एउटै दृष्टि, भिन्न कोण

भारतमा भयावह बन्दै , २४ घण्टाभित्रै १ हजार बढी नयाँ संक्रमित

२०७७ बैशाख ५ गते शुक्रवार

पछिल्लो दिन भारतमा कोरोना भाइरसको संक्रमण तिव्ररुपमा बढिरहेको छ । यो गएको २४ घन्टामात्र भारतमा १ हजार ७ जना कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन् । शुक्रबार बिहानको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितहरुको संख्या १३ हजार ३८७ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा देखिएका संक्रमितहरुमध्ये १ हजार ७४९ जना भने उपचारपछि निको भएका छन् । मन्त्रालयका अनुसार हाल भारतका ११ हजार २०१ कोरोनाका संक्रमित विरामी अस्पतालमा उपचाररत रहेका छन् । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या २३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४३७ पुगेको छ । पछिल्ला केही दिनमा कोविड १९ का संक्रमितहरुको संख्या बढ्दै गएको सरकारको भनाइ छ ।

भारतमा शुरुदेखि सबैभन्दा बढी संक्रमित महाराष्ट्र राज्यमा देखिएका छन् । शुक्रबार पनि यो क्रम जारी रहेको सो मन्त्रालयले जानकारी दिएको छ । महाराष्ट्रमा कोविड १९ का संक्रमितहरु दिन प्रतिदिन बढ्दै गएका छन् । महाराष्ट्र राज्यमा मात्र संक्रमितहरुको संख्या ३ हजार २०५ जना पुगेको मन्त्रालय जानकारी दिएको छ ।

यस्तै, महाराष्ट्रमा ३०० जना उपचारपछि निको भएर घर फर्किएका बताइएको छ । महाराष्ट्र हालसम्म कोरोना भाइरस संक्रमणबाट १९४ जनाको मृत्यु भईसकेको प्राप्त समाचारमा जनाइएको छ । यसरी भारतका अरु राज्यहरुको तुलनामा महाराष्ट्र सबैभन्दा बढी प्रभावित भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । महाराष्ट्रपछि कोरोना संक्रमणको दोस्रो स्थानमा दिल्ली रहेको छ । यहाँ मात्र १ हजार ६४० जना कोरोना भाइरस संक्रमित रहेका छन् ।

दिल्लीमा कोरोना भाइरस संक्रमणबाट ३८ जनाको मृत्यु भइसकेको जनाइएको छ । यसैबीच ५१ जना भने उपचारपछि घर फर्किएका छन् । यस्तै, प्रकोपबाट भारतीय राज्य तमिलनाडु पनि निकै प्रभावित छ । तमिलनाडुमा कोरोना संक्रमण भएका व्यक्तिको संख्या १ हजार २६७ जना पुगेको शुक्रबार बिहान प्राप्त समाचार जनाइएको छ । यहाँ संक्रमितमध्ये १८० जना भने उपचारपछि घर फर्किएका छन् । तमिलनाडूमा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भइसकेको छ ।

कोराना प्रकोपको संक्रमणको चौथो स्थानमा राजस्थान रहेको र यहाँ १ हजार १३१ कोरोना संक्रमित रहेका शुक्रबार जनाइएको छ । ती मध्ये १६४ जना उपचारपछि घर फर्किसकेका छन्, भने तीन जनाको मृत्यु भएको छ ।

त्यसैगरी भारतको मध्यप्रदेश कोरोना भाइरसका संक्रमणको पाँचौ स्थानमा रहेको यहाँ १ हजार १२० जना सक्रमित रहेका छन् । मध्यप्रदेशमा यस संक्रमितमध्ये ६४ जना निको भएर घर फर्किएका छन् । यहाँ मात्र ५३ जनाको मृत्यु भएको छ ।

यस्तै, उत्तर प्रदेशमा ८०५ जना संक्रमित भएका छन् भने, केरलामा ३९५ यो संक्रमण देखिएको छ । तेलङ्गना, गुजरात र छत्तीसगलगायतका राज्यहरुमा कोरोनाका संक्रमितहरु भेटिएका छन् । गएको २४ घन्टायता भारतमा पहिलेको तुलनामा धेरै संक्रमित भेटिएका जनाइएको छ ।
भारतमा कोरोना भाइरसको संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न लकडाउन आगामी मे महिनाको ३ तारिखसम्म लम्ब्याएको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस