एउटै दृष्टि, भिन्न कोण

दोहोरी र क्लबमा पनि यौनकर्मी

२०७६ पुष २१ गते सोमवार

काठमाडौँ । ठमेल यौनकर्मी र यौन क्रियाकपालको केन्द्र हो भनेर ‘रातो बत्ती’ बालिरहनु पर्दैन वा रातो बत्तीका लागि रात कुर्नुपर्ने अवस्था पनि छैन । यौन व्यवसायको मोलमोलाईले ठमेल रातमा मात्रै होइन, दिनमा पनि उत्तिकै तात्तिने गरेको छ । त्यहाँका गतिविधि हेर्दा यस्तो लाग्छ, मानौँ त्यो अघोषित ‘रेडलाइट’ एरिया बनेको छ ।

अहिले सडक, ठूला होटल, क्लब र डान्सबार मात्रै होइन, पछिल्लो समय दोहोरी साँझ पनि यौन व्यवसायका लागि ग्राहक र युवती भेट्ने थलो बन्दै गइरहेको छ ।

बाहिर देखाउनका लागि दोहोरी सञ्चालन गरेजस्तो गर्ने र अनि भित्रभित्र यौन व्यवसाय पनि सँगसँगै सञ्चालन हुने गरेको छ । ‘रेट’ तय हुनेबित्तिकै यौनकर्मी दोहोरीबाट ग्राहकसँग ट्याक्सीमा बसेर गन्तव्यतिर लाग्ने गरेका छन् ।

दोहोरी साँझलाई अहिले पनि मनोरञ्जनको ‘पारिवारिक केन्द्र’ मानिन्छ । परिवारका सबै सदस्य गएर दोहोरी सुन्न, हेर्न र मनोरञ्जन लिन मिल्ने स्थानका रूपमा दोहोरीलाई लिइन्छ ।

तर पछिल्लो समय कतिपय दोहोरी साँझ आफैले पनि यौनकर्मी युवती दोहोरीमा राख्ने गरेका छन् । कतिपय यौनकर्मी युवती चाहिँ दोहोरी साँझमा छिर्ने र ग्राहकसँग लहसिन थाल्ने गर्छन् । दोहोरी सञ्चालकलाई ती युवती पेसेवर यौनकर्मी हुन् भन्ने पनि थाहा छ ।

तर पनि युवती दोहोरीमा आएपछि व्यापार बढ्ने भएकाले उनीहरु चुपचाप बस्छन् र ती युवतीलाई नै प्रयोग गरेर आफ्नो व्यापार बढाउँछन् । जसको कारण अब दोहोरी साँझ पनि दोहोरी मात्रै हो भन्ने अवस्था छैन ।

साँघुरो र अँध्यारो गल्लीभित्र उकुस–मुकुस लाग्दो घरको भुइँतलामा सञ्चालित अधिकांश रेस्टुरेन्ट र दोहोरीमा यौनकर्मी भेटिन्छन् । पहिलो पल्ट त्यस्ता गल्लीभित्र पस्ने कसैले पनि ती रेस्टुरेन्ट तथा दोहोरीमा ग्राहकको ओइरो लाग्नुको रहस्यबारे खासै चाल पाउँदैनन् । केही समयको बसाइपछि रहस्य थाहा पाउँछन् र यौन प्यास मेट्न त्यहाँ छिर्छन् ।

तीन सयदेखि एक हजारसम्म मोलतोल

ठमेलमा यौन व्यवसायमा संलग्न यौनकर्मीहरु बढेपछि यौनदरमा पनि केही खुकुलोपन देखिएको छ । ठमेलमा यौन व्यवसाय गर्नेहरुको पनि विभिन्न क्याटागोरीमा भाउ छ ।

ठमेलका यौनकर्मीहरु न्यूनतम ३ सय रुपैयाँदेखि ५ सय र १ हजारसम्ममा देह व्यापारमा लाग्ने गरेका छन् । तर यसले ठमेलको समाजभित्र भने नराम्रो असर पारेको छ ।

