एउटै दृष्टि, भिन्न कोण

बन्दाबन्दीको समय बनोस् अमूल्य – साहित्यकार कुसुम

२०७७ बैशाख ४ गते बिहिवार
  •  कुसुम गौतम (साहित्यकार, म्यान्मार)

साहित्यकार – कुसुम गौतम

सन् २०१९ ले विश्वमा एउटा यस्तो सौगात छाडेर गयो..। फलस्वरुप आज मानव समाज, मानव सभ्यता र मानव सत्तामाथि एउटा ठूलो प्रश्न चिन्ह लागिरहेको छ। के हो यस्तो डरलाग्दो सौगात!

त्राहिमाम् त्राहिमाम् मच्चिरहेको छ। हाहाकार, डर, त्रास र आँशुको कुहिरोभित्र डुब्दै–डुब्दै कतै यो संसार नै विनास तर्फ ढल्किने त हैन! सन् २०१९ ले दिएको सौगात कोभिड–१९ (कोरोना) को नामले विश्व प्रख्यात भइरहेको छ। तर, त्यसको जन्म कसरी भयो भन्ने कुरा अझैसम्म थाहा भएको छैन।

कोरोना चीनको वुहान शहरबाट भन्ने थाहा भए पनि जन्मदाता को हो भन्ने कुरामा अनुसन्धान भइनै रहेको छ। वुहानबाट फैलिएर आज विश्व घुमिरहेको कोभिड–१९ को प्रकोपबाट बच्न वैज्ञानिकले अहिलेसम्म पत्ता लगाएको एक मात्र औषधी हो – घरमा बस्ने, सुरक्षित रहने।

आफू आफैंलाई र आफ्नो परिवारलाई यो डरलाग्दो रोगबाट बचाउन बन्दाबन्दी (लकडाउन) मा बस्नु हामी सबैको दायित्व बनेको छ।

विश्व नै एउटा युद्वभूमि बनेको छ र घरहरु जेल जस्तो – मलाई लाग्छ। प्रकृतिले हामीलाई दिएको दण्ड हो यो। अर्कोतिर हेर्ने हो भने हामी लोभ, भोग, मोह, अहंकार, सत्ताको पछि दौडदाँ दौडदै आफ्नो र परिवारका लागि समय दिन छोड्यौँ।

‘कहिल्यै नटुङ्गिने सफर जिन्दगानी, अनन्त मृगतृष्णाको लहर जिन्दगानी’ भने झैँ हामी पनि बालुवाको कणलाई पानी सम्झेर पछि लागेको मृग झैँ भएका छौँ कहिल्यै नटुङ्गिने इच्छा आकाङ्क्षा लिएर। त्यसै कारण प्रकृतिले हामीलाई परिवारको साथमा समय बिताउन इशारा गरिरहेको पनि हुनसक्छ। हामी कुनै कुनै कुरालाई नकारात्मकबाट सकारात्मक सोँच तर्फ ल्याउन सके जीवन धेरै लाभदायक बन्न पुग्छ।

सोचिरहेकी छु – म यो बन्दाबन्दी समय कसरी सदुपयोगमा ल्याउने! मुहार पुस्तकमा कतिपय मान्छेहरु किताब पढेर समयको सदुपयोग गरिरहेका छन् भने कति स्वादिष्ट खाने कुरा पकाएर परिवारका साथ समय विताइरहेका छन्।

कोही जनकल्याणका लागि घरमा बसेर फेस मास्क बनाइरहेका पोस्ट गरेको देख्दा आफूभित्र पनि केही राम्रो काम अवश्य गर्नु नै पर्छ, यी समयहरु खेर नजाओस् भन्ने चेतना व्यूँझेर आउँछ। टिभिमा समाचार हेर्ने, हजुरआमाबाट लोक कथाहरू सुन्ने समय, किताब पढ्नका लागि प्रसस्त समय मिल्यो हामीलाई। तर अबसोस्! हाम्रो टमूमा एउटा पनि नेपाली पुस्तकालय नहूँदा पुराना किताबहरु नै दोहोर्‍याएर पढिरहेँ। धेरै समयदेखि मेरो मनमा कविता संग्रह प्रकाशन गर्न पाए हुन्थ्यो भन्ने इच्छा लागिरहेको थियो।

पहिलो कविता संग्रह “सलबलाएका सपनाहरु” प्रकाशनपछि साहित्य जगतमा फेरि यस्तो कदम राख्न सकेकै थिइनँ। हुन त समयको अभावले मात्र त होइन यो काम पुरा गर्न नसकेको । मेरो अर्को इच्छा के छ भने दोस्रो कविता संग्रहमा गद्य कविता मात्र नभएर पद्य कविताहरू पनि समेट्न सकौं। तर पनि छन्दोबद्ध कविता सिक्ने समय मिलेको थिएन। व्यवसाय र घरको काम धन्दाले गर्दा त्यता तिर फर्किन सकेकी थिइनँ।

म्यान्माली नेपाली साहित्य समाजमा साहित्यको थप बिरुवा रोप्ने उद्धेश्यले म छन्द कविता लेख्ने प्रयास गरिरहेकी छु। त्यसै कारण यो बन्दाबन्दीको समय मेरो लागि अमूल्य रत्न भएको छ। म यो बन्दाबन्दीको समय आगामी कविता संग्रहको लागि छन्दबद्ध कविता लेख्ने प्रयासमा छु। कोभिड–१९ बाट सुरक्षित हुनका लागि घरमा बसेर विश्वको, देशको, समाजको, परिवारको र आफ्नो रक्षा गर्दै यो समयको सदुपयोग गरौं।

प्रतिक्रिया दिनुहोस