मनाङ–मस्र्याङ्दीले जित्यो आहा रारा गोल्डकपको उपाधि

२०७६ चैत्र १ गते शनिवार

मनाङ–मस्र्याङ्दीले जित्यो आहा रारा गोल्डकपको उपाधि १८ औं संस्करणको आहा–रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मनाङ–मस्र्याङदी क्लबले जितेको छ । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै मनाङले उपाधि जितेको हो ।
मोफसलमै प्रतिष्ठित आहा–रारा गोल्डकप फुटबल प्रतियोगितामा निर्धारित ९० मिनेट थप गरिएको ३० मिनेटमा पनि दुबै तर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाईब्रेकरबाट लिइएको हो ।
टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज बिके र रन्जन विष्टले गोल गरेका थिए भने निशान लिम्बूको प्रहार पुलिसका गोलरक्षक रोशन खड्काले बचाएका थिए ।
त्यस्तै पुलिसका लागि भोला सिलवाल, हेम तामाङ र बुद्ध बलको प्रहारले जाली चुम्दा अजित भण्डारी र तेज तामाङको प्रहारमा मनाङका गोलरक्षक अशोक बरालले रोकेका थिए ।
मनाङले उपाधिसहित १० लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको पुलिसले ५ लाख १ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस