एउटै दृष्टि, भिन्न कोण

थाइल्यान्डमा पर्यटन व्यवसायमा पहाड़की छोरी

काठमाडौ २०७७ जेष्ठ १४ गते बुधवार

गोर्खा जातिको चिनारी स्थापित गर्ने दिशामा शनैः शनैः हाम्रा चेलीबेटीहरू ऐलेको कालमा जुन प्रकारले प्रगतिको भऱ्याङ उक्लिरहेको देखिन थालेको छ त्यसको आधारमा उनीहरूको भविष्य त उज्ज्वल अवलोकित भइरहेको त बुझिन्छ नै यसका साथै समाजमा दोस्रो पाँग्रो भनेर वञ्चनाका सिकार बनिरहेको यो लिङ्गभेदको पनि अन्त्य भएर जाने परिलक्षित हुनथालेको छ। अब कुनै यस्तो विधा वा फाँट बाँकी रहेन जहाँ हाम्रा नारीहरूको उपस्थिति देखिन्न। वर्तमान हाम्रा चेलीबेटीहरूले स्थानीय, राष्ट्रिय अनि अन्तर्राष्ट्रिय फाँटमा हरेक विधामा प्रदर्शनी गरिरहेका उत्कृष्ट प्रगति, प्रतिभा अनि कौशलका नमुनाहरूको समाचार दिनैपिच्छे सुन्न पाइन्छ, देख्न पाइन्छ, हेर्न पाइन्छ, पढ़्न पाइन्छ आजभोलि।
कुनै समयकाल थियो चेलीबेटीहरूलाई घरको सँघार नाघेर निस्कन मनाही थियो। आज परिस्थिति धेरै नै परिवर्तित छ। घरको चारभित्तादेखि बाहिर निस्कन नसक्ने समाजको आधा पाटो अथवा नारी जाति अब दुनियाँको कुनै यस्तो प्रान्त छैन जहाँ नपुगेको होस् अनि यस परिवर्तनका संवाहक बनेर हाम्रा चेलीहरू पनि समयसँगसँगै दौड़ेको देख्न पाउँदा अनि उनीहरूले सफलताको झन्डा गाढ़ेका सुसमाचारहरू सुन्न पाउँदा कुन जातिप्रेमीको हृदय आह्वादित नहोला।

आज हाम्रा चेलीहरू सम्पूर्ण जातिकै चिनारी अलग किसिमले स्थापित गर्न सक्षम बनिरहेका छन्। कुनै समय थियो हाम्रा चेलीबेटीलाई हेर्ने आँखाको चस्माले हामी सबैलाई अर्कै दृष्टिकोणमा तौलन्थ्यो। हुनत कतिपय अबुझहरूले यो काम ऐले पनि दोहोऱ्याइरहेका छन् यो विषय अलग हो तथापि हालमा हाम्रा चेलीहरूले आज देश अनि विदेश स्तरमा गरिरहेको प्रतिभा प्रदर्शनी अनि ओगटिरहेका महत्त्वपूर्ण ओहोदालाई देखेर हामीलाई हेर्ने ती चस्माको पावरमा धेरै परिवर्तन आउन थालेको शुभलक्षण देखिन लागेको छ। यसको श्रेय जाँदछ हाम्रा ती तमाम चेलीबेटीहरूलाई जो अब पुरुष र स्त्रीमाझको सामाजिक भेदभावको बन्धनलाई तोड़ेर आफ्नै पौरख र पाखुरीको बलमा उभिन थालेका छन्।
आज हाम्रो समाजमा धेरैवटा घरपरिवारहरू यस्ता छन् जो पूर्ण रुपले छोरीचेलीहरूको टेवामा अड़ेको छ। परिवारको मूल खाँबा भएर छोरीहरू नै उभिएका छन्। भन्न उसो होइन कतिपय नारीहरू सरकारी, गैर-सरकारी, निजी बेपार धन्दा गरेर आफुले कमाएर घरसंसार धानिरहेका छन् भने परिवारका हट्टाकट्टा अन्य सदस्यहरू भने उनीहरूमाथि आश्रित छन्। यति मात्रै होइन दुधमुखे बालखा नानीलाई छोड़ेर विदेश पुगी आर्जन गरेको आफ्नो पसिनाको कमाइ घर पठाउने आमाहरूको सङ्ख्या पनि समाजमा कम छैन।

