शिलोङमा गोर्खाको आगमन अनि बसोबास

बिक्रमवीर थापा

शिलोङमा गोर्खाको प्रवेश अनि बसोबासको इतिहास कोट्याउने हो भने अंग्रेजद्वारा भारतमा सञ्चालित इष्ट इण्डिया कम्पनी र नेपालबीच सन् १८१४–१६ मा भएको युद्धलाई सम्झनु पर्ने हुन्छ। युद्धमा अंग्रेजको जय र नेपालको पराजय भएको थियो।

Loading...

फलस्वरूप नेपालले इष्ट इण्डिया कम्पनीसँग सन्धि गर्नु पऱ्यो, जुन सन्धिलाई ‘सुगौली सन्धि’ भनिन्छ। सन्धिअन्तर्गत नेपालले आफ्नो दक्षिणी भूभाग ‘टिस्टादेखि सतलजसम्म’ इष्ट इण्डिया कम्पनीलाई दिनु पऱ्यो। यसरी टिस्टादेखि सतलजसम्मको भूभाग इस्ट इण्डिया अर्थात आजको भारतमा गाभियो।

यसले टिस्टादेखि सतलजसम्म बसोबास गरेका गोर्खाली स्वत भारतमा गाभिए। अर्को कुरा सुगौली सन्धि हुनु अगावै इष्ट इण्डिया कम्पनीले नेपालका ठिटाहरूलाई आफ्नो पल्टनमा भर्ती गराउन गोर्खा पल्टनको स्थापना गरेका थिए। नेपालका ठिटाले गोर्खा पल्टनमा भर्ती पाए र भारत आए।

हुन त नेपाल र भारतका बासिन्दा पौराणिक कालदेखि नै एकअर्काको देशमा आउजाउ गरेर बसोबास गर्दै आइरहेकै हुन्। तर त्यो नगन्य मात्रामा थियो। सुगौली सन्धिले दुवै देशका बासिन्दालाई व्यापक रूपमा आउजाउ गर्ने र बस्ने बाटो खोलिदियो।

शिलोङमा गोर्खाको आगमन र बसोबासको इतिहास

सुगौली सन्धिको फलस्वरूप गोर्खा पल्टनको स्थापना इष्ट इण्डिया कम्पनीले गऱ्यो। यसै क्रममा १९ फरवरी १८२४ मा ८ गोर्खा पल्टनको पहिलो बटालियन आजको बंगलादेशको सिलेटमा क्याप्टेन प्याट्रिक डजनले खडा गरे। जसको नाम थियो, १६ सिलेट लोकल बटालियन।

पल्टनको नाम समयको विकाश क्रमअनुसार फेरिँदै गयो। कहिले ‘४४ गोर्खा पल्टन’ भयो भने कहिले १ र ८ गोर्खा राइफल्स।

यही पल्टनका मेजर धनसिंह थापा, जो सन् १९६२ मा भारत–चीन युद्ध हुँदा परमवीर चक्रबाट सम्मानित भए। अहिले यो पल्टन गोर्खा राइफल्समा छैन। ३ मेकनाइज्ड इन्फेन्ट्री बटालियनमा परिवर्तन भइसकेको छ।

सन् १८२४ मा पल्टन खडा गर्नुको मूल उद्देश्य थियो, पूर्वाञ्चलको सीमा सुरक्षा गर्नु तथा बर्मा ९म्यान्मा० बाट अतिक्रमण गरि असम पसेका तथा असममा उत्पात मच्याएका बर्मेली [मान] लाई बर्मामै लखेट्नु।

पल्टन खडा भएपछि हाम्रा पुर्ख्यौली गोर्खा सिपाहीले मानसँग युद्ध गरे। युद्धमा गोर्खा सिपाहीले मानलाई पराजित गरे। यसपछि मानहरू र इष्ट इण्डिया कम्पनीबीच सन्धि भयो। जुन सन्धिलाई ‘यण्डुवा सन्धि’ भनिन्छ।

सन् १८३५ तिर पल्टनले आफ्नो बसाईं विश्वको सबैभन्दा बढी वर्षा हुने ठाउँ चेरापुञ्जीमा साऱ्यो। चेरापुञ्जीमा अधिक वर्षा हुने कारण यो पल्टन स्थायी बसोबासका लागि सन् १८६७ मा शिलोङ झर्यो। वास्तवमा पल्टन तल झर्दा शिलोङले शहरको घुम्टो पनि ओढिसकेको थिएन।
शिलोङ घनघोर जंगलले ढाकिएको निर्जन ठाउँ थियो। यहीँ विषयलाई लिएर कप्तान कालु थापालाई सोधिएको थियो– तपाईँ ८ गोर्खा पल्टनसँग सन् १८६७ मा शिलोङ आउँदा यहाँको अवस्था कस्तो थियोरु सन् १८५८ मा पल्टनमा भर्ती भएर ५–२–१८९७ मा पेन्सन पकाएका कालु थापाले भनेका थिए– म आउँदा शिलोङमा एउटा मूसा पनि थिएन। कालु थापा पछि शिलोङमै समाहित भए।

कालु थापाले त्यसो भन्नुको कारण थियो, उति बेला शिलोङमा मानिसको कुरा छोडौं मूसा पनि भित्रिएको थिएन। अक्सफोर्डद्वारा लिखित ८ गोर्खा राइफल्सको इतिहासमा वर्णन छ, ‘अंग्रेज अफिसरका साथ हाम्रा पूर्खा सिपाही १ र ८ गोर्खा पल्टनसँग शिलोङ आएपछि सन् १८६७ मा बल्ल निर्जन ठाउँले शिलोङ शहर हुने सौभाग्य प्राप्त गर्यो।

अर्को तथ्य यस्तो पनि छ। गौहाटी अर्थात अहिलेको गुवाहाटीमा साइमण्ड विलियमले सन् १८३५ मा असम सेबुण्डी कोर नामक पल्टन खडा गरेका थिए। साइमण्ड विलियम तिनै अफिसर हुन्, जसले सन् १८१४–१६ को नेपाल–इष्ट इण्डिया कम्पनी बीचको युद्धमा पनि भाग लिएका थिए।

पल्टन १८८० को दशकमा शिलोङ आयो। त्यस बेला यसको नाम परिवर्तन भएर ४३ गोर्खा पल्टन भनिन थाल्यो। अहिले यो पल्टन २ र ८ गोर्खा राइफल्स अर्थात् ८ गोर्खा राइफल्सको दोस्रो बटालियनमा परिवर्तित भएको छ।

४४ र ४३ गोर्खा पल्टनले शिलोङमा सँगै हुने अवसर पाएपछि यी पल्टनबाट पेन्सन पकाएर निस्केका कतिपय गोर्खालीहरू शिलोङमै बस्न थाले। फलस्वरूप शिलोङमा फौजी गोर्खा समाजको उद्भव भयो। पछि अफौजी गोर्खाली पनि पहाड घरबाट शिलोङ आए। यसरी आजको सिंगो गोर्खा समाज शिलोङमा जन्मियो।

प्रतिक्रिया दिनुहोस