मृत्युको कुरा गर्दा
तिमी सधैं भन्ने गर्छौ
पहाड जस्तो
गह्रुङ्गो मृत्यु होस्
आकाश जस्तो
फराकिलो मृत्यु होस्
जब म ढल्छु
धरतिमा कम्पन होस्
जब म जल्छु
प्रकृतिमा जलन होस् ,
मेरो प्रश्न छ, किन ?
तिमी सधैं भन्ने गर्छौ
मलामीको लस्कर होस्
सलामीको दस्तुर होस्
सबैको हातमा
फूलको थुङ्गा होस्
लाशमाथि देशको
एउटा झण्डा होस् ,
मेरो प्रश्न छ, किन ?
तिमी सधैं भन्ने गर्छौ
मृत्यु प्वाँख
जस्तो हलुङ्गो नहोस्
चुँडेको चङ्गा
जस्तो बेवारिसे पनि नहोस् ।
जवाफमा
म सधै भन्ने गर्छु
तर मेरो मृत्यु
तिमीले भने जस्तो
गह्रुङ्गो पनि नहोस्
तिमीले भने जस्तो
विशाल पनि नहोस्
तिम्रो प्रश्न छ, किन ?
बरु …..
प्वाँख जस्तै हलुङ्गो होस्
पात जस्तै बिस्तारै झरोस्
कसैको मनमा
पीडावोध नहोस्
कसैको नयनमा
आँशुको थोपा नहोस्
बश ! छातिमा
एउटा फूल होस्
शिरमा एउटा दियो होस्
म लाश बनेर
नदी छेउ निदाएको बेला ! बश,
तिमीले मलाई सुनीरहेको होस् ।
भाद्र २५, २०७७
नेपाल ।