एउटै दृष्टि, भिन्न कोण

प्रहरीले छोएलगत्तै पड्कियो बम

२०७६ मङ्सिर २८ गते शनिवार

काठमाडौँ धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा प्रहरीले गरेको सानो त्रुटिका कारण बम विष्फोट हुँदा तीन जनाको ज्यान गएको छ । क्षिरेश्वरनाथ नगरपालिका ५ स्थित महेन्द्रनगर निवासी राजेश साहको घरमा झुण्ड्याइएको बमलाई नेपाल प्रहरीको टोलीले छोएलगत्तै बिष्फोट भएको हो ।

बम विष्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल, घर धनी राजेश साह र उनका छोरा आनन्दको मृत्यु भएको छ । विष्फोटमा राजेशका एक छोरा, एक छोरी र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् ।

शुक्रबार राति ११ बजेतिर राजेशकी पत्नी शौच गर्न उठ्दा घरको गेटमा शंकास्पद बस्तु रातो रंगको झोलामा झुण्ड्याएको देखिन् । उनले यो कुराको जानकारी आफ्ना पति राजेशलाई गराइन् । राजेशले तत्कालै इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा खबर गरे । केहीबेरमै प्रहरी निरीक्षक अमिर दाहाल नेतृत्वको टोली आयो ।

प्रहरी निरीक्षक दाहालले झोला छुँदै ‘केही होइन’ भनेलगत्तै विष्फोट भएको भिखारीको भनाइ छ । घटनामा ज्यान गुमाएका राजेशका पिता भिखारी साहले भने, ‘प्रहरी निरीक्षक दाहाल आफैंले झोला छोएको केही सेकेण्डमै शक्तिशाली बिष्फोट भयो, सायद सेनाको टोलीलाई बोलाएको भए, यो क्षति हुने थिएन ।’

प्रतिक्रिया दिनुहोस