एउटै दृष्टि, भिन्न कोण

मेरो कोरोना डायरी – विष्णु पन्थी !

२०७७ बैशाख ४ गते बिहिवार
  • विष्णु पन्थी 

थियो धोको मेरो लेख्ने एउटा सटीक सायरी।

तर ‘उनको’ आग्रहमा लेख्न लागेँ म डायरी।।

खोजेँ मेरो कलम, कापि, मेच, कुर्सी उता–यता।

लोडसेडिङको अँध्यारोमा लड्खडाउँदै बसेँ म ता।।

सामान्यतः डायरी धेरैले बिना कारण नै लेख्छन्। तर समय, काल परिस्थितिवश कुनै दिन त्यो वाहियात मानिएको काम ऊ आफैंलाई या अन्य व्यक्ति, समाज या राष्ट्रलाई समेत अत्यन्तै उपयोगी आधारमूलक दस्तावेजमा परिणत हुनपुग्छ।

यीनै डायरीहरूको भरमा हजारौं पुस्तक लेखिन्छन्। यीनैको सहयोगले कतिपय रहस्यहरूको छर्लङ्ग खुलासा हुन्छ। त्यसैले इतिहासकारहरू र विभिन्न विषयका शोधकर्ताहरू पेशागतरूपमा यस्तै लुकेका डायरीहरूलाई ढुकेका हुन्छन्।

धेरैजसो बहुचर्चित डायरीहरू झ्यालखानामा, कारागारमा, दुस्साहसी कार्य गर्दा यात्रामा लेखिएको पाइन्छ। नेपालका आदिकवि भानुभक्त आचार्यले समेत आफू कारणवश कारावासमा रहनुपर्दा भानुकृत रामायणको केही भाग दैनिक कार्यको रूपमा लेखेको तथ्यलाई यहाँ प्रासंगिक मान्न सकिन्छ।

उदाहरणका लागि यस परिप्रेक्षमा केही विशेष व्यक्तित्वहरू सम्झनुपर्दा भारतका सर्वप्रथम प्रधानमन्त्री पं जवाहर लाल नेहरूले आफ्नी छोरी ईन्दिरा (पछि प्रधानमन्त्री ईन्दिरा गान्धी) लाई कारागृहबाट लेखेको पत्र–डायरी, ब्रिटेनका प्रख्यात उपन्यासकार जर्ज अर्वेलले म्यान्मामा उपनिवेशकाल छँदा लेखेको डायरी इत्यादि।

एक ताका विद्यार्थी जीवनकालमा डायरी लेख्ने रहर लाग्यो र केही वर्षसम्म लेखेको थिएँ मैले पनि। वास्तवमा डायरीको उपयोगिता विषय केही पुस्तक पढेपछि म धेरै प्रभावित भएको थिएँ। त्यसताका (सन् १९६०–७५) पुस्तक पढ्नु र चलचित्र हेर्नु नै मनोरञ्जनको मुख्य साधन हुनेगर्थ्यो। चाडबाडमा भने नाटक इत्यादिमा सहभागी हुन्थेँ। नाच्न गाउन पनि अग्रसर रहन्थेँ। सुन्दर सजिएका विभिन्न आकारका साना पाकिट साईजबाट पुस्तक साईजसम्मका डायरी सालाना ईस्वी नयाँ वर्ष ताका उपहारमा प्राप्त हुनेगर्थे। जाँगर हुनसम्म लेख्दै गएँ। पढेर आर्जन गरेका केही कुराहरूलाई कोरेर राख्ने बानी त छँदै थियो। व्यावसायिक जीवनमा प्रवेश गरेपछि डायरी लेख्ने बानी समयको अभावले कतिखेर आफैं उछिट्टिएछ थाहै भएन।

आज विज्ञानको विकासका साथै डायरी लेख्ने साधन र तरीकामा पनि ठूलो परिवर्तन आएको छ। आज मोबाइल फोनमा नै सोझै डायरीमा लेख्न सकिन्छ। आजको जीवन शैलीले पनि ठूलो फड्को मारिसकेको छ। नाडीमा हाते घडी लाउने, शब्दकोशको मोटो पुस्तक साथै राख्ने, पाकिट क्यालेन्डर गोजीमा राख्ने जस्ता कुरा आज पुरानिएर थन्किन पुगे। त्यो सबै काम आज मोबाइलले नै एक्लै गरिदिन्छ।

यसपटकको महामारी लकडाउन (मार्च २० ता. पछि आजसम्म) समयमा प्रातःको नियमित योगासन अथवा छोटो हिँडडुल र ततपश्चात नित्य पूजापाठ पछि मैले प्रथम दश दिनसम्म सामाजिक विषयलाई समय दिएँ। केही मैले घरैबाट गर्न सकिने अथवा मेरो सहयोगको अपेक्षा गरिएका कार्यहरूलाई केही हदसम्म हल गरेँ। त्यस पछि पढ्न रहेका केही अंग्रेजी, हिन्दी र नेपाली उपन्यासहरू टेबलमा तालिकाबद्ध टकारेर पालै सित पढ्ने क्रमलाई निरन्तरता दिएको छु। त्यसमा म्यान्माको दैनिक समाचार पत्र पनि समावेश गरिएको छ।

उपरोक्त दैनिक पठन कार्यक्रमको मुख्य बाधक हो मोबाइलबाट प्राप्त हुने लिंकहरू– कोरोनायुग हुनाले दैनिक अपडेट् हुने समाचारहरूप्रति चासो लिन अनिवार्य ठान्दछु। यसका साथै समसामयिक विषयहरूमा (विशेष रूपमा कोरोना सम्बन्धित) आफ्नो विचारहरूलाई अंग्रेजी र नेपाली भाषाहरूमा कविता, आत्मकथा, डायरी लेखनजस्ता विभिन्न विधाहरूमा सामाजिक सञ्जाल मार्फत नियमित टक्राइरहेको छु। यो क्रम कहिलेसम्म चल्ने हो कोभिड–१९को जो निगाह…

अहिलेको महामारीको लागि राष्ट्रियस्तरमा निर्देशित विश्रामकालले कहिलै नबिर्सने गरि हाम्रो मानसपटलमा छाप छाड्ने निश्चित छ। यसको त्रास समाप्त भएपछि एक दिन सबै पुनः आ-आफ्ना दैनिक काममा लाग्नेछन्। त्यतिबेला कहिलेकाहीं हामीलाई कोरोनाकालको सम्झना अवश्य आउने छ तर हामीमधे कतिपयले ती बितेको तीतो सत्यमाथि बहस गर्न अनावश्यक सम्झनेछौं भने कतिपयले दिक्दार गराएको हुनाले नजर अन्दाज गर्न खोज्नेछौं। तर चाहे पनि नचाहे पनि थाकिनेगरि विश्राम गर्नपरेको सम्झनाले त हाम्रो पीछा छोड्ला जस्तो लाग्दैन।

छाडेन यो कोरोनाले कुनै गाउँ कुनै शहर।

फैलिँदै छ तेजिलो भै संक्रामक रोगको कहर।।

गुहार पनि सुनेनन् खै दैव नै परे कि कतै।

शिव !! शिव !! भनेका छन् विश्वभरि जताततै।।

प्रतिक्रिया दिनुहोस