ठमेलमा सञ्चालित चिया पसलदेखि रेस्टुराँसम्म पटके देहव्यापार गर्नेहरुको वर्चस्व बढी छ भने साँझ परेपछि खुलेआम सडकमा देहव्यापार गर्नेहरुको पनि भीड भने कमी छैन ।

बिहान ११ बजेदेखि बेलुकी ७ बजेसम्म देहव्यापार गर्ने र गराउनेहरुको एउटा समूह छ भने साँझ पर्नासाथ सडकमै आएर मोलमोलाई गरेर शरीर सुम्पने अर्कोथरी यौनकर्मीहरु छन् ।

ग्राहकको इच्छाअनुसार काम हुन्छ

एउटा समूह ग्राहकसँग गएपछि भित्र गल्लीतिर लुकेर बसेका यौनकर्मीहरूको अर्को समूह बाहिर आउँछन् । अनि अर्को ग्राहकलाई फकाएर त्यसरी नै आफ्नो गन्तव्यतिर लैजाने गर्छन् ।

होटल र ट्याक्सी खर्च ग्राहकले बेहोर्ने गरी उनीहरू ५ सयदेखि १ हजार ५ सय रुपैयाँमा ग्राहकसँग जान तयार भएको पाइन्छ । ‘हामी ग्राहकको इच्छा बमोजिम ट्याक्सीभित्रै, होटेल वा डेरा कोठामा गए पनि हुन्छ,’ सुर्खेत घर भएकी अन्दाजी १६ वर्षीय एक यौन व्यवसायीले बताइन् ।

१० हजारभन्दा बढी यौनकर्मी

काठमाडौँ उपत्यकामा मात्रै १० हजारभन्दा माथि यौनकर्मीको सङ्ख्या रहेको अनुमान गरिएको छ । राजधानीको सडकमा क्षेत्री, बाहुन, विभिन्न जातजाति, हिमाल, पहाड तथा तराई सबै भूभागका यौनकर्मी यो पेसामा संलग्न छन् ।

एक सर्वेक्षणअनुसार ठमेलमा भेटिने अधिकांश यौनकर्मीहरुको विगतमा पतिले दिएको पीडा, धोखा, कष्ट र अपमानसँग जोडिएको थियो । बच्चा हुर्काउन र पढाउनका लागि प्रहरीको धरपकड र घोर अपमान सहेर पनि उनीहरू यौन पेसामा लागेको पाइएको छ ।

स्थानीयवासी आजित

ठमेलको यो परम्परागत समस्याबाट स्थानीयवासी आजित भइसकेका छन् । स्थानीयवासीका अनुसार पर्यटकको हब मानिने ठमेलमा यो समस्याले जरो गाडेको छ ।

यौनजन्य गतिविधिका लागि निकै संवेदनशील मानिने ठमेलको सञ्चयकोषदेखि कान्तिपथतर्फको आधा ज्याठा एरिया दरबारमार्ग प्रहरी र सञ्चयकोषदेखि पश्चिमतर्फको ठमेल सोह्रखुट्टे वृत्तको मातहतमा पर्छ ।

ठमेल ज्याठाका स्थानीय कुलदीप महर्जन भन्छन्, ‘प्रहरी देखे पनि नदेखेझैँ बाटो लाग्छन् किनकि उनीहरुको राम्रो आम्दानीको स्रोत देहव्यापारी र व्यवसायी हुन् ।’

यस्तै सोह्रखुट्टेका स्थानीय जनार्दन अर्यालका अनुसार पर्यटकीय क्षेत्रका रूपमा परिचित ठमेलको वातावरणलाई राम्रो बनाउनु ठमेल पर्यटन विकास परिषद्को पनि कर्तव्य हो । तर परिषद्का कार्यसमिति कानमा तेल हालेर बसेको छ । परिषद्लाई ठमेलमा कस्ता गतिविधि हुन्छन् भन्नेसमेत थाहा हुँदैन ।

प्रतिक्रिया दिनुहोस