एउटै दृष्टि, भिन्न कोण

स्याउ खेति बाट बार्षिक १० लाख बढी आम्दानी गर्ने भीमबहादुर

२०७७ भाद्र २३ गते मङ्गलवार

रोल्पाको गंगादेव गाउँपालिका-३ का जयभाव वली काम गर्न भारत जान्थे। उनले काम गर्ने ठाउँमा लटरम्म स्याउ फलेका हुन्थे। स्याउका रहरलाग्दा दाना आफ्नो घर वरिपरि पनि फल्ने भए त केटाकेटीले खान पाउँथे भन्ने सोचेर उनले फर्किँदा बिरुवा लिएर आए। यो ४५ वर्ष अघिको कुरा हो।

समुद्री सतहबाट दुई हजारदेखि तीन हजार मिटर उचाइको जमिन स्याउ खेतीका लागि राम्रो मानिन्छ। उनको गाउँ समुन्द्री सतह देखि दुई हजार तीनसय ७४ मिटरको उचाइमा छ।

जयभावले ल्याएको स्याउ रोल्पामा राम्रैसँगै फल्यो। त्यसपछि अरू गाउँलेले पनि आफ्नो बारीमा स्याउका बिरुवा रोप्न थाले।

जयभावका छोरा भीमबहादुरले स्याउ बिक्री पनि हुने रहेछ भन्ने थाहा पाए। त्यही थाहाले उनलाई आफ्नो बारीमा लटरम्म फल्ने स्याउ बेचेर पैसा कमाउने सपना देखायो।

भीमबहादुरले स्याउ खेती थालेपछि सिंगो गाउँले सिको गर्‍यो। अहिले गंगादेव ३ नम्बर वडा स्याउ खेतीका लागि चर्चित छ। गंगादेवको ६, ७ र ८ नम्बर वडामा पनि स्याउ खेती हुँदै आएको छ। पछिल्लो समय गंगादेवको पाखापानी, राँक, कुरेली, मिरूललगायत स्थानमा पनि स्थानीयले स्याउ खेती गर्न थालेका छन्। थवाङ गाउँपालिकामा पनि स्याउ खेती राम्रो हुन्छ।

भीमबहादुरलगायतका गाउँलेलाई स्याउ खेती गर्न हौस्याएको भने झन्डै ४० वर्षअघि एउटा परियोजनामा आएका कर्मचारीले हो।

२०४२ सालमा एउटा परियोजनाका संयोजक बनेर उनीहरूको गाउँ (तत्कालीन जिनावाङ गाविस) आएका टीकाकुमार प्रधानले स्थानीयलाई स्याउ खेती गर्न हौस्याएका थिए। उनी र कर्मचारी ओपेन्द्रकुमार कर्णको पहलमा भारतको मुसाभराबाट कृष्णकुमार जिन्दालले नयाँ जातका स्याउका बिरुवा रोल्पा पुर्‍याइदिए। त्यसपछि जीविका चल्ने गरी स्थानीयले स्याउ खेती थालेको भीमबहादुर बताउँछन्।

२०४५ सालमा व्यवसायिक खेती थालेका भीमबहादुरले फर्म दर्ता गरेको भने २०७२ सालमा हो। घरेलु तथा साना उद्योग कार्यालयमा उनले ‘लभि पर्यटन स्थल व्यवसायिक स्याउ खेती फर्म’ दर्ता गरेका छन्।

 

भीमबहादुर अहिले स्याउ खेतीबाट लाखौं कमाउँछन्। उनले गत वर्ष झन्डै १६ लाखको स्याउ बेचे। त्यसमा तीन लाख जति खर्च आयो। अरू जम्मै नाफा।

‘बिरुवालाई आवश्यक मल र कामदाररको खर्च तीन लाखजति आयो,’ खत्रीले भने ‘त्यसबाहेक बाँकी जम्मै फाइदा हो।’

यसपालि उनको बगैंचामा धेरै स्याउ ठरेन (फल लागेन)। २५ प्रतिशत मात्रै स्याउ फल्यो। नफलेकै होइन तर मौसमले साथ दिएन।

‘पटक/पटक असिना आयो र चैत महिनादेखि नै पानी पर्न सुरू गरेपछि स्याउ बर्बाद भयो,’ उनले भने।

असिनाले लागेका दाना झारिदियो, कति कुहिएर खेर गयो। खत्रीको बुझाइमा जलवायु परिवर्तनको प्रभावले पटक/पटक असिना पानी परेको हुँदा यसपालि स्याउ खेती बिग्रिएको हो।

