एउटै दृष्टि, भिन्न कोण

राज्य गम्भीर र जिम्मेवार देखिएन

२०७७ बैशाख ४ गते बिहिवार
  • दिलिप आचार्य

राज्य किन चाहिन्छ? नागरिकहरुले सधैँ राज्य खोज्दैनन्। जब आम नागरिकले राज्य गुहारिरहेका हुन्छन् – त्यो समय राज्यको भूमिका र जिम्मेवारी कतिसम्म फेरिनुपर्ला?– प्रश्न?

संसार कोभिड–१९ को मारमा परेको छ। सायदै, कम मुलुकहरु रोएका छैनन्। बाँकी मानिसहरुको पछिल्लो जीवनशैली बताइरहनु पर्दैन। चीनको वुहान शहरबाट फैलिएको कोरोन भाइरस लगभग दुई महिनापछि युरोपमा नयाँ केन्द्र बनेको छ। विकसित मुलुकको कोरोना रोकथामको गति गर्दा नेपाल, भारतको भन्दा पनि नाजुक जस्तो देखिन्छ।

युरोप नयाँ केन्द्र बने पनि दक्षिण एसियाका नेपाल, भारत कोरोनाबाट टाढा हुन सकेनन्। भलै, नेपालमा अहिलेसम्म कसैले पनि कोरोनाबाट ज्यान गुमाएका छैनन्। आशा  र प्रार्थाना गरौं – नेपालले कोरोना जित्नेछ।

माथि उल्लेख गरेझैं – नेपाली जनताको स्वास्थ्य सुरक्षाका लागि नेपाल सरकारले कतिसम्म राम्रा काम गर्‍यो त? कि, स्वास्थ्य सामाग्री ल्याउने  नाममा कतै भ्रष्टाचार गरेको गन्ध पो आयो? अहँ… सरकार आफ्ना नागरिकप्रति गम्भीर र जिम्मेवार देखिएन। कतिसम्म देखिएन भन्दा – आफ्नो मातृभूमि फर्कन ज्यान जोखिममा राखेर महाकालीमा हाम्फाल्ने नागरिक नांगो कि आफ्ना नागरिकको रक्षा गर्न नसक्ने सरकार नांगो?

विश्व महामारीको चपेटामा परको छ। नेपाल पनि अछुतो छैन। यस्तो अबस्थामा यतिसम्म घृणत हर्कत गर्ने र स्वास्थ्य सामाग्री खरिदमा करोडौंको भ्रष्टाचार गर्ने युवा कमरेडहरूलाई कुन शब्दले सम्बोधन गर्ने? प्रधानमन्त्रीज्यू तपाईले केही महिना अघि भन्नुभएको थियो – अब भ्रष्टाचारीहरुको भागाभग हुन्छ? आज त भ्रष्टाचारीको तपाई वरिपरि नै रामरमिता छ? आहाँ – कस्तो रमाईलो मजाक है… प्रधानमन्त्रीज्यू? कृपया, यसलाई मजाक नठान्नुहोला? यो गम्भीर अपराध हो। संकटको घडीमा राज्यले लय गुमाउनु भनेको जनताको विश्वास र मतमा लात हान्नु जस्तै हो?

देशमा कलकारखाना छैनन्। शिक्षा क्षेत्रमा समेत माफियाहरुको रजगज छ। यस्तो अवस्थामा रोजगारी र शिक्षाका लागि भारत आउनुपर्ने प्रायः नेपाली नागरिकको बाध्यता हो। यहाँ अहिले पनि हजारौं नेपाली नागरिकहरु अलपत्र अवस्थामा छन्। उनीहरुको रोगभन्दा पहिले भोगले मर्ने अवस्था श्रृजित हुन थालेको छ। सरकारको आधिकारिक निकाय दूतावासले के गर्दै होला? प्रवासी नागरिकहरुले अहिलेसम्म पनि सरकार…सरकार…। दूतावास…दूतावास… भनिनै रहेका छन्। तरपनि, न सरकार बोल्न या गर्छ, न दूतावास नै?

भारतीय राजनीतिको हरेक प्रभाव पर्ने नेपाली राजनीतिमा राम्रो कामको प्रभाव चाहिँ किन पर्दैन? जस्तै – कोरोनाको आतंक भारतमा फैलिने संकेत हुँदा सरकारले संक्रमित देशबाट आफ्ना नागरिकहरु ल्याउने काममा पहिले नै तिब्रता दियो। कोरोना संक्रमित देशबाट फर्किन चाहने जनतालाई जयपुरमा सुरक्षित राख्ने कामले सरकारका हरेक निर्णयमा जनताको पूर्ण समर्थन देखियो। अहिले प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका हरेक निर्णयमा भारतीय जनता साथमा छन्। किनकि, यहाँ जनताले सरकारले जनताप्रति देखाएको जिम्मेवारी बुझेका छन्।

नेपाल सरकारले आफ्ना नागरिक महाकाली नदीमा हाम्फल्दा समेत प्रवासी नेपालीहरुको दुखेको सुन्ने वा बुझ्ने चेस्टा गर्दैन। भारतमा अलपत्र परेका नेपालीहरु दिनानुदिन रोइरहेको अवस्थामा दिल्ली दूतावासको कुनै रोल देखिएन। यस्तो गम्भीर समयमा दूतावास चुपचाप हुनु निकै दुःखद पक्ष हो। अहिलेसम्म दिल्ली दूतावासले भारतका बिभिन्न शहरहरुमा कति नेपालीहरु अलपत्र छन् वा उद्धार गरिए भन्ने तथ्यांक देखाउन सक्ला। पक्कै पनि सक्दैन, किनभने दूतावास गम्भीर निन्द्रामा परेको छ।

कोभिड–१९ ले विश्व परिदृश्यमा मानव जीवनको स्वास्थ्य मात्र नभई आर्थिक क्षेत्रमा समेत चुनौती थपेको छ। नेपाली अर्थतन्त्रमा समेत यसले ठूलो संकट थप्नेछ। पहिले नै आर्थिक मन्दीको सामना गरिरहेका भारतलगायत अधिकांश देशहरू संकटको अवस्थामा छन्। बहुराष्ट्रिय कम्पनीले आफ्ना कामदारहरूलाई घरबाट काम गर्न लगाएका छन्। सरकारले सुरुदेखि नै कोरोना भाइरसलाई नियन्त्रण गर्न गम्भीर प्रयासहरू गर्दा समेत कोरोनाबाट मृत्यु हुने र बिरामीहरुको संख्या बढिरहेको छ। यो अवस्था केही महिना कायमै रहे रोगजारीमा ठूलो समस्या आउने विज्ञहरुले औँल्याएका छन्।

र प्राचीन कालदेखि हालसम्म मानिसहरूले आफ्नो रोग प्रतिरोध क्षमताको बलमा थुप्रै रोगहरू जितेका छन्। आशा गरौं – कोरोना भाइरस पनि हामीहरु जित्नेछौं।

श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन्।

दिलिप आचार्य पिएचडी स्कलर हुन्।

प्रतिक्रिया दिनुहोस