यसरी आफ्नो पारिवारिक अनि सामाजिक घेराबन्दीलाई तोड़ेरो रोजीरोटीकै लागि भए पनि सङ्घर्षको पल्लो उचाइँमा पुगेर भारतदेखिबाहिर थाइल्यान्डजस्तो अनेपाली मुलुकमा एक्लै बेपार स्थापित गर्न सक्षम बन्नु कति ठुलो चुनौतीको कुरा हो। तर हाम्री चेली सबिना राई भन्छिन्, मान्छेले चाह्यो भने सबै काम हुन्छ। तर उसमा आँट र साहस हुनुपर्छ अनि इमानदारीदेखि उ डग्मगाउनु हुँदैन। पर्यटन उद्योगमा आफ्नो अलग पहिचानको झन्डा गाढ़्न सक्षम बनिरहेकी हाम्री सबिनालाई सबैले सहयोग गरौँ। मौका मिल्यो भने घुम्न जाऊँ त्यहीँ चार घन्टाको उड़ान त हो त्यो थाइल्यान्ड अनि भेटेर आऊँ उनलाई। हौसला दिऊँ सबिनालाई जसले आफ्नो मात्रै होइन सम्पूर्ण जातिका महिलाहरूको नाउँ उच्च राखिदिएकी छिन् यसरी पर्यटनजस्तो व्यवसायमा पाइलो टेकेर।

15 सेप्टेम्बर, 1986 -मा जन्म लिएकी सबिनाको स्थायी ठेगाना हो रेलवे कोलोनी, बाघडुग्रा, दार्जीलिङ जिल्ला। हालमा तर उनको व्यावसायिक ठेगाना छ पट्टाया टाई, थाइल्यान्ड। दार्जीलिङको सन्त माइकल अनि खरसाङको हिमाली बोर्डिङ स्कुलबाट आफ्नो शिक्षार्जन सुरू गर्ने सबिनाले उत्तर बङ्गाल विश्वविद्यालयबाट टुरिज्ममा स्नातकको डिग्री प्राप्त गरेपछि थोमस कुक, कलकत्ताबाट टुरिज्म स्टडिजमा स्नातकोत्तर स्तरको डिग्री पनि लिएकी हुन्। यसरी नै उनले कलकत्ताको टीआईएम (टिम) -बाट इन्टरनेसनल ट्राभल एन्ड टुरिज्म मेनेजमेन्टमाथि एडभांस डिप्लोमा कोर्स पनि पुरा गरेपछि पर्यटनलाई नै आफ्नो व्यवसाय बनाउने ठानेकी हुन्। स्कुल-कलेजमा हुँदा महिला ब्याडमिन्टन च्याम्पियनसिपमा भाग लिने गरेकी सबिनालाई पढ़्न, घुम्न अनि फूल स्याहार्न खुब रहर लाग्छ।

हालमा आफ्नो पूर्णकालिक व्यवसायको रुपमा पर्यटन बेपारलाई अँगालेर आइरहेकी सबिना गत 2018 -देखि थाइल्यान्डमा अनुप ग्रुप एन्ड कम्पनी लिमिटेडमा निर्देशकको पदमा कार्यरत रहेर दत्तचित्तले कार्यरत छिन्। घरेलु महिलाको रुपमा सेवारत माता तुलसी राई अनि भारतीय सेनाका पूर्व सुबेदार मेजर पिता स्व. केबी राईकी सुपुत्री सबिनाको परिवारमा आमासित दाजु-भाउज्यू र सानो नानी मात्र रहेको बताउँछिन्। आफुले यसरी साहसिक अनि जोखिमपूर्ण व्यवसाय पर्यटनतिर अग्रसर हुने प्रेरणा र प्रोत्साहन कतैबाट पनि नपाएको बताउने सबिना सानैदेखि आँटिली स्वभावकी थिइन्। यसैले उनले पर्यटनजस्तो विशिष्ट साहसिक अनि अलग व्यवसायलाई आफ्नो जीविकाको साधन बनाउने अठोट गरिन् र घरबाट बाहिर निस्किन् कलिलो उमेरमै। यसरी उनी पुगिन् 2018 -मा एसियाको सबैभन्दा आकर्षक पर्यटकीय देश थाइल्यान्ड अनि सुरू गरिन् भाग्य परीक्षा यस व्यवसायमा। उनका शुभचिन्तकहरूको माया र आशीर्बादले गर्दा आज सबिनाको व्यवसाय धेरै राम्रो गतिमा अघि बढ़िरहेको छ अनि थाइल्यान्डमा त्यहाँको स्थानीय भाषा पनि बिस्तारै बुझ्न थालिसकेकी गोर्खे चेलीले अब बोल्न पनि थालेकी छिन्। हालको कम्पनी सुरू गर्नअघि उनले थाइल्यान्डका अन्य स्थानहरू फुकेत, ब्याङ्कक, क्राबी, फीफी आइल्यान्डतिर पनि पर्यटनको काम गरिन् अनि धेरै अनुभव बटुलिन्।

