि हाम्रा नायक प्रकट हुनुभयो ।
जहाँबाट म उनलाई हेरिरहेको थिएँ, त्यहाँसम्म उनलाई आइपुग्न करिब तीन मिनट लाग्थ्यो वा त्यति पनि लाग्दैनथियो तर त्यति समयमा मैले मेरो जीवनका ती सबै घटना प्रतिघटना सम्झेँ जसका निम्ति आज मैले बीपीलाई भेट्न चाहेको थिएँ । म नमस्ते गरेकै अवस्थामा बीपीको कुरा सुनिरहेको थिएँ, मेरा वकिल मित्रले सबै कानूनी उपचारका कुरा बताइसकेका थिए । मैले आफ्नो कुरा भन्न नपाउँदै हामीलाई बिदा भनिसकिएको थियो । म त मौन नै थिएँ । बिदा हुनु अघि मैले उनलाई नेवारभाषाको पत्रिकाको निम्ति एउटा कथा उपलब्ध गराइदिन पत्र दिएँ । कहिलेसम्मलाई ? समय कति छ ? उनले पत्र हेर्दै फेरि सम्पर्क गर्ने वा भेट गर्ने कुरा गरे ।

मैले भनें, भेट नै गर्न पाए राम्रो हुन्थ्यो ।
उसो भए पर्सि । बीपीले भने ।
पर्सी के त रचना लिन आउने कि यही कानूनी सल्लाह गर्न आउने त्यो चाहिँ सोध्न बिर्सेछ ।
फर्केँ ।
पर्सिपल्ट कथाको आशा गरेर पुगेँ ।
त्यो दिन कथा त होइन एउटा कथा सुनेँ, रोचक कथा ।

त्यो रोचक कथा पण्डित, डाक्टर, गाउँ र रोगीमाथि केन्द्रित थियो । कथाको मूलसार थियो, गाउँका मान्छे औषधी खान नपाएर होइन, खानै नपाएर बिरामी भएका हुन् । त्यो कथा सुनेपछि मेरो कथा दुई भागमा बाँडियो, या त म बाँकी जीवनभर राजनीति गरुँ या त भाषासेवा भनेरक्रान्तिका कुरा नगरुँ ? कथाको अर्को प्रभाव पर्न गयो, म उनीसित अब कथा होइन अर्को भेटमा अन्तर्वार्ता गरुँ कि बरु भन्ने ? कथा सुनेको पच्चिस मिनेटपछि म घर पुगेँ तर त्यसको बिस पच्चिस दिनसम्म पनि म बीपीसित गरिने अन्तर्वार्ताको निम्ति तयार थिइँन, न प्रश्न नै तयार थिए न त फोटोग्राफर । मैले यसरी नै त्यो बिस पच्चिस दिनमा एउटा शीर्षक जुराएँ, बीपी, समय र संवाद । एकदिन कलेजमा यसै अल्मलिरहेको थिएँ, एक सहपाठीले भने राजाको सम्बोधन सुनेको हो ? यत्रो ठूलो मान्छे मर्दा पनि यस्तो सम्बोधन दिने हो ? भने । मैले को के भयो र भन्न नपाउँदै केही विद्यार्थी कक्षा बहिष्कार भन्दै बाहिर हुर्रिए, बीपी जिन्दावाद । बीपी अमर रहून् ।

म भित्तामा हुर्रिएर ठोक्किन पुगेँ, सुनिएको कुरा कति सत्य हो भन्ने ज्ञानै नराखी म चाबहिल पुगेँ । मलाई कसले त्यहाँसम्म साथ दियो, कसरी त्यहाँसम्म आएँ । ज्ञानै भएन । मेरा अगाडि जुत्ताको थुप्रो देखेँ, मैले पनि चपू चाप जुत्ता खोलेँ र अगि बढेँ पार्थिव शरीर भएतिर । मलाई कसैले तानेर ल यो भाइलाई यता राखूँ यता भने, मलाई कसैले हातमा धूप थमाइदिए, म धूप समातेर नजिकै पुगेँ । म बसेकै छेवमा मैले नचिनेका धेरै मान्छे थिए । मेरा अगाडि थुप्रै क्यामेरा बोकेका मान्छे थिए, फोटो खिँच्दै गरेका । मेरो हृदयमा पनि एउटा फोटो खिँचियो, त्यो पहिलो भेटको । समय कति छ ? भनिएको दिनको ।फेरि अर्को फोटो आयो जुन खिँचिएको थिएन, म बीपीसित अन्तर्वार्ता गर्दै थिएँ । यसैबीच बीपीको महायात्रा सुरु भयो जुन नेपाली जनस्थानको विशाल शवयात्रा मानिन्छ त्यसमा म पनि सहभागी थिएँ, नेपाली साहित्यको एक पाठक, बीपीको कथाको एक दर्शक भएर । बेलाबेलामा म बीपीसित गरिने भनिएको त्यो अप्रत्याशित अन्तर्वार्ता अनि उनले सुनाएको कथाका पात्र पण्डित, पण्डितका छोरा चिकित्सक अनि गाउँका रोगी किसान र उनकी असहाय पत्नीलाई सम्झिन्छु । त्यो एउटा कथा जसको कथाकार बीपी आफैँ हुन् कि अरू कोही, त्यो पनि सम्झिन्छु । नेपाल टाइटल प्रेसमा छापिएको उनको अन्तर्वार्ता । यी सारा कुरा सम्झिँदै गर्दा अचानक मेरो मनमस्तिष्क अहिलेको बीपी सङ्ग्रहालयको भित्तामा सजिएको शवयात्राको तस्बीरमा पर्छ, सुताइएको बीपीको पार्थिव शरीर अनि सिरानीमा बसेको म ।

प्रश्नविहीन अन्तर्वार्ता । संवादविहीन भेट ।
(स्रोत : मधुपर्क २०७१ भदौ – वीपी विशेष)

प्रतिक्रिया दिनुहोस