एउटै दृष्टि, भिन्न कोण

हजारौँ हातको हस्ताक्षर

२०७७ बैशाख ४ गते बिहिवार
  • मनोज बिश्वकर्मा

जब आधा तिमी आई पुगेको थियौ मभित्र
सिङ्गो पार्न छाडेको थिएँ
केही हस्ताक्षर,

त्यो रक्तमांस डल्लामाथि
नौ महिनासम्म
चलमलाएरै सक्किए केही हस्ताक्षर,

मेरा कुमारी स्तनहरू चुसेर
राता भएका तिम्रा ओठहरूमा लतपतिएको मातृत्व पुछ्न सल्बलाएँ केही हस्ताक्षर,

हिँउदका सूर्यजस्ता बिहानहरूमा
घोप्टो पारेर तिम्रो फुच्चे ढाडलाई
तेलमा चोपलेर आैँलाहरू गरेको थिएँ केही हस्ताक्षर,

एम्बुलेन्सभित्रको बेडमा
-आफ्नै आँसु पुछ्न
-हिक्क हिक्क गरिरहेका तिम्रा स्वास सुम्सुम्याउन
खसे केही हस्ताक्षर,

तिम्रा पर्यटक पाइतालाहरू
पृथ्वीको निधारभरि टल्किरहोस् भनी
छाडेँ आफ्नै भागका उज्याला हस्ताक्षर,

हजारौँ हातले गर्दागर्दै हस्ताक्षर
‘एक’भन्दा थोरै हस्ताक्षर
लगे ‘सिमोन दि बुभा’हरूले
योगमायाहरूले पनि बोकिहिडे बन्दुकजस्ता ताता हस्ताक्षर,
माया एन्जेलोहरू आज पनि लेख्छन्
आगोका हस्ताक्षर,

तर तिमी त छाप्छौ
नग्न लेडी गागा
र पूँजीवादको झण्डाले छोप्छौ सत्ताको कुरूप अनुहार ।

किन मुन्टो बटारेर हिड्छ
हजारौं हातको हस्ताक्षरमा टेकेर उभिएको यो तानाशाह समय ?
किन त्यो हिडाइको पदचापभरि अहंको कोरस गुञ्जिन्छ ?

म सोध्न चाहन्छु….

यति निर्लज्ज हिडेर पुग्ने ‘आकाश’मा
झुण्डिएको छैन भने जून
तिम्रो अनिँदो सभ्यता नबौलाउन सक्छ..?

– बिश्वव्यापी कविता प्रतियोगिता-२०७६ मा सर्बोत्त्कृष्ट हुन सफल कबिता

प्रतिक्रिया दिनुहोस