सांसद पद गुमेपछि अर्थमन्त्री युवराज खतिवडाले दिए राजीनामा

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। मंगलबारै राष्ट्रियसभाको दुई वर्षे कार्यकाल सकिएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका हुन्।

खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यहरुको मंगलबारदेखि नै कार्यकाल सकिएको छ। खतिवडाले मुख्य सचिव लोकदर्शन रेग्मीमार्फत राजीनामा दिएका हुन्।

Loading...

मंगलबार राजीनामा दिएका खतिवडाले बुधबार पुन: मन्त्री पदको कार्यभार सम्हाल्ने छन्। उनले बुधबार अर्थ र सञ्‍चार मन्त्रीको नियुक्ति लिएर सपथग्रहण गर्ने बताइएको छ। यसअघि कार्यकाल विभाजनका क्रममा गोलाप्रथा गरिँदा खतिवडासहित १९ जना राष्ट्रियसभा सदस्यले २ वर्षे कार्यकालको चिट्ठा उठाएका थिए।

उनीसँगै आजदेखि १९ सदस्यको कार्यकाल सकिएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले बिदाइ गरेका छन्। राजीनमा दिए पनि खतिवडा आगामी ६ महिनासम्म मन्त्री हुन पाउनेछन्। यही संवैधानिक प्रावधान अनुसार खतिवडालाई बुधबार पुन: मन्त्रीमा नियुक्त गर्न लागिएको हो। खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमा पुन:नियुक्त गर्ने जानकारी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले दिएका छन्।

संवैधानिक व्यवस्था अनुसार सांसद नभए पनि खतिवडाले मन्त्रीका रुपमा ६ महिनासम्म काम गर्न पाउनेछन्। खतिवडा मन्त्रीमा कायमै रहेको अवस्थामा नयाँ आर्थिक वर्षको बजेट पनि ल्याउनेछन्। खतिवडासँग सेयर बजार असन्तुष्ट छ। उनी हट्ने संकेत पाएसँगै केही दिनअघि सेयर बजार बढेको थियो।

तर खतिवडाले निरन्तरता पाउने खबरले सेयर बजार पुन: ओरालो यात्रामा छ। मन्त्री खतिवडा राष्ट्रपति विद्यादेवी भण्डारीले मनोनित गर्ने कोटाबाट राष्ट्रिय सभामा आएका थिए। तर केही दिनअघि नेकपा सचिवालय बैठकले राष्ट्रपतिबाट मनोनित गर्ने कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउने निर्णय गरेको छ।

तर उक्त निर्णयलाई पार्टीका एकजना अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अस्वीकार गरिदिएका छन्। यही विवादका कारण राष्ट्रियसभामा को जाने भन्‍ने समस्या नेकपाभित्र कायमै छ।

यसअघि नेकपा नेकपा स्थायी कमिटी बैठकले एकै व्यक्तिलाई दुई पटक राष्ट्रियसभामा नपठाउने निर्णय गरेको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओली खतिवडाको पक्षमा उभिएका छन्।

प्रतिक्रिया दिनुहोस