यसरी पर्यटनजस्तो जोखिमपूर्ण र साहसिक व्यवसायलाई जीविकाको साधन बनाएर कसरी आफ्नो देशदेखि बाहिर आएर काम गर्ने आँट आएको भन्ने प्रश्न गर्दा उनलाई कुनै प्रकारको डर नलाग्ने अनि आफुमाथि कसैले दुर्व्यवहार गरेको खण्डमा त्यसको जवाब दिनसक्ने क्षमता आफुसित रहेको आत्मविश्वासले भरिएको कुरा उनी गर्छिन्। आफ्नो पर्यटन व्यवसायमा इमानदारपूर्ण व्यवसायलाई मात्रै महत्त्व दिइने जनाउँदै सबिनाले पर्यटन वा देश-विदेशको भ्रमणको कारण मानिसहरूमा नयाँ जोश र उमङ्ग आउने हुनाले अहिले यो व्यवसाय धेरै नै मौलाएर गइरहेको बताइन्। उनले दार्जीलिङ, सिक्किम अनि अन्य इलाकाका हाम्रा मानिसहरूलाई पनि थाइल्यान्ड आउने अनि यहाँको प्राकृतिक सौन्दर्यको रसपान गर्ने आह्वान् गरेर नयाँनयाँ अनुभवहरू बटुल्ने आह्वान् गरेकी छिन्। आफ्नो कम्पनीद्वारा सालको सबै मौसममा पर्यटनको सुबिधाको प्रबन्ध मिलाइने गरिएको जनाउँदै उनले विभिन्न प्रकारका प्याकेजहरू जस्तै एफआईटी, जीआईसी, एमआईसीई आदि सबै नै अन्तर्भुक्त गरेर पर्यटकहरूलाई पूर्ण सन्तुष्टिसित यात्रा गराइने बताइन्। आफुसित यसरी यस व्यवसायमा स्थानीय थाई नागरिक मित्रहरू पनि रहेको कारण उनलाई धेरै सहयोग र मद्दत रहिरहेको सबिनाले जनाउँदै आफुमा इमानदारीको भावना रहेको छ भने सहयोगका हातहरूको कमी नहुने उनले दाबी गरिन्।

आज भारतका गोर्खा नारीहरूले हरेक क्षेत्रमा आफ्नो व्यक्तिगत सफलताको झन्डा गाढ़्दै जातिको नाम उच्च राख्न सकिरहेकोमा गर्वानुभव हुनथालेको बताउने सबिनाले विशेष गरी महिला युवाहरूप्रति आफुलाई कहिल्यै पनि अरूभन्दा निम्न स्तरको नसोच्ने अनि हीनभावना लिएर नजिउने सल्लाह दिएकी छिन्। आफु भलो त जगत भलो भन्ने दृष्टान्तलाई पालन गर्दै इमानदारीसित मिहिनेत गरेर हरेक प्रकारका सङ्घर्षहरू विरुद्ध डटेर सामना गरेको खण्डमा यो दुनियाँमा नहुने काम केही छैन भन्ने सन्देश उनले सबैलाई दिएकी छिन्।

– By हीरा छेत्री 

प्रतिक्रिया दिनुहोस