स्याउ खेतीका लागि हिउँ पर्नु राम्रो हो धेरै पानी पर्दा वा तुसारो पर्दा स्याउ बिग्रिन्छ। मौसमका कारण फल कम फलेको मात्रै हैन यो वर्ष स्याउको दाना गोलभेंडाको आकारजस्तो सानो छ। उनी चिन्तित छन्।

‘फूल फूल्ने समयमा वातावरण बिग्रियो, घाम लागेन र असिना पानी पटक/पटक आएकोले स्याउको उत्पादन घट्यो,’ खत्रीले भने।

आफ्नो बगैंचामा यो वर्ष लगभग ६ टनको हाराहारीमा स्याउ फलेको खत्रीले अनुमान गरेका छन्।

पोहर तौलेर १६ लाख जतिको स्याउ बेचेका खत्रीले त्यही भएर यसपालि अन्दाजको भरमा बोटमै स्याउ बेचिदिए।

 

‘यसपालि ठेकदारलाई जम्मा पाँच लाखमा बेचिसकेको छु,’ खत्रीले भने ‘साउन २० गतेदेखि स्याउ टिप्न आउने ठेकेदारले खबर गरेका छन्।’

सल्यानका इन्द्रबहादुर बस्नेतले उनको स्याउ बोटमै किनेका हुन।

भारत र चीनबाट स्याउ नेपाली बजारमा आउँछ। त्यसले गर्दा पछि आफ्नो स्याउ बिक्दैन भन्ने डरले आफूहरूले काँचैमा बेच्न तथा टिप्न बाध्य भएको उनले बताए। यसको असर गुणस्तरमा पर्छ।

‘रोल्पाको स्याउको गुणस्तर इन्डियन स्याउको गुणस्तरभन्दा कत्ति पनि कम छैन,’ खत्रीले भने ‘ठकेदारले आफ्नो फाइदाका लागि बोटमा नपाक्दै अत्याएर टिप्न लगाउँछन् र स्याउ त्यति मीठो हुँदैन।’

भदौ महिनाभरमा स्याउ टिप्न उचित मानिने भए पनि पहिले नै इन्डियन र स्थानीय ठेकेदारले दबाबमा राखेर स्थानीय किसानलाई स्याउ टिप्न लगाउँछन्। त्यसैले मिठो स्याउ उपभोक्ताकहाँ नपुग्ने उनको भनाइ छ।

उनलाई स्याउ नफलेकोमा मात्र होइन बजार व्यवस्थालाई लिएर पनि चिन्ता लागेको छ। सरकारी नीतिमा पनि उनलाई चित्त बुझेको छैन।

रोल्पाली स्याउ सल्यानी भनेर बजारमा पुग्ने गरेकोमा उनी असन्तुष्ट छन्। तर बेच्नेले कसरी बेच्छन् उनको हातमा हुने कुरा भएन।

बाटोघाटो नहुनु र रोल्पामा फलेको स्याउलाई सल्यानको भनी प्रचार हुनुले पनि रोल्पाको स्याउले चर्चा पाउन नसकेको उनले बताए।

‘सल्यानमा स्याउ नै फल्दैन। रोल्पामा फलेको स्याउ उतैबाट दाङलगायत जिल्लामा पुग्दा सल्यानी स्याउ भन्ने गरिन्छ,’ खत्रीले भने ‘उचित प्रचार प्रसारको अभावमा रोल्पाको स्याउले चर्चा कमाउन नसकेको हो।’

उनी किसानको उद्धारका लागि सरकारले बजारको उचित व्यवस्थापन गर्नुपर्ने जरूरी ठान्छन्। बाटो ग्राभेल बनाइदिए पनि किसानले आफैं बजारसम्म उत्पादन पुर्‍याउन सक्थे। त्यसो नभए पनि ठूला-ठूला सहकारीमार्फत किसानको उत्पादन खरिद-बिक्री गर्न सके किसानलाई लाभ हुने उनी बताउँछन्।

कर तिरेअनुसार सुविधा तथा राहत राज्यले दिन नसक्दा किसान मर्कामा परेको उनले बताए।

‘बजेटमा धेरै कुरा आउँछ तर गाउँमा खेती गर्ने किसानसम्म त्यो बजेट आइपुग्दैन,’ खत्रीले भने ‘ कुन ठाउँमा कुन खेती उपयुक्त छ भन्ने जानकारीका लागि सरकारले नै प्राविधिक पठाएर त्यही अनुरूप खेती गर्न लाउनु पर्छ।’

किलोको ६० देखि ७० मा बिक्री

स्थानीय र आसपासका जिल्लाका ठेकेदारले स्याउ खरिद गरेर सहर बजारका ठेकेदारलाई बेच्छन्।

‘स्याउ हेरेर किलोको ६० देखि बढीमा ७० रुपैयाँमा बेच्छौँ,’ खत्रीले भने ‘बारीमै फुटकर किन्न आउनेलाई त्योभन्दा केही सस्तो दिन्छौं।’

जिल्लाकै स्थानीय तथा छिमेकी जिल्लाहरूबाट फुटकरमा स्याउ किन्न आउनेहरूले त्यो भन्दा पनि सस्तोमा पाउँछन्।

त्यही स्याउ दाङमा आइपुग्दा किलोलाई एक सय ५० रुपैयाँसम्म पर्छ।

बाहिरी जिल्ला जाँदा त्योभन्दा पनि महंगो हुन्छ।

बजार मजबुत र राम्रो नभएको हुँदा आफूहरू बिचौलियालाई सस्तोमा स्याउ बेच्न बाध्य भएको उनले बताए।

‘यहाँ बिचौलियाको मात्रै बजार छ, वास्तविक किसानको बजार छैन,’ खत्रीले भने ‘उत्पादन गर्ने किसानले भन्दा बढी नाफा उनीहरूले खाइरहेका छन्।’

स्याउ खेती सुरू गर्दा उनीहरूको उद्देश्य नेपालीलाई सस्तो स्याउ खुवाउने भन्ने थियो। बिचौलियाका कारण उपभोक्ता र किसान दुबै मर्कामा रहेको उनले बताए।

करिब ५५ रोपनी क्षेत्रफलमा खत्रीको स्याउको बगैंचा छ। त्यो उनको आफ्नै जग्गा हो। एक हजार सात सय जति स्याउका बोट छन्। आगामी वर्ष त्यो विस्तार गरेर दुई हजार तीन सयसम्म बोट रोप्ने उनको लक्ष्य छ।

३२ वर्षदेखि रोयल डेलिसियस, रोयल गोल्डेन डेलिसियस जातको स्याउको खेती गर्दै आएका खत्रीले पछिल्लो समय फुजी र गेलगाला जातको स्याउका बिरुवा पनि रोपेका छन्। स्मार्ट कृषि गाउँ कार्यक्रमले मुस्ताङबाट ल्याएका केही बिरुवालाई कलमी बनाई उनले घरमै तीन सय बिरुवा तयार पारी त्यो स्याउ रोपेका हुन ।

रोयल जातका स्याउहरू अलि ढिला (भदौमा) पाक्ने हुँदा बजारलाई मध्यनजर गर्दै त्यो भन्दा छिटो (एक महिना अगाडि) तयार हुने फुजी जातको स्याउहरू रोपेको खत्रीले बताए।

स्याउको बोट लगाएको ४/५ वर्षपछि फल दिन सुरू गर्छन् र ४०/५० वर्षसम्म पनि फल दिइरहन्छन्। भीमबहादुरका बुवाले रोपेका स्याउ अहिलेसम्म पनि फलिरहेका छन्।

खत्रीले कलमी गरि स्याउका बिरुवा पनि विक्रि वितरण गर्दै आएका छन्। खत्रीको अहिले लगभग २० हजारको हाराहारीमा नर्सरी छ। खत्रीले बिरुवा मात्रै करिब एक लाखको बिक्रि गरे। लकडाउनका कारण यसपालि गतसाल भन्दा थोरै विरुवा मात्रै विक्रि भए । उनले एउटा ग्राफ्टिङ (कलमी) गरेको बिरुवालाई एक सय रूपैयाँमा र वेर्नाबाट उमारेकोलाई २५ रुपैंयादेखि माथि हेरेर बिक्रि गर्ने गरेको जानकारी दिए।

खत्रीले उत्पादन गरेका विरुवा खोज्न मानिसहरु पहिला कालिकोट, हुम्ला, जुम्ला र डोल्पाबाट समेत आउने गर्दथे।

पछिल्लो समय त्यहाँका किसाले समेत आफै ग्राफ्टिङ गरि विरुवा उत्पादन गर्न सिकेको हुँदा आउन छोडेको खत्रीले बताए । बाहिरी जिल्लावाट नआएपनि पछिल्लो समय रोल्पा, रूकुम लगायतका जिल्लाहरूमा स्याउका बिरुवा बिक्रि हुन थालेको उनले बताए।

प्रतिक्रिया दिनुहोस